शंकर पोखरेलविरुद्ध नेकपाकै ९ सांसद एकातिर, नारायणपुर र टरिगाउँवीच घम्साघम्सी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरू दश जना सांसदहरूले दाङको तुलसीपुर उपमहानगरपालिकाको टरिगाउँ विमानस्थल स्तरोन्नतिका लागि सरकारसँग माग गरेका छन् ।

दाङबाट प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दशमध्ये ९ जना सांसदहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई भेटेर टरिगाउँ विमानस्थलको स्तरोन्नतिको माग गरेका हुन् । उनीहरूले विमानस्थलको ४०० सय मिटर धावनमार्ग विस्तार गर्न पनि माग गरेका छन् ।

नेकपाका सांसदहरूले घोराही उपमहानगरपालिकाको नारायणपुर आन्तरिक विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग गरेका छन् ।

नेकपाका सांसदहरूले एउटै जिल्ला त्यो पनि १० किलो मिटरको फरकमा दुई वटा विमानस्थल माग गरेका छन् । उनीहरूलाई थाहा छ कि एउटै जिल्लाभित्र दुई वटा त्यो पनि एउटा आन्तरिक र अर्को अन्तर्राष्ट्रिय विमानस्थल बन्न सक्दैन भन्ने । नेकपाका सांसदहरूको आन्तरिक द्वन्द्व र जुँगाको लडाइँले गर्दा दाङमा विमानस्थल बन्ने विषयमा ठूलो प्रश्न उब्जिएको छ ।

नेकपाका नेता एवम् प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको जोडबलमा प्रस्तावित नारायणपुर विमानस्थललाई आन्तरिक विमानस्थलका रुपमा निर्माण गर्न आर्थिक वर्ष २०७७–७८ को बजेटमा समावेश गरिएको थियो ।

त्यसको विरोधमा देउखुरी उपत्यकाबाट निर्वाचित क्षेत्र नम्बर १ का सांसद मेटमणि चौधरीले नारायणपुर विमानस्थलको विरोध गर्दै टरिगाउँलाई नै स्तरोन्नति गर्न माग गरेका थिए ।

नेकपाका सांसदहरूले घुमाउरो भाषामा नारायणपुर विमानस्थलको विरोध गर्दै टरिगाउँ विमानस्थललाई नै स्तरोन्नति र धावनमार्ग विस्तारको माग गरेर पर्यटनमन्त्री भट्टराईलाई ज्ञापन पत्र बुझाएपछि विवादले नयाँ मोड लिएको छ । दाङमा अब नयाँ विमानस्थल त बन्नेमा ठूलो आशंका उब्जाइदिएको छ । साथै टरिगाउँ विमानस्थलमा पनि सहज रुपमा अगाडि बढ्नेमा प्रश्न उठेको छ ।

बिगतदेखि नै नेकपाका सांसद चौधरी र मुख्यमन्त्री पोखरेलबीच राम्रो सम्बन्ध छैन भनेर दाङमा चर्चा छ ।

पर्यटनमन्त्री भट्टराईलाई बुझाइएको ज्ञापन पत्रमा नेकपाका सांसदहरू कृष्णबहादुर महरा, जगप्रसाद शर्मा, रेखा शर्मा, शान्ता चौधरी, मेटमणि चौधरी, हीराचन्द्र केसी, विष्णु पौडेल, गंगा चौधरी सत्गौँवा र कोमल ओलीको नाम रहेको छ । ज्ञापन पत्रमा महरा र शर्माले हस्ताक्षर गरेका छैनन् । तर, महरा र शर्माले फोनमा सहमति जनाएको ज्ञापन पत्रमा उल्लेख छ ।

नेकपाकी सांसद गंगा चौधरी सत्गौँवाले ज्ञापन पत्रमा हस्ताक्षर गरेकी छैनन् । उनले नारायणपुर र टरिगाउँमा दश किलोमिटरभित्र दुई वटा विमानस्थल बनाउने कुराप्रति असहमति जनाएकी छिन् । ‘दश किलोमिटरको फरकमा राष्ट्रिय र अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरामा मेरो सहमति छैन’, उनले भनिन्, ‘दाङ जिल्लाभित्र दुई वटा विमानस्थल बनाउने नै हो भने एउटा देउखुरी उपत्यकामा हुनुपर्छ । एउटा दाङ उपत्यकाभित्र हुनुपर्छ ।’

नेकपाकी सांसद सत्गौँवाले नारायणपुर र टरिगाउँको विमानस्थल त्यहाँका जनताको सहमति र प्राधिवि हिसावले जहाँ उचित हुन्छ त्यहाँ एउटा विमानस्थल बनाउन सुझाव दिएकी छिन् । सत्गौँवाले देउवरीको राप्ती गाउँपालिका अन्तर्गत राप्ती नदीको किनारातिर रहेको जमीनमा विमानस्थल बनाउन आफूले प्रस्ताव गरेको बताइन् ।

Published : Thursday, 2020 June 4, 8:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया