जथाभावी नबाेल्नुस्, प्रधानमन्त्री पदकाे गरिमा बचाउनुस् ओलीज्यूः कांग्रेस नेता गिरी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले प्रधानमन्त्रीको गरिमा कायम राख्न खड्गप्रसाद ओलीलाई चेतावनी दिएका छन् ।

रिपब्लिका दैनिकसँग सोमबार कुरा गर्दै कांग्रेस नेता गिरीले जुन दलबाट निर्वाचित भएपनि प्रधानमन्त्री देशको रहेको भन्दै पदीय हैसियतलाई ओलीले ध्यान दिनुपर्ने बताए ।

‘ओलीजी जुन दलबाट भए पनि प्रधानमन्त्री भनेको हामी सबैको हो’, उनले भने, ‘ओलीजीले कुटनैतिक मर्यादालाई ध्यानमा राखेर बोल्नुपर्छ । उहाँ देशको प्रधानमन्त्री हो ।’

ओलीको अभिव्यक्तिले देशको बेइज्जत भएको गिरीले बताएका छन् । उनले भने, ‘बोल्नै नहुने कुरालाई ओलीले सार्वजनिक ठाउँमा अभिव्यक्ति दिनु राम्रो होइन ।’

ओलीले आइतबार आयोजित एक कार्यक्रममा लिपुलेकसहितका सिमाना विवादका कारण भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन होटेलहरूमा षड्यन्त्र गरेको आरोप लगाएका थिए ।

कांग्रेस नेता गिरीले भारतले हटाउन षड्यन्त्र गरेको हो भने नेपालका लागि भारतीय राजदूतलाई बोलाएर स्पष्टीकरण लिनुपर्ने बताए ।

‘भारतले प्रधानमन्त्रीजीलाई हटाउन खोजेकै छ भने राजदूतलाई बोलाएर स्पष्टीकरण लिने अधिकार छ’, उनले भने, ‘होइन कुटनैतिक मर्यादा विपरितका कुनै पनि कार्य गर्नु हुँदैन । ओलीजीको अभिव्यक्तिले भारतसँगको सम्बन्धमा बिग्रिन सक्छ ।’

मुलुक कोरोनाविरुद्धको महामारीसँग एक भएर लड्नुपर्ने बेला प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिले मुलुकमा अस्थिरता निम्त्याउन सक्ने गिरीले बताए ।

प्रधानमन्त्रीलाई हटाउन सक्ने भनेको आफ्नै दल नेकपा मात्रै रहेको गिरीले उल्लेख गरे । उनले भने, ‘संविधानले ओलीलाई हटाउन सकिदैन । उहाँलाई हटाउने भनेको नेकपाले मात्रै हो । ओलीजी डराउनु पर्दैन ।’ विदेशी चलखेल कांग्रेसलाई सैह्य नहुने भन्दै उनले ओलीले कांग्रेसकाे सहयाेग चाहेमा सहयाेग गर्न तयार रहेकाे बताए ।

Published : Monday, 2020 June 29, 11:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया