निर्मला काण्डले बदनाम भएको प्रहरीलाई हेटौँडामा सफलता

हेटौँडा । कञ्चनपुरकी किशोरी निर्मला पन्तका दोषीलाई पक्राउ गर्न नसकेको भनेर आलोचना खेप्दै आएको प्रहरीले हेटौंडामा भएको हत्याकाण्डका आरोपितहरूलाई सार्वजनिक गरेको छ ।

हेटौंडा उपमहानगरपालिका–४ कर्रास्थित सूर्य चोक बस्ने २४ वर्षीया सुस्मिता क्षेत्री थापाको लौरो र लोहोरोले प्रहार गरी हत्या गरेको भएको थियो । सुस्मिताको हत्याको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा मृतक सुस्मिताकी ससुरा प्रकाश थापा, नन्द सीता थापा, सासु तुलसा थापा र जेठी नन्द दुर्गा थापा कार्की रहेका छन् ।

सुस्मिता आफ्नै घरको भान्सा कोठाभित्र असार २ गते बिहान मृत अवस्थामा फेला परेकी थिइन् ।

घटनाको अनुसन्धान गर्ने क्रममा ससुरा प्रकाश थापा र नन्द सीता थापाले पटक–पटक काठको लौरो र ढुङ्गाको लोहोरोले निर्ममतापूर्वक सुस्मितामाथि प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

बाबुछोरीले घटनास्थललाई आत्महत्या जस्तो देखाउनको लागि भान्छा कोठाभित्र बिग्रिएका सबै चिजबस्तु यथास्थानमा मिलाएर राखेका थिए ।

सासू तुलसा थापाले फुटेका सिसाका टुक्राहरू प्लाष्टिकका झोलामा हाली बरन्डामा राखेको तथा असार २ गते बिहान प्रकाश थापाले छिमेकमा गई बुहारीले भान्छा कोठामा आत्महत्या गरेको भनी जानकारी गराएको अनुसन्धानबाट खुल्न आएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कपिलवस्तुस्थित ससुरालीबाट मोटरसाइकलमा फर्कने क्रममा नवलपरासीको दाउन्नेमा सुस्मिताका श्रीमान् रूपेन्द्र थापाको ०७६ असोज २३ गते सवारी दुर्घटनामा परी मृत्यु भएको थियो ।

रुपेन्द्रको मृत्युको दोष सुस्मितालाई दिइ पारिवारका सदस्यहरूबाट पटक–पटक आक्षेप लगाई मानसिक तनाव दिने गरेका थिए ।

ससुरा प्रकाश थापाले सुस्मितालाई जबरजस्ती करणी उद्योग गरेको तथा रुपेन्द्र थापाको सवारी दुर्घटनामा मृत्यु भएपछि क्षतिपूर्ति बापत पाउने रकम, निजको कार्यालयबाट भुक्तानी लिने रकम, सामाजिक सुरक्षा कोषबाट पाउने रकम र बीमा रकम समेतका सबै रकम ससुरालाई दिनुपर्छ भनी परिवारबीच आपसी–विवादको कारण सुस्मितालाई दवाव दिने गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Published : Monday, 2020 June 29, 9:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया