भारतबाट आएका नेपालीहरूद्वारा ओलीविरुद्ध नारावाजी, भोकले एकको मृत्यु

जनकपुरधाम । भारतबाट आएका नेपाली नागरिकहरू कम्युनिस्ट सरकारका प्रधामन्त्री खड्गप्रसाद ओलीविरुद्ध चर्को नारावाजी गर्दै नेपाल प्रवेश गरेका छन् ।

बुधबार भारतबाट आएका नेपाली नागरिक धनुषाको जटही नाकाबाट नेपाल प्रवेश गरेका हुन् । उनीहरूले प्रधानमन्त्री ओलीविरुद्ध नारावाजी गरेका हुन् ।

सयौंको संख्यामा रहेका उनीहरूले प्रधानमन्त्री ओली मुर्दावाद, केपी ओली हाय हाय जस्ता नारा लगाउँदै जनकपुरतर्फ प्रस्थान गरेका हुन् ।

धनुषा प्रशासनले नेपाल भारतको सीमामा आएका नागरिकलाई जिल्ला प्रवेश गराउने निर्णयपछि दिनहुँ सयौंको संख्यामा नागरिक नेपाल आउन थालेका छन् ।

घर फर्कदै गर्दा एक नेपालीको जटही नाकामा मृत्यु समेत भएको छ । भोकका कारण उनको मृत्यु भएको प्रशासनले जनाएको छ । मृत्यु भएका ती युवक धनुषाका हुन् ।

युवकको भोकले मृत्यु भएपछि आक्रोसित नागरिकले प्रधानमन्त्री ओलीविरुद्ध नारावाजी गर्दै क्वारेन्टाइनस्थलबाट जनकपुरका लागि प्रस्थान गरेका छन् ।

स्थानीय प्रशासनले सुरक्षाकर्मी पठाएर उनीहरूलाई धनुषाको नगराइनमा रोकेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । उनीहरूले सरकारले आफ्नो नागरिकको उचित व्यवस्थापन गर्न नसकेको आरोप लगाएका छन् ।

३–४ दिनदेखि जटही नाकामा भारतबाट आएर आफ्नै देशमा अलपत्र परेका व्यक्ति भोकै बस्न बाध्य भएका छन् ।

जिल्ला प्रशासन कार्यालय धनुषाले बिहान १० र साँझ ६ बजे बसबाट सम्बन्धित ठाउँमा पठाउने गरेको छ ।

Published : Wednesday, 2020 May 27, 1:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया