गिरिजाप्रसाद कोइराला फाउण्डेशनद्वारा अमेरिकामा प्रदर्शन

न्युयोर्क । अमेरिकाको मिन्यापोलिस राज्यमा मई २५ का दिन प्रहरी हिरासतमा मृत्यु भएका अश्वेत नागरिक जर्ज फ्लोइडको हत्या भएको पुष्टि भएपछि अमेरिकाको विभिन्न राज्यमा शान्तिपूर्ण प्रदर्शन भएका छन् ।

शान्तिपूर्ण प्रदर्शनकै क्रममा नेपाली समयअनुसार शुक्रबार बिहान न्युयोर्कमा सेनेटर जन सी लियुको आवाहनमा ‘हामी सास फेरौं’ भन्ने नाराका प्रदर्शन गरिएको छ ।

पुलिसमा सुधारहरूका लागि शान्ति र्‍यालीमा ऐक्यबद्वता जनाउँदै गिरिजाप्रसाद कोइराला फाउण्डेशनले सहभागिता जनाएको छ ।

फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरे, उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवं समुदाय सम्बन्ध निर्देशक छिरिङ राप्के लामा, केन्द्रीय सदस्य सूर्य सिम्खडा, वरिष्ठ कलाकार एवं समाजसेवी बसन्ती राइँ, दीवाकर बागचन्द, घ्याल्सुम्दो सेवा संस्था अमेरिकाकी अध्यक्ष नीमा ल्हमो, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाकी कोषाध्यक्ष छोञ्जोम लामा, कुञ्जन पौडेल लगायतको उपस्थिति रहेको थियो ।

मिनियानापोलिसमा भएको जर्ज फ्लोडको मृत्युबाट अत्यन्तै दुःखी भएको फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले बताए ।

उनले एक्काईसौं शताब्दीमा पनि अमेरिकामा रंगभेद अन्त्य गर्न नसक्नु दुःखद रहेको बताए । ‘जबसम्म हाम्रो सोँचमा परिवर्तन आउँदैन, समस्याको समाधान निकै गाह्रो छ’, उनले भने ।

र्‍यालीमा हालै नेपालको रुकुममा भएको घटनाको पनि घोर भ्रर्त्सना गरिएको थियो । रुकुममा भएको घटनाप्रति गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले निन्दा गरेको अध्यक्ष घिमिरेले बताए ।

एक्काईसौँ शताब्दीको समाजमा पनि जातपात, छुवाछुत, तल्लो वर्ग, उपल्लो वर्गको नाममा हत्या हिंसा दुःखद् र निन्दनीय रहेको घिमिरेले बताए । रुकुम घटनाको सत्य तथ्य खोजविन गरी निष्पक्ष छानबिन होस् भन्ने फाउण्डेशनले माग गरेको छ ।

Published : Friday, 2020 June 5, 12:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया