रुकुम पश्चिम घटनाका दोषीलाई कारबाही गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले रुकुम पश्चिममा जाजरकोटका पाँच जनाको मृत्यु र एक जना बेपत्ता भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गरेको छ ।

काठमाडौंमा शुक्रबार बसेको कांग्रेसको संसदीय दलको बैठकले रुकुम पश्चिमको घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कारबाहीको माग गरेको हो ।

‘गत जेठ १० गते रुकुम पश्चिम चौरजहारी नगरपालिकाको सोतीमा पाँच जनाको मृत्यु, एक जना हालसम्म पनि वेपत्ता र पाँच जना गम्भीर घाइते हुने गरी भएको हिंसात्मक घटनाप्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दछ’, प्रमुख सचेतक खाँणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘जातीय भेदभाव तथा छुवाछुतको आधारमा भएको यस किसिमको अपराधिक घटनाको नेपाली कांग्रेस निन्दा एवं भर्त्सना गर्दै उक्त घटनाको सत्यतथ्य एवं न्यायपूर्ण छानविन गर्नका लागि संसदीय छानविन गठनका लागि सरकारसँग जोडदार माग गर्दछ’, खाँणले जनाएका छन् ।

कांग्रेसको संसदीय दलको बैठकले उक्त घटनामा ज्यान गुमाउने नवराज बिक, गणेश बुढा, टीकाराम सुनार, सन्दीप बिक र लोकेन्द्र सुनारप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।

कांग्रेसले उक्त घटनामा घाइते हुने सबै व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

Published : Friday, 2020 May 29, 9:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया