कांग्रेसद्वारा बागमती प्रदेशको बजेटको विरोध

हेटौंडा । बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँले बजेट यथार्थपरक नभएको भन्दै आलोचना गरेका छन् ।

बागमती प्रदेश सभाको मंगलबार हेटौँडामा बसेको बैठकमा कांग्रेस नेता बानियाँले सरकारले मनगढन्ते बजेट ल्याएको बताए । उनले कार्यान्वयन गर्न सक्ने क्षमताअनुसार मात्र बजेट ल्याउनुपर्ने बताए ।

कोरोना भाइरसको जोखिमको अवस्थामा सरकारले यथार्थभन्दा माथिको बजेट ल्याउनु देखावटी मात्रै भएको बानियाँले बताए ।

कांग्रेसकी सांसद गीता वाग्लेले खर्च गर्ने क्षमता नहुँदा पनि सरकारले बजेट ठूलो ल्याएको टिप्पणी गरेकी छिन् ।

नेपाली कांग्रेसका संसदीय दलका उपनेता कृष्णलाल भँडेलले सरकारले बजेट रत्नपार्कको खुला चौरमा डुंगा चलाएको जस्तो भएको बताए ।

‘ठूलो बजेटले जनतालाई छारो हाल्ने मात्रै काम गर्छ बजेट घटाएर काम गर्न सक्नेमात्रै ल्याउनु अहिले आवश्यकता हो’, भँडेलले भनेका छन् ।

कांग्रेस सांसद नीमा लामाले सरकारले कोभिड–१९ संग जुध्ने कुनै पनि योजना नल्याउनु आश्चर्यजनक भएको बताए ।

कांग्रेसकी सांसद विजया श्रेष्ठ केसीले बजेटलाई सुन्दर नाराले भरिएको भाषणभन्दै सरकारको नियत र कार्यक्रमले जनता निराश भएको बताइन् ।

Published : Tuesday, 2020 June 16, 8:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया