कालापानीबाट भारतीय सेना हटाउन संविधान संशोधन कोशेढुंगाः कांग्रेस सांसद परियार

काठमाडौं । नेपाली कांग्रेसकी सांसद सुजाता परियारले पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्न निर्देशन दिइसकेको भन्दै संशोधन प्रस्तावको समर्थन जनाएकी छिन् ।

संसदको मंगलबार बसेको बैठकमा संविधान संशोधनको प्रस्तावको सामान्य छलफलमा सहभागी हुँदै परियारले भारतद्वारा अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ताको लागि कुटनैतिक पहल गर्नुपर्ने बताइन् ।

उनले भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता गर्न र भारतीय सेना नेपाली भूमिबाट हटाउनका लागि संविधान संशोधन कोशेढुंगा हुने बताइन् ।

उनले संविधान संशोधन मात्रै भएर नहुने बताइन् । उनले भनिन्, ‘कार्यान्वयनका लागि राज्यले कुटनैतिक पहलबाट सत्य प्रमाणसहित भूमि फिर्ता ल्याउन सरकारले पहल गर्न जरुरी छ ।’

सांसद परियारले भारतसँग वार्ता गर्न ढिला नगरी चाँडो सम्वाद प्रक्रिया अगाडि बढाउनुपर्ने बताइन् । उनले नक्सामात्रै नभइ अतिक्रमित भूमि फिर्ता ल्याउनुपर्ने र त्यसमा कांग्रेसको साथ रहने बताइन् ।

Published : Tuesday, 2020 June 9, 7:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया