बिहे गरेर आउँदैमा विदेशी महिलाले नेपालको माया गछिन् भन्ने छैनः कांग्रेस नेतृ कोइराला

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ मृदुला कोइरालाले जन्मसिद्ध बाहेक अन्य विधिबाट नागरिकता सहज रुपमा दिन नहुने टिप्पणी गरेकी छिन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत कांग्रेस नेतृ कोइरालाले सहज रुपमा विदेशी महिलालाई नागरिकता दिन नहुने बताएकी हुन् । उनले विदेशी महिलालाई विवाह गरेर आउनेवित्तिकै अंगीकृत नागरिकता दिएर राजनीतिक अधिकार दिने कुराको विरोध गरेकी छिन् ।

कांग्रेस नेतृ कोइरालाले नेपाली महिलाले के कति अधिकार पाएका छन् वा छैनन् त्यस विषयमा बहस हुनुपर्ने बेला भारतीय वा विदेशी महिलाको अधिकारका विषयमा चर्काचर्की हुनु उचित नभएको बताइन् ।

‘जन्मसिद्ध बाहेक अन्य विधिबाट लिने नागरिकता बारे गम्भीर बहस हुनु जरुरी छ’, उनले भनेकी छिन्, ‘विवाह गरेर नयाँ ठाउँमा आउने बित्तिकै त्यो ठाउँमा तुरुन्तै माया बस्छ भन्ने ग्यारेन्टी हुँदैन ।’

‘कम्तीमा त्यो परिवेशसँग उसलाई लभ क्रियट गर्ने समय र भाषा सिक्ने समय दिँदा के आपत्ति ?’, उनको प्रश्न छ ।

‘शुरुमा अस्थायी आवासीय अनुमति पत्रको व्यवस्था मिलाएर अरू नागरिकले पाउने सुविधा सरह अधिकार दिँदा मानव अधिकारको हनन् हुन्छ र ?’, कांग्रेस नेतृ कोइरालाले प्रश्न गर्दै भनेकी छिन् ।

नेपाली कांग्रेसले भारतबाट विवाह गरेर आउने महिलालाई तत्कालै अंगीकृत नागरिकता दिनुपर्ने अडान राख्दै आएको छ ।

तर, कांग्रेस नेतृत्व वैवाहिक अंगीकृत नागरिकताको पक्षमा देखिएपछि पार्टीभित्र विरोधको स्वर भुसको आगो जस्तो गरेर फैलिएको छ ।

उपसाभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजाल, सांसद डा.अमरेशकुमार सिंहसहितका सीमित नेताहरू भारतीय महिलालाई अंगीकृत नागरिकता दिने पक्षमा आवाज उठाउँदै आएका छन् ।

Published : Tuesday, 2020 June 23, 12:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया