रुकुम पश्चिमको जस्तो घटना हुन नदिन ओलीले जिम्मेवारी लिनुपर्छः नेविसंघ अध्यक्ष ढुंगाना

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष राजिव ढुंगानाले रुकुम पश्चिमको घटना मानवता विरोधी भएको टिप्पणी गरेका छन् ।

काठमाडौंको माइतीघर मण्डलामा बुधबार दलित युवा संयुक्त संघर्ष समितिले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष ढुंगानाले दलितमाथि भएको त्यस खालका घटना दोहोरिन नदिन खड्गप्रसाद ओली नेतृत्वको सरकारले जिम्मेवारी लिनुपर्ने बताए ।

उनले समाजमा मिलेर बसेका समुदायलाई बिथोल्नका लागि सोती घटना भएको त होइन भनेर आशंका जनाएका छन् ।

‘हामीले गम्भीर रुपमा सोँच्नुपर्ने अवस्था आएको छ । रुकुम पश्चिमको घटना सामाजिक सद्भाव बिथोल्ने घटना हो’, उनले भने, ‘राष्ट्रिय एकता बिथोल्ने घटना हो । यो घटनामा संलग्नहरूलाई हदैसम्मको कारबाही गर्नुपर्छ ।’

‘मृतक र घाइते न्याय पाउनुपर्छ । क्षतिपूर्ति पाउनुपर्छ । अबका दिनमा यस्ता खालका घटना फेरि कहिल्यै पनि नहोस्’, अध्यक्ष ढुंगानाले भने, ‘त्यसको प्रत्याभूति राज्यले गर्नुपर्छ । ओली सरकारलाई सडकबाट भन्न चाहन्छु ।’

‘रुकुम पश्चिमको सोतीमा जुन घटना भयो त्यो सामान्य हत्या थिएन । छ जना होनहार नेपाली युवाहरूको हत्या भयो’, ढुंगानाले भने, ‘मानव सभ्यतालाई नै कलंकित गर्ने त्यो घटनाको जति नै भर्त्सना गरेपनि काफी छैन ।’
https://www.facebook.com/republicadainik2/videos/1376426239411817/

‘रुकुम पश्चिमको सोती घटनाले सम्पूर्ण नेपालीहरूको शिर निहुरिएको छ’, उनले भने, ‘आज सम्पूर्ण नेपालहरू लज्जित हुनु परेको छ ।’

‘सु–संस्कृत नागरिक भनेका छौँ । तर एउटा नागरिक दोस्रो दर्जाको नागरिक हुनु परेको छ । एउटा दलितले प्रताडित भएर बाँच्नुपर्छ’, उनले भने, ‘दलित युवाले गैह्र दलित युवतीसँग प्रेम गरेकै आधारमा मृत्युवरण गर्नुपर्छ । धेरै होनहार युवाहरूको नरसंहार भएको छ ।’

‘यो घटना लज्जित बनाउने कुरा हो । नवाराज बिकको मात्रै प्रशंग होइन । हाम्रो नेपाली समाज कता तिर जाँदै छ भनेर गम्भीर प्रश्न उब्जाइदिएको छ’, उनले भने, ‘हामी एकातिर आधुनिकतातिर पाइला चाल्दै छौँ । आधुनिकताको नाममा नेपाली समाजलाई जंगली युगतिर त डोहोर्‍याइरहेका छैनौँ ?’

‘नेपाली समाज जाति, भाषा, धर्मका आधारमा बाँडिएका थिएनन्’, नेविसंघका अध्यक्ष ढुंगानाले भने, ‘कहिल्यै पनि सामाजिक सदभाव बिथोलिएको थिएन । कतै हाम्रो समाजलाई बिथोल्ने षड्यन्त्र त हुँदै छैन ?’

Published : Wednesday, 2020 June 17, 6:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया