देशको अर्थतन्त्रलाई बलियो बनाएका कांग्रेसका पूर्वअर्थमन्त्री डा.महत बजेटबारे के भन्छन् ?

काठमाडौं । नेपालको अर्थतन्त्रलाई शक्तिशाली अवस्थामा पुर्‍याउने नेपाली कांग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा.रामशरण महतले बजेटमा इच्छा, आकांक्षा, महत्वाकांक्षा र आश्वासन धेरै रहेको टिप्पणी गरेका छन् ।

झण्डै दुईतिहाइ बहुमतको कम्युनिस्ट सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाद्वारा बिहीबार संसदमा प्रस्तुत गरिएको बजेटमाथि प्रतिक्रिया दिँदै डा.महतले बजेटमा आवश्यक कुरा पनि रहेको बताए ।

उनले भने, ‘मुख्य कुरा आगामी वर्षमा सम्पन्न हुने के–के हुन् त्यसमा जोड छैन । धेरै समय लाग्ने आयोजना पनि छन् ।’ पूर्वअर्थमन्त्री डा.महतले बजेट आश्वासनले भरिपूर्ण रहेको बताए ।

‘यसलाई कार्यान्वयन कसरी गर्न सकिन्छ ?’, उनले भने, ‘आगामी वर्षमा कार्यक्षमता कति बढ्छ यसमा आशंका गर्ने ठाउँ धेरै छन् ।’ ‘हामीले भनेको भन्दा एक सय अर्बजति बजेटको आकार बढेको छ’, डा.महतले भने ।

‘आन्तरिक ऋण र बाह्य ऋण बढाइएको छ । यसले भावी पुस्तालाई बोझ पर्छ’, उनले भने, ‘कोरोनालाई सम्बोधन गर्न धेरै कुरा उल्लेख छन् ।’ पूर्वअर्थमन्त्री डा.महतले बजेट कार्यान्वयन कसरी गर्ने भन्नेमा आशंका रहेको दोहोर्‍याए ।

‘यी–यी काम गर्छु भन्नु राम्रो हो’, उनले भने, ‘बजेट कार्यान्वयन कसरी गरिन्छ भन्नेमा सरकारमा समस्या देखिन्छ ।’ कम्युनिस्ट सरकारको प्रवृत्ति आश्वासन धेरै बाँड्नेखालको रहेको उनले बताएका छन् ।

सार्वजनिक खर्च पुनरावलोकन आयोगका सिफारिसहरू कार्यान्वयन गर्ने कुरा सकारात्मक रहेको उनले बताए । बजेटले अनावश्यक खर्च घटाउने भन्ने कुरा राम्रो पक्ष भएको उनले बताएका छन् । डा.महतले त्यो कुरा व्यवहारमा अभ्यास देखिनुपर्ने बताए ।

उनले चालू खर्चको अनुपात कुल खर्चमा पुँजीगत खर्चको अनुपात झन् घटेर २४ प्रतिशतमा आएको बताए । ‘पहिले २६–२७ प्रतिशत थियो । चालू खर्चको अनुपात झन् बढेको छ’, डा.महतले भने, ‘विवादास्पद सुकुम्बासी आयोगमा पाँच सयजति राजनीतिक नियुक्ति गर्ने र अर्बौं खर्च गर्ने भनिएको छ, जुन आवश्यक थिएन ।’

प्रशासनिक संयन्त्रले नै सुकुम्बासी आयोगसम्बन्धी काम गर्न सक्ने अवस्था रहेको उनले बताएका छन् । डा.महतको खुल्ला अर्थनीतिका कारण नेपालको अर्थ व्यवस्थाले उचाइँ लिएको हो । कांग्रेसका नेता डा.महतलाई सफल अर्थमन्त्रीका रुपमा हेरिन्छ ।

Published : Friday, 2020 May 29, 8:33 am

फेसबुकबाट तपाईको प्रतिक्रिया