सरिता गिरीको सातो लिने गंगा चौधरीफेरि बोलिन् संसदमा, उठाइन् ग्रेटर नेपालको कुरा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद गंगा चौधरीले नेपालका उच्च अधिकारीहरूसमेत विदेशीको पक्षमा नेपालविरुद्ध अभिव्यक्ति दिने गरेको भन्दै आक्रोश पोखरेकी छिन् ।

संसदको मंगलबार बसेको बैठकमा संविधान संशोधनको प्रस्तावको पक्षमा सामान्य छलफलमा सहभागी हुँदै सांसद चौधरीले नेपालको सार्वभौमसत्ताविरुद्ध भारतको पक्षमा वकालत गर्नेहरूलाई कानूनअनुसार कारबाहीको माग गरिन् ।

‘जबजब देश संकटमा हुन्छ वा अर्को देशसँग विवाद हुन्छ’, उनले भनिन्, ‘नेपालका उच्च अधिकारी समेत आफ्नो देशको पक्षमा होइन अर्को देशको पक्षमा वकालत गर्छन् ।’

‘यस्ता कार्यबाट ती पदाधिकारी विदेशीसँग मिलेर नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिक अखण्डताविरुद्ध षड्यन्त्र गरेको आभाष हुन्छ’, चौधरीले भनिन्, ‘यस्तो कार्य मुलुक आचार संहिता बमोजिम अपराध हुने भएकोले अब त्यसतर्फ पनि नेपाल सरकारको ध्यानाकर्षण गराउँछु ।’

‘राज्यका उच्च पदमा बस्नेहरूको शरीरमा जब विदेशीको सलबलाउन थाल्छ अनि त्यसले नेपालको राष्ट्रियता, खलबलाउन थाल्छ त्यसको ज्वलन्त उदाहरण हो अहिलेको नेपाल–भारतबीचको विवाद’, उनले भनिन्, ‘संसदमा प्रतिनिधित्व गर्ने सांसदले नै नेपालको होइन भारतको वकालत गरेको देख्दा उदेश लाग्छ ।’

‘संसदमा नेपालको होइन विदेशको चिन्ता गर्ने व्यक्तिको बाहुल्यता हुन गयो भने उचित हुँदैन’, उनले भनिन्, ‘मित्र राष्ट्रले सुगौली सन्धीलाई मान्दैन भने नेपालले मान्नु पर्दैन ।’

नेकपाकी सांसद चौधरीले भनिन्, ‘सन्धी उल्लंघन हुन्छ भने सुगौली सन्धीलाई खारेज गरेर ग्रेटर नेपालको नक्सा निकाल्नुपर्छ ।’

समाजवादी पार्टीकी सांसद सरिता गिरीले लिम्पियाधुरा नेपालको होइन भन्दै आएकी छिन् ।

गिरीले भारतसँग नसोधेर नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा समावेश गरेर नयाँ नक्सा जारी भएकोमा असन्तुष्टि जनाउँदै आएकी छिन् ।

गिरीको अभिव्यक्तिलाई लिएर केही दिन अगाडि नेकपाकी सांसद चौधरीले संसदमा नाम नलिएर भारतीय चेलीहरूले भारतको पक्षमा अभिव्यक्ति दिएको भन्दै भण्डाफोर गरेकी थिइन् ।

Published : Tuesday, 2020 June 9, 6:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया