कांग्रेस नेताको घरमा मध्यराति हतियारसहित काे प्रवेश गर्‍याे ? कारबाहीकाे माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले जेठ ९ गते पूर्वमन्त्री मोहमद अफ्ताब आलमको रौतहटस्थित निवासमा मध्यरातमा ५० भन्दा बढी व्यक्तिहरू हातहतियारसहित गई तोडफोड गरी आंतक सृजना गरेको कार्यप्रति घोर भर्त्सना गरेको छ ।

काठमाडौंमा शुक्रबार बसेको संसदीय दलको बैठकले घटनामा संलग्न व्यक्तिहरूले एम्बुलेन्स समेत लिएर गएको भन्दै हिंसाको योजनासहित गएको हुनुपर्ने ठहर गरेको छ ।

‘घटनामा संलग्न व्यक्तिहरू को थिए ? प्रहरी स्वयम् सादा पोशाकमा थिए वा डाका गुण्डाहरू थिए भन्ने हालसम्म प्रहरी प्रशासनले बताउन सकेको छैन’, कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘प्रहरी प्रशासनका साथै स्थानीय सरकारले समेत गैरजिम्मेवारपूर्ण तरिकाले अनविज्ञता जनाइरहेको छ’, कांग्रेसले भनेको छ ।

‘सो घटनाले स्वतन्त्रपूर्वक बाँच्न पाउने नागरिकको हकलाई समेत हनन गरेको छ र कानूनको ठाडो उल्लंघन भएको छ’, कांग्रेसको विज्ञप्तिमा भनिएको छ, ‘घटनाको तत्काल छानविन गरी दोषी उपर कारवाहीको लागि सरकार तथा सम्बन्धित निकायसँग यो बैठक जोडदार माग गर्दछ ।’

केही दिन अगाडि सादा पोशाकका प्रहरीहरूले कांग्रेस नेता आलमको निवासमा छापामारेको थियो । त्यस क्रममा झडप समेत भएको थियो ।

Published : Friday, 2020 May 29, 10:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया