ओलीकी निजी चिकित्सक डा.शाहलाई रोक्न नेकपाकै अनेरास्ववियू आन्दोलित

काठमाडौं । कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीकी निजी चिकित्सक डा.दीव्यासिंह शाहलाई विधि र विधान मिचेर त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)को डिनमा नियुक्ति गरेपछि सत्तारुढ नेपका निकटका विद्यार्थी संगठन आन्दोलित बनेको छ ।

डा.शाहको नियुक्तिको विरोध गर्दै नेकपा निकटको विद्यार्थी संगठन अनेरास्ववियूले तालाबन्दी गरेको छ ।

डा.शाहलाई डिन बनाउने त्रिभुवन विश्वविद्यालयको निर्णय तत्काल सच्याउनुपर्ने माग गर्दै अनेरास्ववियूको महाराजगञ्ज चिकित्सा क्याम्पस कमिटीले आईओएममा तालाबन्दी गरेको छ ।

अनेरास्ववियूको क्याम्पस इकाई कमिटीका अध्यक्ष विनय पंगेनीले वरिष्ठता र कार्यकुशलताको मापदण्ड मिचेर राजनीतिक पहुँचको आधारमा डा. शाहलाई नियुक्ति गरिएको बताए ।

उनले नियम विधि मिचेर डा.शाहलाई नियुक्ति गरेको विरोधमा अनेरास्ववियूले तालाबन्दी गरेको बताए ।

आफूहरूको तालाबन्दी र आन्दोलनप्रति प्राध्यापक तथा कर्मचारीका संगठनहरूको समर्थन रहेको उनले बताएका छन् ।

प्रा.डा प्रेम ज्ञवाली नेतृत्वको सर्च कमिटीको सफारिसपछि बुधबार त्रिवि कार्यकारी परिषदले डा. शाहलाई आईओएमको डिनम नियुक्ति गरेको थियो ।

प्रधानमन्त्री ओलीको आडमा वरिष्ठताको क्रम मिचेर डिन नियुक्त गरिएको विद्यार्थी संगठनहरूले बताएका छन् ।

पंगेनीले डा.गोविन्द केसीको लगातारको अनशनपछि आईओएममा वरिष्ठताको आधारमा डिन छान्ने पद्धति बसेको बताए ।

उनले अहिले उक्त पद्धति मिचेर गरिएको निर्णय फिर्ता नहुँदासम्म तालाबन्दी जारी रहने बताएका छन् ।

Published : Thursday, 2020 June 18, 3:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया