रुकुम पश्चिम घटनाको विरोधमा पोखरामा प्रदर्शन

पोखरा । रुकुम पश्चिम जिल्लाको चौरजहारीमा गाउँलेको कुटाइबाट नवराज विश्वकर्मासहित छ जना युवाको युवाको मृत्युको घटनालाई लिएर दलित संघर्ष समिति पोखरा महानगरपालिका वडा नम्बर ३३ ले वडाध्यक्षमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

समिति संयोजक प्रेमबहादुर सुनार नेतृत्वको टोलीले पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यलाई ज्ञापनपत्र बुझाएको हो ।

२१औं शताव्दीमा भएको यो घटना लज्जाजनक एवम् निन्दनीय भएको भन्दै ज्ञापनपत्रमा यसले दलित समुदायको अपमानका साथै समग्र देशकै शीर निहुँरिएको भनिएको छ ।

जातीय विभेद हुनु आफैंमा मानवअधिकारको हनन् भएको भन्दै ज्ञापनपत्रमा यो घटनाले हाम्रो समाजमा आज पनि अत्यन्तै नराम्रो रोग विद्यमान रहेको कुरालाई थप प्रष्ट बनाएको उल्लेख छ ।

अन्तर्जातीय विवाह गर्न खोज्दा दलित भएका कारण ज्यान गुमाउनुपरेको अवस्थामा जातीय भेदभाव कसुर र सजाय ऐन २०६८ अन्तर्गत अपराधीलाई कानूनबमोजिम हदैसम्मको कारबाही गर्न समितिले माग गरको छ ।

मानव सभ्यतालाई गम्भीर चुनौती दिने यस किसिमको आपराधिक घटना कुनै पनि हालतमा दोहोरिन नदिन समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।

यसअघि जातीय उत्पीडनका विरुद्धमा विभिन्न नारा लेखिएका प्लेकार्ड बोकी पोखरा महानगरपालिका वडा नम्बर ३३ बसपार्कदेखि शुरु भएको र्‍याली बरेली चोक, पानीट्याङ्की, महाकाली चोक, कालिकास्थान हुँदै भगवतीचौतारा पुगी पुनः त्यहाँबाट फर्की कालीकास्थान पुगेर ज्ञापनपत्र बुझाउँदै कोणसभामा परिणत भएको थियो ।

कोणसभामा संयोजक प्रेमबहादुर सुनार, सह–संयोजक शरण नेपाली, उप–संयोजक राजकुमार सुनार, दलित संघर्ष समिति कास्कीका संयोजक दुर्गाबहादुर सुनार, कलाकार महेश गोदार लगायतले घटनाका दोषीलाई कडा कारवाही गर्न माग गरे ।

Published : Friday, 2020 June 5, 6:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया