काठमाडौंका १५ प्रहरी हिरासतमा, अनुसन्धान शुरु

काठमाडौं । अध्यागमन विभागले सुरक्षामा खटिएका १५ जना प्रहरीमाथि अनुसन्धान सुरू गरेको छ ।

ठगी कार्यका लागि विदेशी नागरिकलाई सघाएको आरोपमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीले १५ जना प्रहरीविरुद्ध अनुसन्धान शुरु गरिएको प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताए ।

उनीहरूमाथि विभागको हिरासतमा रहेका नाइजेरियाका नागरिक जेम्स एडी जेबीलाई फोन उपलब्ध गराएर ठगी कार्यका लागि सहयोग गरेको आरोप छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को अनुसन्धानमा सुरक्षामा खटिएका प्रहरीले सघाएको पाइएपछि विभागको सुरक्षामा रहेका सबै प्रहरीलाई नेपाल प्रहरीको २ नम्बर गणमा राखेर अनुसन्धान थालिएको पोखरेलले बताए ।

अधयागमन विभागको सुरक्षामा अर्को टोली पठाइएको छ । १ हप्ताअघि नाइजेरियाका नागरिक जेबीले हिरासतबाटै अनलाइनमार्फत साथी बनाएर ठगी धन्दा चलाएको सिआइबीमा उजुरी परेको थियो ।

अनुसन्धानका क्रममा उनले ह्वाट्स् एपको प्रयोग गरी साथी बनाएर विभिन्न लोभ देखाई पैसा माग्ने गरेको खुल्न आएको छ ।

आफू अमेरिकी सैनिक भएको र सिरियाको मिसनका बेला अपरेशन गर्दा ९० लाख डलर भेटिएकाले अमेरिका पठाउने अवस्था नभएको उल्लेख गरी नेपाल पठाउन लागेको भन्दै पैसा माग्ने गरेका थिए ।

Published : Wednesday, 2020 June 3, 7:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया