देउवाकाे गृहजिल्लामा कांग्रेस नेताहरूकाे प्रशंसनीय कार्य, भाेका जनतालाई खान खुवाउँदै

डडेल्धुरा । नेपाली कांग्रेस डडेल्धुराले एनडी प्रकाश चटौत आपत्कालीन भोजन चुलोमार्फत डडेल्धुराका विभिन्न क्वारेन्टाईनमा रहेका व्यक्तिहरूको भोक मेटाउने कार्य गरेको छ ।

कोरोना रोगको महामारीले सीमाबाट उद्धार गरि विभिन्न क्वारेन्टाईनहरूमा राखिएका व्यक्तिलाई खाना खुवाउनका लागि सेवादल नै गठन गरेर खाना खुवाउने कार्य सञ्चालन गरिरहेको हो ।

वैशाख २७ गते औपचारिक रुपमा शुरु गरिएको आपतकालीन भोजन चुलो डडेल्धुरा जिल्लामा निकै सक्रिय रहेको छ । उद्धार गरि ल्याइएका वा अलपत्र अवस्थामा रहेका व्यक्तिहरूको खोजी गरेर निःशुल्क खाना खुवाउने कार्य भइरहेको स्वविय सभापति एवम् सेवा दलका सदस्य जगत ऐरले बताए ।

लकडाउनले होटेलहरू बन्द रहेका छन् । उनले भने, ‘काम विशेषले सदरमुकाम आएर अलपत्र परेका व्यक्तिलाई खाना खुवाउँदै आएका छौँ’, उनले भने, ‘क्वारेन्टाईनहरूमा भोकै रहेका व्यक्तिहरूलाई खाना खुवाउने गरेका छौँ ।’

सीमाबाट उद्धार गरिएका, ३–४ दिनसम्म भोकै रहेका व्यक्तिहरू क्वारेन्टाईनभित्र खाना वितरण गरि मानवता बचाउने अभियानअन्र्तगत नेपाली कांग्रेसले आपतकालीन भोजन चुलो सञ्चालन गरेको सेवादलका संयोजक टंक क्षेत्रीले बताए ।

उनले भने, ‘यो मानव सेवाको कार्यमा दिनप्रतिदिन समाजसेवीहरूको सहयोग प्राप्त भएकोले खाद्यान्न लगायतका अन्य कुराहरूको व्यवस्थापनमा सहज भएको छ ।’

वैशाख २७ गतेदेखि शुरू भएको आपतकालीन भोजन चुलोले दैनिक ८० जनाको हाराहारीमा खाना खुवाउँदै आएको सेवा दलका सदस्य क्षेत्रीले बताए ।

नेपाली कांग्रेस डडेल्धुराका सभापति एवं कर्णाली प्रदेशका सांसद कर्ण मल्लले वैशाख २७ गते एनडी प्रकाश चटौत आपलकालीन चुलोको शुभारम्भ गरेको बताएका छन् ।

शनिबार मात्रै विभिन्न क्वारेन्टाइनमा रहेका र सीमाबाट उद्धार गरि विभिन्न जिल्ला जान लागेका १ सय १० जनालाई खाना खुवाइएको थियो ।

डडेल्धुरा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो । कांग्रेसका युवाहरूले लकडाउनका कारण समस्यामा परेकालाई खाना खुवाएकोमा स्थानीयले प्रशंसा गरेका छन् ।

Published : Monday, 2020 June 1, 7:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया