कांग्रेस नेता खतिवडाद्वारा क्वारेन्टिनको खर्चिलो र झञ्झटिलो नाटक रोक्न माग

काठमाडौं । कम्युनिस्ट सरकारले विदेशबाट आउने नेपाली नागरिकहरूलाई दोहोरो खर्च हुने गरी क्वारेन्टाइनमा राख्नेदेखि विभिनन झञ्झटहरू दिएपछि नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले ती समस्याहरू समाधानको माग गरेका छन् ।

कांग्रेस नेता खतिवडाले बुधबार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति, सरोकारवाला निकाय र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँग परामर्श गरी विदेशबाट आउने नागरिकहरूलाई झञ्झटिलो प्रक्रियाबाट मुक्त गराउन माग गरेका हुन् । खतिवडाको मागप्रति सबैले सकारात्मक आश्वासन दिएका छन् ।

विदेशबाट आउने नागरिकलाई नेपाली सेनाको गाडीमा राखेर क्वारेन्टिनमा लैजाने तथा त्यहाँबाट पनि प्रदेश १ को धरानसम्म पुर्‍याएर पुनः आ–आफ्नो जिल्ला पठाउने लामो व्यवस्था भएपछि खतिवडाले त्यति लामो प्रक्रियालाई छोट्याउन माग गरेका हुन् ।

पीडितहरूले सरकारको लापरबाहीका कारण आफूहरूको दोहोरो खर्च भएको गुनासो गरेका थिए । उनीहरूले कम्तीमा पनि पचास हजारसम्म खर्च भएको गुनासो गरेपछि कांग्रेस नेता खतिवडाले झञ्झटिलो प्रक्रिया अन्त्यका लागि पहल गरेका हुन् ।

खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले विदेशबाट आउने नागरिकलाई आफैलाई खर्च गराएर क्वारेन्टिनमा राख्नेदेखि भाडाहरू समेत तिराउने गरेको छ ।

ओलीले विदेशमा रहेका नेपालीहरूको उद्धारमा उदासिनता देखाएको आरोप लाग्दै आएको छ । यस्तो अवस्थामा आफै आउने नागरिकहरूको स्वदेशमा समेत पैसा खर्च गर्नेदेखि अनेक खालका समस्या भएपछि खतिवडाले समाधानका लागि अपील गरेका छन् ।

Published : Wednesday, 2020 June 24, 10:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया