कोरोनाबाट एकको मृत्यु, ३१४ जना नयाँ संक्रमित थपिए

काठमाडां । कोरोना भाइरसको संक्रमणको परीक्षणका क्रममा नेपालमा थप ३१४ जना नयाँ संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा स्याङ्जा जिल्लामा थप एकको कोभिड– १९ का कारण मृत्यु भएको जानकारी दिइएको छ ।

योसँगै कोभिड– १९ का कारण मृत्यु हुनेको कुल संख्या १४ पुगेको छ ।

नेपालमा सोमवारसम्म कोरोनाभाइरसबाट संक्रमित हुनेको कुल संख्या ३,७६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

संक्रमण देशका ७६ मध्ये ७१ जिल्लामा फैलिइसकेको जानकारी पनि मन्त्रालयले दिएको छ ।

हालसम्म कोरोनाभाइरस संक्रमणबाट ४८८ जना निको भएको बताइएको छ ।

मन्त्रालयले बिहीवार अहिलेसम्मकै सर्वाधिक संख्या ३३४ जनामा र शुक्रवार २७८ जनामा संक्रमण देखिएको पुष्टि गरेको थियो ।

पछिल्लो २४ घण्टामा प्रदेश नम्बर २ मा ७ जना महिला र १ सय ६७ जना पुरुषगरी कुल १ सय ७४ जना ब्यक्तिहरूमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

सप्तरी जिल्लामा १६ जना महोत्तरी जिल्लामा १२ जना, सर्लाही जिल्लामा १ सय २० जना, रौतहट जिल्लाका ११, बारा जिल्लामा ७ जना र पर्सा जिल्लामा ८ जना ब्यक्तिहरूमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

चितवनको निजी अस्पतालमा काम गर्ने दुई चिकित्सकसहित २३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

Published : Monday, 2020 June 8, 8:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया