युकेमा कोरोनाभाइरसबाट जीवन रक्षा गर्ने औषधि भेटियो

लण्डन । एउटा सस्तो र आम रूपमा पाइने डेक्सामेथासोन नामक औषधिले कोरोनाभाइरसका कारण गम्भीर बिरामी भएका व्यक्तिहरूको जीवन बचाउन मद्धत गर्ने यूकेका विज्ञहरूले बताएको बीबीसीले जनाएको छ ।

कम मात्रामा दिइने उक्त स्टेरोइड औषधिलाई हालसम्म घातक देखिएको कोरोनाभाइरसको लडाइँमा उल्लेख्य उपलब्धी मानिएको छ ।

यसले भेन्टीलेटरमा राखिएका बिरामीको मृत्यु हुने दर एक तिहाइले घटाउने र अक्सिजन दिइएका पाँचमध्ये एक बिरामी जोगाउने भनिएको छ ।

कोरोनाभाइरसको जारी उपचार विधिबारे विश्वभरि गरिएका ठूला परीक्षणहरूको यो औषधि पनि एउटा हिस्सा रहेको थियो ।

अनुसन्धानकर्ताहरूले सो औषधि सुरूदेखि युकेमा पाइएको भए ५ हजार जीवन जोगिने थियो भनी उल्लेख गरेका छन् ।

यो औषधिको मूल्य पनि सस्तो रहेको छ । यसले उच्च संख्यामा कोभिड–१९ का बिरामीहरू देखिएका गरिब देशहरूलाई ठूलो राहत दिनसक्ने ठानिएको छ ।

बीबीसीका स्वास्थ्य संवाददाता फर्गुस वाल्स भन्छन्, ‘मृत्युदर घटाउन सहयोगी हुने प्रमाणित औषधि नयाँ होइन र यो खासै महँगो छैन । पुरानो र सस्तो खालको स्टेरोइड हो ।’

यो औषधिको परीक्षणको परिणामलाई तत्कालै बाहिर ल्याइएको छ ।

डेक्सामेथासोनलाई सन् १९६० देखि नै दमदेखि रूमटोइड आर्थ्राइटिसको उपचारका लागि प्रयोग गर्ने गरिएको छ ।

कोभिड–१९ को संक्रमण देखापरेपछि भेन्टिलेटरमा राख्नुपरेका आधा बिरामीहरूको ज्यान गइरहेको वर्तमान सन्दर्भमा उक्त जोखिमलाई एक तिहाइले घटाउनुलाई ठूलो उपलब्धी मानिएको छ ।

सघन कक्षमा राखिएका व्यक्तिहरूलाई नसामार्फत उक्त औषधि दिने गरिन्छ भने कम गम्भीर बिरामीहरूलाई चक्कीका रूपमा दिने गरिन्छ ।

अहिलेसम्म यो बाहेक इबोला भाइरस नियन्त्रणका लागि बिरामीहरूलाई दिइएको रेम्डेसिभिर नामक औषधिले कोभिड–१९ का बिरामीहरूलाई फाइदा पुर्‍याउने देखिएको छ ।

कोभिड–१९ को लक्षण रहने अवधिलाई १५ दिनबाट घटाएर ११ मा झार्ने देखिन्छ । त्यसबाट मृत्युदर घटेको या नघटेको बलियो प्रमाण भने देखिएको थिएन ।

डेक्सामेथासोनको विपरीत रेम्डेसिभिर नयाँ औषधि हो । यसको आपूर्ति सीमित अनि मूल्य पनि तोकिन बाँकी थियो ।

Published : Tuesday, 2020 June 16, 8:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया