कम्युनिस्ट सरकारले सलहलाई सुनाउन अमेरिकन गीत खोज्दै, गीत सुनाएर कीरालाई कक्रक्कै पार्ने

काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले सलह धपाउन अमेरिकन गीतको खोजी गरिरहेको बताएका छन् ।

सिन्धुलीमाढीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले अमेरिकन गीत सुनाएपछि सलह जहाँको त्यही कक्रक्क पर्ने बताए ।

संगीतले सलहलाई लठ्याउने जानकारी पाएको उनले बताए । मन्त्री भुसालले त्यस्तो गीत तथा संगीत झिकाउन लागिपरेको बताएका छन् ।

‘सलह कीरा कक्रक्कै हुने’ अमेरिकी हेभी मेटल म्युजिक ब्याण्डको गीत संकलन भइरहेको उनले जानकारी दिए ।

मन्त्री भुसालले स्थानीय तहले सलह नियन्त्रण गर्न सक्ने अवस्था नभएर ठूलो क्षति हुन थाले केन्द्रले बजेट पठाउने बताए ।

‘अहिलेसम्म स्थानीय तहले नै नियन्त्रण गर्न सक्ने खालको छ’, उनले भने, ‘धेरै फैलिएर नियन्त्रणमा बजेट अपर्याप्त भयो भने पालिकालाई हामी बन्दोबस्त गर्नेछौं ।’

उनले सलह नियन्त्रणका लागि संगीत र गीत धेरै प्रभावकारी हुने बताएका छन् ।

‘मलाई अस्ट्रेलियामा बस्ने भाइले फोनमा सलह कीरा नियन्त्रणका लागि गीत र संगीत प्रभावकारी हुने भनेका छन्’, उनले भने, ‘त्यहीअनुसार गीत संकलन गर्न लागिएको छ ।’

भुसालले सलहले नियन्त्रणका विषयमा मन्त्रालय, प्रदेश र स्थानीय तहहरूले के–के गर्ने भनेर चाँडै निर्देशिका बनाइने बताए ।

Published : Tuesday, 2020 June 30, 10:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया