भूमि फिर्ता गर्न भारतसँग गम्भीर वार्ता गरौँः विश्वप्रकाश शर्मा

काठमाडौं । संविधान संशोधन गरेर भारतद्वारा अतिक्रमित नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समावेश भएसँग प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भूमि फिर्ताको दोस्रो चरणको अभियानमा गम्भीर कुटनैतिक पहल गर्न आग्रह गरेको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गरेर भारतसँग कुटनैतिक सम्वाद गर्न सरकारलाई आग्रह गरेका छन् ।

‘लिम्पियाधुरा, लिपुलेक र कालापानीको भू—भाग समावेश गरेर नेपालको संविधानको धारा ९ को उपधारा २ संग सम्बन्धित अनुसूची—३ मा संशोधन गर्न संघीय संसदमा प्रस्तुत संविधान संशोधनको प्रस्ताव आज संसदबाट वृहत्तर सहमतिका साथ पारित हुनु ऐतिहासिक रुपले अत्यन्तै महत्वपूर्ण छ’, विज्ञप्तिमा भनिएको छ ।

‘नेपाली कांग्रेस स्वदेश र बिदेशमा रहेका सबै नेपाली दिदिबहिनी दाजुभाइमा यो घडी हार्दिक बधाई ज्ञापन गर्दछ’, शर्माले भने ।

‘नक्सा पारित हुनुसंगै भूमि फिर्ताको हाम्रो राष्ट्रिय अभियान दोस्रो चरणमा प्रवेश भएको छ’, कांग्रेसले भनेको छ, ‘राष्ट्रियताको पक्षमा आज प्रस्तुत राष्ट्रिय एक्यवद्धता पछि अब लिम्पियाधुरा, लिपुलेक र कालापानीमा नेपालको हक निर्वाध ढंगले स्थापित गर्न सरकारले यो राष्ट्रिय एकतालाई परिपक्व ढंगले उपयोग गर्न जरुरी छ र त्यो क्षमता सरकारले प्रस्तुत गर्नुपर्दछ ।’

‘नेपाली कांग्रेस उच्च स्तरीय कुटनैतिक पहल प्रभावकारी र परिणाममुखी ढंगले गर्न सरकारलाई आग्रह गर्दछ’, कांग्रेसका प्रवक्ता शर्माले भनेका छन् ।

‘जब—जब राष्ट्रियताको प्रश्न आउँछ या कुनै पनि राष्ट्रिय महत्वको बिषय आउँछ नेपाली कांग्रेस संयमतापूर्वक सदैव संस्थागत निर्णय एवं सुस्पस्ट विचारका साथ दृढ ढंगले उभिंदै आएको छ र आगामी दिनमा पनि त्यसरी नै उभिनेछ’, शर्माले भनेका छन् ।

Published : Saturday, 2020 June 13, 7:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया