डडेल्धुराको क्वारेन्टाईनमा भारतबाट आएकी महिलाको मृत्यु

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा रहेको क्वारेन्टाईनमा एक जना महिलाको मंगलबार राति मृत्यु भएको छ ।

गन्यापधुरा गाउँपालिका वडा नम्बर १ को असिग्राम आधारभुत विद्यालय रैनाकोट, रुवाखोलामा रहेको क्वारेन्टाईनभित्रै ३० वर्षीय महिलाको मृत्यु भएको प्रहरी चौकी बडालका ईञ्चार्ज असई धनबहादुर बिष्टले बताएका छन् ।

मृतक महिलाको गन्यापधुरा गाउँपालिकाका वडा नम्बर २ स्थायी घर भएको हो । उनी जेठ १७ गते श्रीमानसंगै भारतको दिल्लीबाट आएर क्वारेन्टाईन बसेको ईञ्चार्ज विष्टले बताए ।

राति ११ बजेतिर शौचालय गएर फर्किएकी र सुत्ने स्थानमा पुग्दा एक्कासि रिगटा लाग्ने, जिउ काम्ने गरेको थियो ।

उनलाई उपचारका लागि एम्बुलेन्स मंगलबार बिहान १ बजे क्वारेन्टाईनस्थल पुगेको भए पनि बिरामी महिलालाई कसैले पनि नछोएरको र एम्बुलेन्सका चालक पनि सुरक्षा सामग्री प्रयोग नगरि गएकाले ती महिलालाई कसैले पनि एम्बुलेन्समा नराख्दा क्वारेन्टाईनमै मृत्यु भएको थियो ।

मृतक महिलाको कोरोना परीक्षणका गर्न स्वाब संकलनका लागि स्वास्थ्यकर्मीहरूको टोली क्वारेन्टाईनतर्फ गएको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आसुतोष श्रेष्ठले जानकारी दिए ।

Published : Wednesday, 2020 June 3, 9:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया