कोरोनाबाट दुईको मृत्यु, २७३ संक्रमित थपिए

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाँच वर्षीय बालक पनि रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा पाँच वर्षीय बालकसहित दुई जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको जानकारी दिइएको हो ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । शनिबार २७३ जनामा कोरोनाको संक्रमण भेटिएको छ । नेपालमा संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ ।

वीरगञ्जको एक अस्पतालमा उपचारका क्रममा पाँच वर्षीय बालकको मृत्यु भएको छ । अर्का बेवारिसे अवस्थामा मृत फेला परेका पुरुष रहेका छन् ।

बाराको निजगढ नगरपालिका वडा नम्बर ६, योजना टोलका पाँच वर्षीय बालकको शुक्रवार साँझ मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताएका छन् ।

लगातार ज्वरो आउने क्रम नरोकिएका बालकको निजगढका विभिन्न अस्पतालमा उपचार गराइएको थियो । निको नभएपछि शुक्रवार बिहान वीरगञ्ज लगिएको बताइएको छ ।

हेल्थ केयर अस्पतालमा भर्ना गर्ने क्रममा आरडीटी परीक्षणमा पोजेटिभ देखिएको थियो ।

वीरगञ्जको घण्टाघर नजिकै वीपी उद्यान परिसरमा जेठ २८ गते मृत अवस्थामा भेटिएका अन्दाजी २५ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ ।

उता, कोरोनाभाइरसको संक्रमणबाट निको भएर बाँकेको नरैनापुर क्वारन्टीनबाट ११८ जनामध्ये ११७ जना घर फर्किएका छन् ।

Published : Saturday, 2020 June 13, 8:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया