शुक्रबार २७८ जना संक्रमित भेटिए, कोरोनाबाट सुर्खेतमा एकको मृत्यु

काठमाडौं । नेपालमा थप २ सय ७८ जनामा कोरोनाभाइरसको संक्रमण भेटिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले २ सय ७८ सहित देशभरि संक्रमितको कुल संख्या २ हजार ९ सय १२ पुगेको बताए ।

तीमध्ये ३३३ जना निको भइसकेका छन् । ११ जनाको मृत्यु भएको तथ्याङ्क मन्त्रालयसँग छ ।

अहिले पुष्टि भएका संक्रमित विभिन्न जिल्लाका हुन् । प्रदेश २ र ५ मा संक्रमितको संख्या सर्वाधिक छ ।

मन्त्रालयका प्रवक्ता डा.देवकोटाले जेठ २२ गते बिहीवार सुर्खेतमा मृत्यु भएका व्यक्तिबाट मरणोपरान्त सङ्कलित नमूनाको परीक्षण गर्दा कोरोनाभाइरस देखिएको जानकारी दिएका छन् ।

सुर्खेतमा मृत्यु भएका व्यक्तिसहित नेपालमा कोभिड–१९ सँग सम्बन्धित मृत्युको संख्या ११ पुगेको छ ।

जेठ ८ गते भारतबाट फर्किई स्थानीय क्वारन्टीनमा बसेका ती व्यक्तिको बिहीवार घर फर्किएपछि आकस्मिक रूपमा मृत्यु भएको डा.देवकोटाले बताए ।

आरडीटी परीक्षणमा संक्रमण भएको कुनै लक्षण नदेखिएकाले उनी १४ दिनपछि क्वारन्टीनबाट घर गएको डा. देवकोटाले बताए ।

शुक्रवार पुष्टि भएकामध्ये दैलेख जिल्लाका ९० जना छन् । गोरखा, कास्की र हुम्लामा पनि संक्रमित भेटिएपछि कोभिड–१९ बाट प्रभावित हुने जिल्लाको संख्या ६८ पुगेको छ ।

शुक्रबार दैलेखमा ९०, कपिलवस्तुमा ४४, सुनसरीमा २१, रूपन्देहीमा १८, रामेछापमा १८, महोत्तरीमा १७, झापामा १२, मोरङमा ६, रौतहटमा ६, भोजपुरमा ५ र डडेल्धुरामा ५ जना संक्रमित भेटिएका छन् ।

काभ्रेमा ५, कैलालीमा ४, धनुषामा ४, बारामा ३, जुम्लामा ३, नवलपरासीमा २, सिन्धुलीमा २, तनहुँमा २, दोलखामा १, अर्घाखाँचीमा १, पाल्पामा १, अछाममा १ र बझाङमा १ जना संक्रमिट भेटिएका छन् ।

हुम्लामा १, गोरखामा १, कास्कीमा १, गुल्मीमा १, सुर्खेतमा १ र दाङमा १ जना संक्रमिट भेटिएका छन् ।

Published : Friday, 2020 June 5, 7:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया