घरभित्र थुनेर कर तिर भन्ने यो सरकार जनता मारा होः कांग्रेस नेतृ उपाध्याय

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् पूर्वसांसद महालक्ष्मी उपाध्याय ‘डिना’ले लकडाउनका बेला जनतालाई घरभित्र राखेर कर उठाउने सरकारको नीतिको बिरोध गरेकी छिन् ।

रिपब्लिका दैनिकसँग कुरा गर्दै कांग्रेस नेतृ उपाध्यायले ७२ दिनदेखि जनतालाई घरभित्र थुनेर कर उठाउन ताकेता गर्ने सरकारको नीति उचित नभएको बताइन् ।

‘राज्यलाई कर तिर्नुपर्छ । कर तिर्नु हुँदैन भनेर कसैले भनेको छैन’, उनले भनिन्, ‘साढे दुई महिनादेखि जनतालाई घरभित्र थुन्ने अनि कर तिर भनेर ताकेता गर्ने ?’

उनले उद्योगी, व्यवसायीहरूलाई कम्तिमा पनि कर तिर्न तीन महिनाको समय दिनुपर्ने बताएकी छिन् । लकडाउनले सबै उद्योगी र व्यवसायी मात्र नभइ सबै जनता समस्यामा परेको कांग्रेस नेतृ उपाध्यायले बताइन् ।

सरकारले कर तिर्ने समय केही समय बढाए पनि त्यो समय पर्याप्त नरहेको उपाध्यायको भनाइ छ ।

कांग्रेस नेतृ उपाध्यायले लकडाउनबाट समस्यामा परेका जनतालाई राहत दिने बेला झन् संकटमा पार्न खोजेको भन्दै आपत्ति जनाएकी छिन् ।

‘सरकारले जनतालाई राहत दिनुपर्ने बेला लकडाउनका बेला कर तिर भनेर तोकता गर्नु कुनै पनि तर्कले उचित छैन’, उनले भनिन्, ‘कोरोना रोकथाम र राहतका नाममा दश अर्ब खर्च भएको कुरा आएको छ । त्यो खर्चमा जनताले त राहत पाएको मैले त थाहा पाएन ? अनि कर तिर भन्ने ?’

उनले कोरोनाका नाममा खर्च भएको दश अर्बको सम्पूर्ण विवरण तथ्याङ्कसहित सार्वजनिक गर्न माग गरेकी छिन् । उनले कोरोनाका नाममा बम्हलुट गरेर राष्ट्रको ढुकुटी रित्याउन नपाइने बताएकी छिन् ।

झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले कर तिर्न तोकेता गरेपछि नेपाली कांग्रेसले औपचारिक रुपमै विज्ञप्ति जारी गरेर अवज्ञा गर्न अपील गरेको थियो ।

कांग्रेससहित सबै उद्योगी र व्यवसायीहरूको विरोधपछि जेठ २५ गते कर तिर्नुपर्ने सूचनाबाट कम्युनिस्ट सरकार हच्किएको थियो ।

Published : Thursday, 2020 June 4, 3:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया