सामाजिक सञ्जालमा फेक भिडियो भाइरल

काठमाडौं । नेपाल–भारतबीच सीमा विवादले सम्बन्धमा समस्या देखिएको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नेपालसँगको सीमा विवाद उल्लेख गर्दै हालैमात्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकार छिमेकका लागि खतरा भएको आरोप लगाएका थिए ।

उनले ट्वीटबाट भारतमाथि गम्भीर आरोप लगाइरहँदा पाकिस्तानबाट सामाजिक सञ्जालमा नेपाल–भारतबीचको पछिल्लो अवस्थाबारे नियोजित तरिकाले प्रोपोगान्डा मच्चाउन थालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पाकिस्तान जिन्दावाद नामको ट्वीटर ह्याण्डलबाट १३ भारतीय सैनिकलाई नेपाली सेनाले नियन्त्रणमा लिएको भनी भिडियो पोष्ट गरिएको छ ।

भिडियोमा भारतीय सुरक्षा फौज र नेपाली अधिकारी देखिन्छन् । भिडियो पोष्ट गरी उर्दुमा लेखिएको छ, ‘यो भिडियोमा १३ भारतीय सैनिक नेपाली सेनाद्वारा नियन्त्रणमा लिइएका हुन् । यो भिडियोमा नेपाली सेनाका वरिष्ठ अधिकारी र कायर भारतीय सैनिकहरू देखिन्छन् ।’

भिडियो सन् २०१५ को नोभेम्बरको हो । त्यतिबेला भारतीय सुरक्षाकर्मी आपराधिक समुहको पिछा गर्दै नेपालको सिमाभित्र पसेपछि नियन्त्रणमा लिइएका थिए ।

पछि दुवै देशको सुरक्षाकर्मी र प्रशासन बसेर सीमा पारी फर्काइएका थिए । भिडियोमा यो विषय समेत उल्लेख छ ।

नेपाल–भारतबीच सिमा विवाद भइरहँदा हालैमात्र भएको जसरी पुरानो भिडियो राखेर दुई देशबीच सैन्य टकराव नै भएको जसरी अफवाह फैलाउन थालिएको छ ।

Published : Monday, 2020 June 1, 8:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया