नेकपाको भीमकाय सरकारको बजेटले निरास बनायोः अनिता देवकोटा

काठमाडौं । नेपाली कांग्रेसकी सचेतक अनिता देवकोटाले सरकारले ल्याएको बजेटले जनतामा उत्साह ल्याउन नसकेको बताएकी छिन् ।

राष्ट्रिय सभाको सोमबार बसेको बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै सचेतक देवकोटाले कृषि र रोजगारीलाई प्राथमिकता दिनुपर्नेमा सरकारले त्यस्तो हुन नसकेको बताइन् । उनले कोरोना भाइरसको संक्रमण रोकथाममा विशेष ध्यान दिनुपर्ने भन्दै क्वारेन्टाइनको अवस्था अत्यनतै नाजुक रहेको बताइन् ।

‘संविधान निर्माणपछि नेकपाको भीमकाय सरकार बनेको छ’, उनले भनिन्, ‘समृद्ध नेपाल, सुखी नेपाली नारा दिएर सरकारले तेस्रो पटक बजेट प्रस्तुत गरेको छ । बजेटले गरिव, निमुखा, महिला, बालबालिकाहरूलाई छुन सकेको छैन ।’ उनले बजेट प्रचारमुखी रहेको भन्दै जनताको आँखामा छारो हाल्ने गरेर कार्यक्रमहरू ल्याइएको बताइन् ।

‘सुखी नेपाल निर्माण गर्न आधार तयार गर्न सकेन । कोरोना भाइरसबाट देश थिलो थिलो भएको छ’, उनले भनिन्, ‘त्रासले गर्दा विदेशबाट मानिसहरू फर्किरहेका छन् । कार्यान्वयन मुखी बजेट आउन सकेन ।’

‘उत्साह जगाउने र परिणामुखी बजेट आउन सकेन । राहत दिने बजेट छैन । राहत, रोजगारीमा बजेट आउनु पर्ने थियो’, कांग्रेस सचेतक देवकोटाले भनिन्, ‘कृषिलाई ध्यान दिनुपर्नेमा दिन सकेको छैन । कर बढाउने कार्य भएको छ । किसानले उत्पादन गरेको बस्तुलाई बजार व्यवस्थापन गर्न सकेको छैन ।’

‘मल र बीउमा कर लगाउने कुरा आपत्तिजनक छ’, उनले भनिन्, ‘प्रधानमन्त्री रोजागर कार्यक्रममा विगतमा दुरुपयोग भएको थियो । यस पटक बढेको छ । कार्यकर्ता पाल्ने कार्य मात्रै नहोस् ।’

Published : Monday, 2020 June 1, 9:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया