राहत र स्वास्थ्य सामग्री वितरणमा कम्युनिस्टले दुःख दिए, मुद्धा नै हालेः कांग्रेस नेता बस्नेत

मोहनबहादुर बस्नेत, नेता एवम् पूर्वमन्त्री, नेपाली कांग्रेस

कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले चैतको ११ गतेदेखि लकडाउन शुरु गरेको थियो । लकडाउन गर्दै गर्दा सरकार कुनै तयारीमा थिएन । त्यस अवस्थामा जोखिम मोलेर गृहजिल्ला सिन्धुपाल्चोकमा कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले खाद्यान्नसहित स्वास्थ्य सामग्रीहरू विरतण शुरु गरेका थिए । उनको यो अभियानलाई सत्तारुढ नेकपाका नेताहरूले रोक्न ठूलो प्रयास गरे । तर, बस्नेतले ती अबरोधहरू बेवास्ता गर्दै स्वास्थ्य संस्थाहरूमा स्वास्थ्य सामग्री पुर्‍याइ छाडे । उनले समस्यामा परेका मजदुर र अति निम्न वर्गका जनतालाई खाद्यान्न वितरण पनि गरे । कांग्रेसका नेता मोहनबहादुर बस्नेतसँग हाम्रा सहकर्मी विमल योगीद्वारा गरिएको कुराकानीको सम्पादित अंश –

तपाईले कोरोना भाइरसको संक्रमणका बेला गृहजिल्ला सिन्धुपाल्चोकमा के काम गर्नुभयो ?

कोरोनाको महामारी चीनमा जब शुरु भयो । हाम्रो जिल्लाको सिमाना चीनसँग जोडिएको छ । कोरोनाको महामारी धेरै फैलिन सक्ने भएको हामीले शुरुमा स्वास्थ्यकर्मीहरूका लागि पीपीई सेटहरू लकडाउन भएको भोलिपल्ट चैत १२ गतेबाट वितरण गरियो । पीपीई, मास्क, सेनिटाइटर, ग्लोब्स, पारासिटामोल, गाउन, एप्रोन, क्यापलगायतका स्वास्थ्य सामग्रीहरू वितरण गरिएको छ । अस्पताल, स्वास्थ्य केन्द्र र उपस्वास्थ्य केन्द्रहरूमा समेत वितरण गरेका छौँ । सडक मजदुरहरूलाई खाद्यान्न पनि सहयोग गरिएको छ । हामीले वितरण गर्ने बेला कसैले पनि बाँडेका थिएनन् ।

शुरुका दिनमा सहज रुपमा वितरण गर्न पायौँ । पछिल्ला दिनमा हामीलाई अलिक अफ्ठ्यारो पार्दै गए । नेकपाका नेताहरूको निर्देशनमा राहत र स्वास्थ्य सामग्री वितरणमा अबरोध भयो । सिन्धुपाल्चोकको प्रहरी र प्रशासनले दुःख दियो । मेरो तीन वटा गाडीमा सामानहरू लिएर हिँडेका थियौँ । दुई वटा गाडीको पास थियो । त्यो दुबै गाडीको पास खोसिदिए । मलाई सडकमा हिँड्न दिएनन् । अबरोध हुँदा पनि हाम्रा कांग्रेसका साथीहरूले राहत र स्वास्थ्य सामग्री वितरण गर्नुभयो । प्रहरी र प्रशासनको अबरोधले हाम्रा कांग्रेसका साथीहरूले चोर हिँडे जसरी सम्बन्धित ठाउँमा पुगेर सहयोग वितरण गर्नुभयो ।

राहत र स्वास्थ्य सामग्री वितरण गरेको भनेर तपाईलाई नेकपाका नेताहरूले मुद्धा पनि हाले भन्ने सुनिएको थियो हो ?

नेकपाका साथीहरूले मसहितका कांग्रेसका साथीहरूलाई उजुरी पनि हाले । त्यो उजुरी कार्यान्वयन भएन । कांग्रेसका साथीहरूलाई धम्काउने कामहरू भयो । सप्लायर्सहरूलाई पनि किन सामान दिइस् भनेर धम्काउने काम भयो । नेकपाका नेता तथा कार्यकर्ताहरूले धम्काउँदा पनि हामीले सामानहरू बाँड्यौँ ।

तपाईले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै स्वास्थ्य सामग्री बाँड्नुभयो रे हो ?

मेरो निर्वाचन क्षेत्रमा मात्रै नभई पूरै जिल्लाभरि स्वास्थ्य सामग्री वितरणको काममा लाग्यौँ । जिल्लाका सबै नगरपालिका र गाउँपालिकाहरूमा सामानहरू पुर्‍यायौँ । प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पताल बाहेक वडा–वडामा रहेका स्वास्थ्य चौकीहरूमा पनि सामान पुर्‍याउने कार्यक्रम थियो । त्यसलाई केही अवरोध भयो । सबैमा हामीले सामन पुर्‍याउन पाएनौँ । तैपनि फेरि हामीले शुरुवात गर्दै छौँ । फेरि सामान पुर्‍याउन थालेका छौँ ।

हुन त नेपाल सरकारले वीर र टिचिङ अस्पतालमा पीपीई सेट दिन नसक्दा हामीले स्वास्थ्यकर्मीलाई मात्रै होइन प्रहरीलाई पनि हामीले दिएका छौँ । पत्रकारहरूलाई पनि दिएका छौँ ।

तपाईले कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी महिलाका आफन्तलाई पनि सहयोग गर्नुभएको हो ?

हो सहयोग गरिएको छ । कोरोनाको संक्रमणबाट मृत्यु मेरै जिल्लाकी महिलाको मृत्यु भयो । कोरोनाबाट पहिलो मृत्यु सिन्धुपाल्चोकमा भएको थियो । महिलाको मृत्यु भएपछि एउटा बच्चा ९ वर्षको घरमा थियो । अर्को ९ दिनको बच्चा थियो । दुई साना बच्चा हुँदा आमा बित्नुभयो । बच्चाका बाबुलाई धेरै तनाब भयो । मैले सम्पर्क गरेँ । सम्पर्क गरे पौष्टिक आहारा खानको लागि ५० हजार व्यवस्था गरिदिन्छु भने । ९ दिनको बच्चाको १ देख १२ कक्षासम्म पढाइदिने भनेको छु । रोजगारीको व्यवस्था पनि मैले जिम्मा लिन्छु भनेको छु । मैले यो काम घोषणा गरेको थाहा पाएपछि बेलायतमा बस्ने नेपालीहरूले पैसा पठाइदिए । त्यसमा मैले एक लाख रुपियाँ बनाएर पठाइदिएको छु । अहिले ती बच्चा स्वास्थ्य रहेका छन् ।

स्वास्थ्यकर्मीहरूको बीमा गरिदिनुभएको छ भन्ने कुरा साँचो हो ?

हो । स्वास्थ्यकर्मीहरूलाई अफ्ठ्यारो पर्दै आएको कुरा थियो । सरकारको अव्यवस्थापनको कारणले गर्दा र समयमा काम गर्न नसक्दा तथा सावधानी नअपनाएको कारणले कोरोनाबाट बच्नको लागि जुन सेफ्टीको व्यवस्था गर्नुपर्ने थियो त्यो कुरा सरकारले समयमा गर्न सकेन । सरकार भ्रष्टाचारमा लागेको शुरुमै गन्ध देखिन थाल्यो । अहिलेसम्म पनि सामग्रीहरू आइपुगेको छैन । स्वास्थ्यकर्मीहरू धेरै त्रसित भएको महशुस गरेर कमसेकम सिन्धुपाल्चोकमा रहेका सम्पूर्ण स्वास्थ्यकर्मीहरू अर्थात कार्यालय सहयोगदेखि स्वास्थ्यकर्मी र चिकित्सहरू सबै ६१३ जनाको हामीले कोरोना बीमा गरिदिएका छौँ । जसले गर्दा काम गर्न स्वास्थ्यकर्मीहरूलाई काम गर्न उत्साह होस् भनेर बीमा गरिदिएका छौँ । कोरोना पोजेटिभ पीसीआर टेष्टबाट देखिनेवित्तिकै त्यो एक लाख रुपियाँ बीमाको रकम प्राप्त हुन्छ ।

तपाईले कांग्रेसका नेता तथा कार्यकर्ताहरूको पनि बीमा गरिदिएको भन्ने सुनिएको छ । के हो ?

हाम्रा साथीहरू शुरुदेखिनै कोरोनाको महामारीका बेला स्वास्थ्य सामग्री र राहत वितरणमा खटिनुभएको छ । हाम्रा साथीहरूपनि त्रासको वातावरणमा हिँडिरहनुभएको छ । मैले अलिकति भएपनि कांग्रेसका नेता तथा कार्यकर्तामा उत्साह जगाउन वडा तहदेखि पार्टीलाई परिचालन गर्ने हिसाबले शनिबार पुनः ६५१ जना नेपाली कांग्रेसका कार्यकर्ताहरू जो हिजो कोरोना भाइरसको महामारी बढेपछि मसँगै सहयोग गरेर सक्रियताका साथ काम गर्नुभयो अर्थात जनतालाई जोगाउनको लागि खटिएका ती साथीहरू र वडामा पार्टीको ईकाइ सभापति, वडाको सचिव, नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएको वडाध्यक्षको उम्मेदवार वा विजेताको बीमा गरिदिएका छौँ । यो बीमा जिल्लाभरिकै हो ।

मेरो क्षेत्रको मात्रै कुरा गर्दैन मानवीय समवेदनाको विषय छ । स्वास्थ्यकर्मीको जिल्लाभरिकै गरिदिएका छौँ । पार्टीका नेता तथा कार्यकर्ताहरू जो सक्रिय छन् र भोलिका दिनमा पनि वडा तहदेखिनै कार्यकर्ता खटाउनुपर्ने हुन्छ । त्यो खटाउने बेलामा क्रियाशील बनाउनका लागि वडालाई प्रतिनिधित्व गर्नुपर्छ । वडामा पार्टीका सभापति र सचिवको अनिवार्य बीमा गरिदिने निर्णय भएको छ ।

तपाईले सरकारलाई असहोग गरेर आफू खसी स्वास्थ्य सामग्री र राहत वितरण गर्नुभयो रे ?

सरकारले अहिलेसम्म राहत र स्वास्थ्य सामग्री बाँडेको छैन । सरकारले बल्ल अहिले जिल्ला अस्पताल र स्वास्थ्य केन्द्रहरूमा दिएको छ । हामीले बाँडेको चैत १२ गतेदेखि सरकारले अहिले भरखर फाट्टफुट्ट बाँड्न थालेको छ । त्यो पनि चाहिने मात्रामा गएको छैन ।

एकद्वार प्रणालीको कुरा पनि उठाइएको थियो । त्यो कुरालाई तपाईले संकेत गर्न खोज्नुभएको होला । एकद्वार प्रणालीको कुरा सिन्धुपाल्चोक जिल्लामा विगतका केही तिता घटनाहरू छन् । जुरेको पहिरोले सुनकोशी नदीलाई १७ घण्टा थुनेको थियो । ३ किलोमिटरको ताल बनेको थियो । त्यस बेला १४५ जना एकै ठाउँमा मान्छे मारिएका थिए । अहिलेको भन्दा त्यस बेला बिकराल स्थिति थियो । त्यस बेला सरकारको धेरै समयसम्म त्यहाँ उपस्थिति नै रहेन । थुनिएको ड्याम फुट्छ भनेर त्यहाँका बिरामीलाई काठमाडौं लैजाने अवस्था पनि रहेन । म र मेरो साथी दिनेश श्रेष्ठ काठमाडौंबाट हेलिकप्टर लिएर गएर हामीले हेलिकप्टरबाट बिरामी काठमाडौं ओसार्‍यौँ ।

त्यहाँ सरकारले गाडी चलाउन निषेध गरेको थियो । सरकारले त्यहाँको अरनिको सडक सिल गरेको थियो । हाम्रा साथीको गाडी र एम्बुलेन्सलाई कन्भिन्स गरेर बिरामी काठमाडौं ल्याइयो । जुरेका पहिरो पीडितलाई दिने भनेर जिल्ला दैबिक प्रकोप कोषमा जम्मा भएको दुई करोड रकम छ वर्षभन्दा धेरै भयो । पीडितले अहिलेसम्मा पाएका छैनन् । एकद्वार प्रणालीका नाम ती राहत ठाउँमा पुग्दैन । एकद्वार प्रणालीको नाममा सरकारले केही नगर्ने, स्थानीय निकायले सहयोग नदिने, सुनकोशी र हेलम्बु गाउँपालिकाले केही राम्रो काम गर्‍यो ।

अरु नगरपालिका र गाउँपालिकाको कामै देखिएन । यो बेला अर्थात अफ्ठ्यारो परेका बेला टुलुटुलु हेरे बस्ने कुरा आउँदैन । हामीले सक्ने कुरा बाँडेका हौँ । स्वास्थ्य र राहतको सामग्री बाँडेका हौँ । जनतालाई सचेत गराएर हिँडेका हौँ । त्यसमा के कुरा भएको छ ? सरकार र नेकपाका नेताहरूले मोहनबहादुर बस्नेत कतै नगइदिओस् भन्न चाहन्थे । म र हाम्रा साथीहरूले सामग्री बाँड्न थालेपछि नेकपाकै एकथरी साथीहरूले राम्रो काम गर्नुभयो भनेर सामाजिक सञ्जालमा लेख्नुभयो । सभामुख अग्नि सापकोटालाई मैले स्वास्थ्य सामग्री र राहत वितरण गरेको मन परेन । उहाँले रुचाउनुभएन । उहाँकै भाइभतिजाहरू उहाँकै निर्देशनमा मलाई रोक्न खटिएर लागे । हामीलाई धेरै अबरोध गर्न सकेनन् । हामीलाई मजाले घुम्न दिएको भए योभन्दा धेरै काम गर्न सक्ने थियौँ ।

सरकारले कोरोना रोकथाम र राहत वितरणमा काम गर्न सकेन भन्ने धेरै गुनासाहरू आएका छन् । तपाई कांग्रेसको केन्द्रीय सदस्य, पूर्वमन्त्री पनि तपाईहरूले पार्टीबाट संस्थागत निर्णय गरेर सरकारलाई किन दवाव दिन सक्नुभएन ?

यो विषयमा कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बसेर निर्णय गरेर सरकारलाई धेरै किसिमको सुझाव र दवावहरू दिएका छौँ । संसदमा पनि कांग्रेसका सांसदहरूले कुरा उठाउनुभएको छ । यो अफ्ठ्यारो बेलामा दवाव मात्रै होइन रचनात्मक सहयोग गर्नुपर्छ भनेर सरकारलाई सहयोग पनि गरेका छौँ । कोरोना कोषमा कांग्रेसले सबैभन्दा ५० लाख रुपियाँ सबैभन्दा पहिला लगेर खातामा हालिदिएकै हो । कोरोना संक्रमणका बेला जनतालाई उद्धार गर्न कांग्रेसले आफ्ना कार्यकर्तालाई परिचालन पनि गरेको छ । हामी परिचालन भएका छौँ । सिन्धुपाल्चोकमा त पार्टीले निर्णय गर्नुभन्दा अगाडिदेखि नै काम गरेका छौँ । पार्टीले देशव्यापरी रुपमा सकेको काम गर भनेको छ ।

कांग्रेसका नेताहरूले धेरै जिल्लामा काम गर्न खोज्दा गाडीको पास नदिने । पास खोसीदिने । घुम्न नदिने । सदरमुकाममा लगेर बुझाउ भनिदिने । स्थानीय निकायलाई सामान बुझाउ भनिदिने । त्यो खालको कार्य गरेको कारणले कांग्रेसले आफूले जम्मा गरेर लगेको सामान कम्युनिस्टको हातमा दिएर बाँड्छ कि बाँड्दैन ? त्यो विषय गम्भीर छ । यो कार्यले कांग्रेसका नेता तथा कार्यकर्ताहरू अलिकति निरास पनि भए । प्रत्यक्ष रुपमा लगेर बाँड्न नपाउने भएपछि त्यो राहत जनताको हातमा पुग्छ भन्ने के ग्यारेन्टी छ ? सिन्धुपाल्चोकसहितका केही जिल्लामा जबरजस्ती बाँडेका छौँ । प्रभावकारी रुपमा सरकारले कांग्रेसलाई काम गर्न दिएन ।

तपाईहरूले अर्थात कांग्रेसले सरकारलाई दवाव दिन सकेन नि ?

सरकारलाई दवाव दिएका छौँ । संसारमा असफल भएको आरडीटी परीक्षण नगरौँ भन्दा सरकारले किन गरिरहेको छ ? आरडीटी किन्न लागिरहेको छ । यो कमिशनको खेल हो । पार्टी सभापति शेरबहादर देउवाले पनि यो विषयमा बोलिरहनुभएको छ ।

लकडाउनका बारेमा तपाईको धारणा के छ ?

लकडाउन ठीक छ । तर, लकडाउनको मोडालिटी परिवर्तन हुनुपर्छ । यसको साथै दैनिक ज्यालादारी मजदुरदेखि उद्योग, व्यवसायी, व्यापारीलगायतलाई प्याकेजको राहत कार्यक्रम ल्याउ भनेर कांग्रेसले भनिरहेको छ । विज्ञहरूलाई राखेर काम गर्न सरकारलाई भनेका छौँ । सर्वदलीय संयन्त्र बनाउ भनेका छौँ ।

कांग्रेसले काम गरेको होला । तर, सरकारलाई दवाव दिन किन सकेन भन्ने मेरो प्रश्न हो । यहाँ जनता कोरोनाले भन्दा पनि भोकले मर्न थाले नि ?

कांग्रेस बोलिरहेको छ । भारतबाट आएका मान्छेहरू क्वारेन्टिनमा मर्ने अवस्था भएको छ । नेकपाको सरकारले कांग्रेसले दवाव दिँदा पनि सुनेका छैनन् । निरंकुश शासकहरू लोकतान्त्रिक ढंगबाट जति बोले पनि सुन्दैनन् । कांग्रेस लोकतान्त्रिक पद्धतिमा ध्यान दिने पार्टी भएको हुनाले यो संकटको अवस्थामा बार वा सरकारी सामान तोडफोड गरेर हिँड्ने होइन । म त घच्याक घुचुक गर्ने मान्छे हो । सरकारले काम गर्न नसकेको विरोधमा साथीहरूसँग सल्लाह गरेर लकडाउनका बेलामा राँके जुलुस पनि निकालेको छु । सबै वर्ग र दलहरू मिलेर संकटको सामना गर्नुपर्छ । कांग्रेसले शुरुदेखिनै बुद्धिजीवीको सल्लाह लिएर काम गरिरहेको छ ।

सरकारले साढे दुई महिनाको अबधिमा दश अर्ब रुपियाँ कोरोना र राहतमा खर्च गरेको भनेको छ । कांग्रेसले यसको हिसाव किताव माग्दैन ?

कांग्रेसले हिसाव किताव माग्नै पर्‍यो नि । दश अर्ब खर्च गरेको तथ्याङ्क सरकारले निकाल्न थालेका छन् । त्यसको उपलब्धि के भएको छ ? पीसीआर पद्धतिबाट परीक्षण एक लाख पनि नाघ्न सकेको छैन । क्वारेन्टिको अवस्था बेहाल छ । जनताले खान पाइरहेका छैनन् । जनता घर जान पाएका छैनन् । क्वारेन्टिमा समेट जनता भोकै छन् । घरमै उपचार गर्ने भन्न थालेको छ सरकार । यो विषयमा कांग्रेसले आफ्ना कुरा बोलिरहेको छ । आवश्यक्ताअनुसार त्यसलाई कानूनी कारबाहीमा अगाडि बढ्ने कुरामा पहल पनि गर्छ । जनताले पनि हेरेका छन् । सामाजिक सञ्जालमा विरोध भइरहेको छ । मुलुकमा तानाशाह व्यवस्था चलाउने मनासयका अनुसार खड्गप्रसाद ओलीले लकडाउनका बेला दुई वटा अध्यादेश जर्बजस्ती ल्याइएको थियो । पार्टीभित्रै सल्लाह ओलीजीले गर्नुभएन । कांग्रेस र मिडियाको विरोधले अध्यादेश फिर्ता भएको छ । कांग्रेस नबोलेको भए यो सम्भव हुने थिएन ।

कांग्रेसले संसदमा कोरोना रोकथाममा सरकारको असक्षमताको कुरा उठाएर अबरोध किन गर्दैन ?

कांग्रेसले संसदमा आवश्यक्ताअनुसार जबरजस्त रुपमा कुरा उठाउँदै आएको छ । रुकुम पश्चिमको घटनामा सदनमा कांग्रेसले अबरोधको चेतावनी दिएपछि सभामुखले संसदीय छानविन समिति बनाउन बाध्य हुनुभयो । अब कोरोना रोकथाम र राहतमा सरकारले गर्छु भनेर अल्मलाइरहेको छ । कांग्रेसले कोरोना र राहतका विषयमा दवाव दिन संसद अबरोध गर्ने कुरा आउँछ । सरकारले समयमा ध्यान दिने काम गरोस् ।

लकडाउन र कर तिर्ने विषयमा तपाईको धारणा के छ ?

लकडाउन सधैँ भरि एउटै प्रकृतिबाट लागू गर्ने सम्भव छैन । निरंकुश शासकहरूले यो लकडाउन खोजिरहेका हुन्छ । आफूले गरेका निर्णयविरुद्ध जनता सडकमा आउन नपाओस् भनेर लकडाउन गर्न खोजिन्छ । लकडाउनको आवश्यक छ । तर, त्यसको स्वरुप कस्तो बनाउने विज्ञहरूसँग सल्लाह गरेर जानुपर्छ । भारतबाट आउने व्यक्तिलाई चेकजाँच गरेर घर पठाउनुपर्छ । खान नपाएका कारण क्वारेन्टिनबाट भाग्न थालेका छन् । लकडाउनलाई खुकुलो बनाउनुपर्छ । देशभरि एकनासको बनाउनु हुँदैन ।

सरकारको नीति तथा कार्यक्रममा राहत दिने भनिएको छ । व्यापारीलाई करमा छुट दिने भनिएको छ । बजेटमा पनि भाषण गर्ने । जेठ २५ भित्र कर तिर भनेर परिपत्र गर्ने । यो त डकल स्ट्याण्ड भयो । भाषणमा मिठो कुरा गर्ने । करमा पेल्ने कार्य भयो । कर तिर्नै पर्छ । तर, सहुलियत दिनुपर्छ । करका विषयमा सरकारले व्यवहारिक कुरा गरेको छैन । कर तिर्न सबै तयार छन् । केही राहत मात्रै खोजिएको हो ।

Published : Monday, 2020 June 8, 1:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया