विना मगरका कारण मेलम्ची खानेपानी बिथोलियोः कांग्रेस नेतृ डा.संग्रौला

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा.डिला संग्रौलाले राष्ट्रपति महिला सशक्तीकरण कार्यक्रम पुनः पुनरावृत्ति भएको भन्दै विरोध गरेकी छिन् ।

संसदको शुक्रबार बसेको बैठकमा डा.संग्रौलाले राष्ट्रपतिको नाममा राखिएको कार्यक्रमको विरोध गरेकी हुन् । ‘यस कार्यक्रमले विपन्न एवं वञ्चितीमा परेका महिलाहरूको यसमा पहुँज हुँदैन भने कसरी उनीहरूले रोजगारी पाएर उद्यमशील बन्दछन् ?’, उनले प्रश्न गरेकी छिन् ।

‘सदाको लागि बालश्रमको अन्त्य गर्ने भनिएता पनि होटल, रेष्टुरेण्ट, सार्वजनिक यातायात, इँट्टाभट्टा लगायतका क्षेत्रमा बालश्रमको शोषण भएको अवस्था छ’, उनले भनेकी छिन्, ‘सडक छाप बालिका जताततै छन् । यो त केवल सरकारको देखाउने दाँत मात्र भएन र ? बाल शोषण गर्नेलाई कारवाही कहाँ भएको छ ?’

‘महिला माथिको लैंगिक विभेद, हत्या, हिंसा, बलात्कार, दाइजो बोक्सी, छाउपडी प्रथा, बालविवाह, बहुविवाह अझै रोकिएको छैनन्’, उनले भनिन्, ‘क्वारेन्टिनमा नै महिलामाथि बलात्कार भै रहेको छ । यसलाई रोक्न खोइ त विशेष कार्यक्रम ?’

कांग्रेस सांसद डा.संग्रौलाले भनेकी छिन्, ‘९४ प्रतिशत जनतालाई खानेपानी पुर्‍याउने भनिएको छ । नेपाली जनताले अहिले पनि शुद्ध खानेपानी पाएको छैन ।’

‘मेलम्ची खानेपानी काठमाडौंमा वितरण गरिने भनिएता पनि खोई अहिलेसम्म छाटकाट छैन केवल नाराले मात्र जनतालाई कति दिन भुक्याउने हो ?’, डा.संग्रौलाले प्रश्न उठाएकी छिन् ।

कांग्रेस सांसद डा.संग्रौलाले खानेपानी मन्त्री वीना मगरले मेलम्ची खोपानीलाई बिथोलेको आरोप लगाइन् । मन्त्री मगर मन्त्रालयको जिम्मेवारी सम्हाल्न असफल भएको उनले बताइन् ।

‘भूमिहीन दलितलाई पहिचान गरी बसोबासको लागि आवश्यक जमीन उपलब्ध गराउने भनी दलित आवास कार्यक्रम सरकारले ल्याइएको भएता पनि यो केवल कागजी घोडा मात्र भएको छ’, उनले भनिन्, ‘न दलितको पहिचान छ, न त आवास नै बनेको छ, जनता भुक्याउने बाहेक के छ र ?’

‘बाँझो जमिन धेरै भएका स्थानीय तहबाट भूमि बैंकको स्थापना गर्ने भनिएता पनि सरकारले अहिलेसम्म कुन तहमा कति बाँझो जमीन छ भनेर तथ्यांक नै जुटाउन सकेको छैन’, उनको प्रश्न छ, ‘जनतालाई किन गुमराहमा राखेको ?’

‘युवा तथा नवप्रवर्द्धन केन्द्रहरू स्थापना गर्ने उल्लेख गरिएको छ’, उनले भनिन्, ‘यस्तै युवा परिचालनको कुरो पनि छ । यस्ता केन्द्रहरू कसले, कसका लागि सञ्चालन गर्ने हो ? स्पष्ट छैन, त्यसलै यो आफ्ना दलका कार्यकर्तालाई पोस्ने कार्यक्रम मात्र हो ?’

Published : Friday, 2020 June 5, 6:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया