अन्यत्र विवाह गर्न खोजिदिएपछि केटीले केटालाई बोलाइएकी हुन्ः गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले रुकुम पश्चिम र जाजरकोट घटना प्रकरणका दोषीलाई हदैसम्मको कारबाहीका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबार बसेको संसदको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै अन्तरजातीय प्रेम विवाह र घटनामा दोषी पाइनेलाई जन्मकैदसम्मको व्यवस्थाका लागि आफूले विशेष पहल लिने बताए ।

‘नेपालमा सबैभन्दा ठूलो सजय भनेको जन्मकैदको व्यवस्था छ’, उनले भने, ‘रुकुम पश्चिमको घटनाका दोषीलाई जन्मकैद हुने गरेर अनुसन्धान हुनेछ । अन्तिम फैसाला गर्ने भनेको न्यायालयको कुरा हो ।’

गृहमन्त्री थापाले तीन जनाको मृत्यु र तीन जना बेपत्ता भएको यो घटना प्रकरणको निश्पक्ष छानविनका लागि गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति बनाएको बताए ।

उनले संसदीय छानविन समिति बनाउने विषय मन्त्रालयको क्षेत्राधिकारभित्र नपर्ने भन्दै संसदले चाहेमा छानविन समिति बनाउन सक्ने उल्लेख गरे ।

सांसदहरूले नवराज बिकको हत्यासहितका व्यक्तिको हत्या प्रकरणका दोषी वडाध्यक्ष डम्बरबहादुर मल्ललाई छाडेको भनेर सरकारको आलोचना गरेका थिए ।

तर, गृहमन्त्री थापाले घटनाका दोषीहरू वडाध्यक्षसहित १२ जनालाई थुनामा राखेर अनुसन्धान अगाडि बढाइएको बताए । उनले भने, ‘वडाध्यक्षलाई छाडेको भन्ने सूचना आएको छैन । वडाध्यक्षसहित १२ जना प्रहरी हिरासतमा छन् । पछिल्लो पटक छाडेको हो भने सूचना छैन ।’

‘घटनाका बारेमा जाहेरी नआएको भन्ने कुरा हामीलाई जानकारी आएको छैन । गृहले छानविन अगाडि बढाएको छ’, उनले भने, ‘जिल्ला तहबाट पनि छानविन पनि शुरु भएको छ ।’

मन्त्री थापाले घटना वा अपराधलाई ढाकछाप हुन्छ कि भनेर सांसदहरूको चासो र चिन्ताप्रति आफू सचेत रहेको बताए । ‘अपराधलाई ढाकछोप गर्न गृह मन्त्रालयले छानविन समिति बनाएको होइन’, उनले भने ।

‘भेरीमा किन हामफाल्नु प¥यो ? भन्ने कुरा भयो । झै–झगडा र लखेटालखेट हुँदा युवाहरू ज्यान जोगाउन नदीमा हामफालेको कुरा हुनुपर्छ’, मन्त्री थापाले भने, ‘जाजरकोटबाट १९ जना गएको र एक जना बीच बाटोबाटै फर्किएको जानकारी आएको छ’, उनले भने, ‘त्यो वडामा ५०–६० जना केटी पक्षका थिए । उनीहरूले आक्रमण गरेको जानकारी आएको छ । दोषीलाई आजीवन काराबासको व्यवस्था छ । कडाभन्दा कडा कारबाही हुनेछ । अन्तिम फैसला न्यायालयले गर्नेछ ।’

गृहमन्त्री थापाले क्षतिपूर्तिको विषय छानविन समितिको प्रतिवेदन आयो भने निर्णय गर्ने बताएका छन् ।

‘यो घटनालाई राजनीतिक करण गर्ने हो भने छानविनमा बाधा पुर्‍याउँछ । हामी निस्पक्ष छानविन र कारबाहीका लागि प्रतिवद्ध छौँ’, थापाले भने, ‘केटा पक्ष, केटी लिन गएका थिए ।

केटीले बोलाएको केटा पक्ष गएका हुन् भन्ने जानकारी आएको छ । परिवारले अन्यत्रै विवाह गर्न खोजेको भनेर केटीले केटालाई बोलाएको देखिएको छ ।’

Published : Tuesday, 2020 May 26, 3:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया