कांग्रेस नेता हुमागाइँद्वारा काभ्रेमा स्वास्थ्य सामग्री हस्तान्तरण

बनेपा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् ट्रेड युनियन विभाग प्रमुख शिवप्रसाद हुमागाइँले कोरोना भाइरसको संक्रमणले करीव ६० लाख नेपालीहरूलाई बेरोजगार बनाउने बताएका छन् ।

काभ्रेपलाञ्चोक जिल्लामा क्रियाशील पत्रकारहरूलाई मंगलबार प्रेस ज्याकेट र एन ९५ माक्स वितरण कार्यक्रममा बोल्दै उनले कोरोनाले श्रमजीवीहरूको रोजगार धरासायी हुन लागेको बताए । उनले रोजगार दाताहरू मजदुरका समस्याप्रति गम्भीर हुनुपर्ने बताए ।

चार महिनादेखि क्वारेन्टाइन बनाएको समाचार बाहिर आएपनि अहिलेसम्म डब्लुएचओको मापदण्डमा क्वारेन्टाइन नबनेकोप्रति गुनासो व्यक्त गरे ।

काभ्रेका पत्रकारहरूलाई उनले प्रेस ज्याकेट र एन ९५ माक्स वितरण गरेका छन् ।

खाध्य संकट कसरी समाधान गर्ने हो यसबारे बेलैमा सोच्नु पर्ने उनले बताए । ‘मुलुक चल्ने भनेको राजस्व, ऋण, अनुदान, रेमिटेन्सका आधारबाट हो’, उनले भने, ‘यी चार वटा क्षेत्र प्रभावित भएका छन् । नेपाल लामो समयको जोखिममा जाँदैछ ।’

कार्यक्रममा कांग्रेसका क्षेत्रीय सह–सभापति एवम् प्रदेश सभा १ ‘ख’ सभापति रमेशप्रसाद हुमागाइँ, प्रदेश सभा उम्मेदवार सुन्दरमणि आचार्य, महासमिति सदस्य हेम लामा, ट्रेड यूनियन जिल्ला उपाध्यक्ष सन्तोष गौतम, जिल्ला सदस्य समिर ब्याञ्जु, नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोकका अध्यक्ष कपिल कोइरालालगायतको उपस्थिति रहेको थियो ।

यसअघि जिल्लाका १३ वटै स्थानिय तहमा पुगेर प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्षहरूलाई स्वास्थ्य चौकीहरूका लागि पीपीइ सेट, माक्स वितरण गरेका थिए ।

कोरोना रोकथामको स्वास्थ्य सामग्री पाँचखाल नगरपालिकाका मेयर महेश खरेल, धुलिखेलका उप–मेयर विमला शर्मा चौंलागाई, पनौती नगरपालिकाका मेयर भीम न्यौपाने, बनेपाका मेयर लक्ष्मीनरसिंह बादे, नमोबुद्ध नगरपालिकाका मेयर टिपी शर्मा तिमल्सिना, मण्डनदेउपुरका मेयर टोकबहादुर वाइबालाई कांग्रेस नेता हुमागाइँले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

उनले बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, चाैँरीदेउराली गाउँपालिकाका अध्यक्ष दीनानाथ गौतम, रोशी गाउँपालिकाका अध्यक्ष डीबी लामा, भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवर, तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिंह तामाङ, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छामान जिम्बा, खानीखोला गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खुलाललाई पनि स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेका छन् ।

महामारी रोकथाम तथा नियन्त्रणमा जिल्लाभित्र रहेका सबै स्वास्थ्य संस्थाहरूका लागि थोरै भए पनि सहयोग पुगोस भन्ने हेतुले आवश्यक स्वास्थ्य सामग्री ब्यवस्थापन गरिएको कांग्रेस नेता हुमागाइँले बताए ।

Published : Wednesday, 2020 May 27, 8:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया