कांग्रेस सांसद पन्थद्वारा सामाजिक सुरक्षासम्बन्धी विधेयक दर्ता

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभाका सांसद प्रकाश पन्थले सामाजिक सुरक्षासम्बन्धी गैर सरकारी विधेयक दर्ता गराएका छन् ।

सांसद पन्थले बिहीबार संसद सचिवालयमा गैर सरकारी विधेयक दर्ता गराएको कांग्रेस संसदीय दलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालको संविधानको धारा ११० ले दिएको अधिकार र राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ९४ बमोजिम सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न संघीय संसद सचिवालयमा गैर सरकारी विधेयक दर्ता गरिएको सांसद पन्थले बताए ।

‘सामाजिक सुरक्षा ऐन, २०७५ बमोजिम विभिन्न वर्गहरुले सामाजिक सुरक्षा भत्ता पाइरहेको वर्तमान अवस्थामा साठी वर्ष मुनिका एकल महिला (विधवा) र अतिअशक्त अपाङ्गता भएका व्यक्तिले भने नेपाल सरकार मन्त्रिपरिषदको निर्णयबाट उक्त सामाजिक सुरक्षा भत्ता विगतका वर्षहरूदेखि नै प्राप्त गरिरहेको सन्दर्भमा ऐनमा नै सो सम्बन्धी व्यवस्था गर्नु आवश्यक भएको छ’, पन्थले भनेका छन् ।

उनले सामाजिक सुरक्षा ऐन, २०७५ मा पहिलो संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद समक्ष प्रस्तुत गर्नु परेको बताए ।

समाजिक सुरक्षा ऐन संविधानमा व्यवस्था भएको मौलिक हक कार्यन्वयन गर्न बनेको महात्वपूर्ण मौलिक हकको ऐन समेत हो ।

Published : Thursday, 2020 June 4, 6:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया