ओलीको जालमा वामदेव, वामदेवको यात्रामा काँडैकाँडा

कौशलकुमार भट्टराई

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) को सचिवालयको बहुप्रतिक्षित बैठक यही बैशाख २० गते सम्पन्न भएको छ । सो बैठक वर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई प्रधानमन्त्री तथा सो दलको अध्यक्षसमेतबाट पदच्यूतको अवस्थासम्म पुग्ने आंकलनविपरित ओलीले आफ्नो जालमा सबैलाई पार्न सफल भएका छन् । खासगरी पद, पैसा र प्रतिष्ठाका लागि सिद्धान्त, निष्ठालाई तिलाञ्जलि दिन तयार हुने कम्युनिष्ट नेताहरुको चरित्र बुझेका ओलीले त्यही कुरालाई आधार बनाई आफ्नो सत्तायात्रालाई निरन्तरता दिन सफल भएका छन् । फुर्के स्वभावका वामदेव गौतमलाई विगतमा पटक पटक धोका दिएर आज्जित बनाएका ओलीले उनै वामदेवलाई मोहरा बनाएर आफ्नो सत्तायात्रालाई निरन्तरता दिन सफल भएका हुन् ।

नौ सदस्यीय सचिवालयमा अल्पमतमा रहेका भनिएका ओलीले सांसद नै नभएका वामदेवलाई प्रधानमन्त्री बनाउने भन्ने आश्वासन यसअघिको बैठकमा राखेपछि पत्याइहाल्ने स्वभावका वामदेवले पनि प्रधानमन्त्री बन्ने सपना देखिरहेका छन् । विगतमा ओलीबाट पटक पटक धोका पाएका गौतम नै उपयुक्त पात्र हुन सक्छन् भनी ओलीले ‘वामदेव अस्त्र’ को प्रयोग गर्दा त्यो सही ठाउँमा लागेको महसुस ओली स्वयम्ले गरेका छन् । ओलीले सधैं सपनामात्र देखाउँदै वामदेवलाई भर्‍याङको रुपमा प्रयोग मात्र गर्दै आएको कुरालाई वामदेवका हितैसीहरुले स्मरण गराए पनि आफ्नो जीवनमा एक पटक भए पनि प्रधानमन्त्री बनेरै छाड्ने इच्छा लिएका वामदेवले कानूनी, व्यावहारिक पाटोलाई विर्सिएर ओलीले प्रधानमन्त्री बनाइदिने सपना पुनः देख्न पुगेका छन् ।

ओलीलाई पहिलो पल्ट प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका निभाएका वामदेवलाई पछिल्लो निर्वाचनबाट निर्वाचित गराई अहिले ओली प्रधानमन्त्री बनेको ठाउँमा वामदेवलाई प्रधानमन्त्री बनाउने सहमति भएको भनी वामदेव स्वयम्ले भन्दै आएका छन् । त्यसरी प्रधानमन्त्री बनाउने आश्वासन पाएर निर्वाचनमा होमिएका वामदेवले वर्दियामा निर्वाचनताका आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत पनि गरेका थिए । त्यो बेला उक्त निर्वाचन क्षेत्रमा करिब २६ हजार मतले तत्कालीन ने.क.पा. (एमाले) र ने.क.पा.(माओवादी केन्द्र) को गठबन्धनले विजयी बन्ने भनी मख्ख परेका वामदेव निर्वाचन परिणाम आएपछि मात्र झस्किन पुगेका थिए । उनी नेपाली कांग्रेसका उम्मेदवार भन्दा सात सय बढी मतान्तरले पराजित भएका थिए ।

निर्वाचन परिणामपश्चात आफूलाई प्रधानमन्त्री बनाउनु पर्ला भनी ओलीले अन्तर्घात गरी आफूलाई हराएको भन्दै त्यसको छानविन गर्न माग गर्दै आएका छन् । यसरी ओलीले धोका दिएपछि ओली कित्ताबाट बाहिर पुगी कचकच गर्दै आएका वामदेवलाई शान्त पार्न ओलीले दलको विधानमा व्यवस्था नै नभए पनि ‘उपाध्यक्ष’ बनाई भूमिकाविहीन अवस्थामा थन्काइदिएका छन् । ‘उपाध्यक्ष’ बनाइएको समयमा फेरि ओलीको गुनगान गाउन थालेका वामदेवले कुनै भूमिका नपाएको तथा राष्ट्रियसभाको सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधानमा संशोधन गरी आफूलाई राष्ट्रियसभाको सदस्य बनाउनुपर्ने माग उनले राखेका थिए । ओलीलाई वामदेव घाँडो हुने देखी उनको कुरालाई सही भन्दै ने.क.पा.को सचिवालय बैठकले त्यो बेला वामदेवलाई राष्ट्रियसभामा लान भनी निर्णय गरेको केही समयमा नै ओलीले उनलाई राष्ट्रियसभामा लान नसक्ने भनी आफ्नो निर्णय सुनाएका थिए । ओलीको यो निर्णयबाट वामदेव फेरि चिढिन पुगेका थिए र पछिल्लो समय ओलीइतरको गठबन्धनमा सक्रिय भई ओलीलाई राजीनामा गरी बालकोटमा गई बस्न सुझाएका थिए । वामदेवले दिएको सुझावले आगो भएका ओलीले उनै ‘लोभी स्वभाव’ का वामदेवलाई प्रधानमन्त्री बनाउने आश्वासन दिएर आफूइतरको गठबन्धनलाई तत्कालका लागि तितरवितर पार्न सफल भएका छन् ।

वामदेवलाई आफ्नो जालमा पार्न सफल भएका ओलीले सचिवालयको बैठकबाट ‘ओलीले आत्मालोचना गर्दै उपयुक्त समयमा वामदेव गौतमलाई प्रतिनिधिसभामा ल्याउने’ भन्दै त्यसपछि उनलाई प्रधानमन्त्री बनाउने भनी वामदेवसँगको व्यक्तिगत भेटमा आस्वस्त पारेका थिए । यसरी ओलीको जालमा परेका वामदेव गौतमको आगामी यात्रा भने काँडैकाँडाको अर्थात असहज देखिन्छ । उनको आगामी यात्रा असहज हुनेमा निम्न कारणहरु रहेका छन् :

– वामदेव विभिन्न समयमा भकुण्डोको रुपमा प्रयोग हुँदै आएका पात्र हुन् । उनलाई भ¥याङ बनाएर अरु माथि उक्लिने तथा उक्लिएपछि त्यो भ¥याङलाई लडाइदिने प्रवृत्तिको भुक्तभोगी हुन् वामदेव स्वयम् । त्यसैले अबको यात्रामा पनि उनी प्रधानमन्त्री बन्ने आशामा ओलीको भ¥याङ बनिरहनुपर्ने देखिएको छ । दलको स्थायी समितिको बैठक होस् वा अन्य जुनसुकै बैठकमा पनि ओलीलाई बहुमतमा पार्नका लागि उनी खटिरहनु पर्ने अवस्था रहन्छ ।

– कित्ता परिवर्तन गरिरहने वामदेवको स्वभावका कारण ओली पक्ष र ओलीइतर पक्ष दुवैतिरबाट उनलाई शंकाको घेरामै राखेर हेर्ने संभावना रहिरहन्छ । त्यस्तो अवस्थामा न वामदेवले अरुसँग खुलेर कुरा गर्न सक्छन् न त अरुले उनसँग ।

– संघीय संसद् (प्रतिनिधिसभा) को सदस्य बनाएर उनलाई प्रधानमन्त्री बनाउने कुरा पनि सहज कुरा होइन । यसअघिको निर्वाचन हारिसकेका वामदेवमा नैतिकता हुँदा उनी अर्को चुनावसम्म पर्खिएर बस्नु उचित मानिने अवस्थामा उनी उपचुनाव गराएर फेरि अनावश्यक चुनावमा होमिन पुगेका खण्डमा त्यसले जनस्तरमा राम्रो सन्देश जान नसक्ने अवस्था देखिन्छ । उनले संघीय संसद्को सदस्य बन्ने नै हो भने त्यसका लागि धेरै खड्गोहरु पार गर्नुपर्ने हुन्छ । पहिलो कुरो त उनका लागि कुनै निर्वाचित सदस्यले ठाउँ खाली गरिदिनुपर्ने हुन्छ । त्यसरी ठाउँ खाली भएको अवस्थामा निर्वाचन आयोगले सबै प्रक्रिया पूरा गराएर मात्र निर्वाचन गराउन सक्छ जसका लागि लामो प्रक्रिया तथा समय पनि लाग्ने गर्दछ । त्यसरी निर्वाचनमा उम्मेदवार बनेको खण्डमा पनि निर्वाचन क्षेत्रमा उम्मेदवारका रुपमा खटिनुपर्ने तथा निर्वाचित हुनुपर्ने हुुन्छ ।

– कुनै निर्वाचन क्षेत्रमा जाँदा त्यो निर्वाचन क्षेत्रबाट हाल निर्वाचित भएका सांसद्ले कुन मुखले राजीनामा गर्ने, स्थानीय उम्मेदवारलाई निर्वाचित गराउन खटेका नेता कार्यकर्ताले कुनै व्यक्तिको इच्छालाई पूर्ति गर्नका लागि गरिएको निर्वाचनमा मतदातासँग पुनः मत माग्ने आधार पनि गुमेको अवस्था हुन्छ । त्यसमाथि राजीनामा गर्न बाध्य बनाइएका निवर्तमान सांसद्ले पनि वामदेवलाई पूर्णरुपमा साथ दिने संभावना कमै रहन्छ किनकि वामदेवले सो क्षेत्रमा जितेर जरा गाडेको अवस्थामा आप्mनो राजनीतिक भविष्य नै समाप्त हुने खतरा उनले देख्नु स्वाभाविकै हो ।

– प्रधानमन्त्री बनाइनका लागि भनी वामदेवलाई उम्मेदवार बनाइएको अवस्थामा स्थानीयले त्यसलाई स्वीकार्नै पर्छ भन्ने छैन । भक्तपुरमा हालै भएको प्रदेशसभा तथा धरान उपमहानगरपालिकाको हालै सम्पन्न उपनिर्वाचनमा ने.क.पा.ले पहिले पाएको मतलाई आधार मान्दा जित्नका लागि कुनै प्रयास नै गर्नु पर्ने अवस्था नरहेको स्थितिमा पनि अनेक प्रयास गर्दा पनि जित निकाल्न सकेन । स्थानीय मतदाताले त्यसलाई नरुचाएको अवस्थामा माथिबाट नेताहरुले मात्र चाहेर नहुँदो रहेछ भन्ने यो पछिल्लो उदाहरण हो ।

– ओलीले हालको समस्या समाधानका लागि वामदेवलाई अघि सारे पनि अब चाँडौमा आगामी मंसिरमा हुने उपनिर्वाचनसम्म पुग्दा कोशीमा धेरै पानी बगिसकेको हुनेछ । ओली अहिले बाध्यतामा परेको अवस्थामा आपूm प्रतिकुलको निर्णय गर्न बाध्य भए पनि उक्त निर्वाचनमा वामदेवलाई निर्वाचित गराउन लागि नै पर्छन् भन्ने देखिन्न । ओली आफैं राजनीतिमा चतूर खेलाडी हुन् भने ओली पक्षका नेता कार्यकर्ताहरु ओलीको विकल्प देख्न त के सुन्न पनि नचाहने अवस्थामा छन् । यस्तो अवस्थामा ओली तथा ओली पक्षले वामदेवलाई अबको उपनिर्वाचनमा पनि घात गरी उत्तानो पारिदिने संभावना प्रवल छ । फेरि पनि हराउन सकिएका खण्डमा ‘न रहे बाँस, न बजे बाँसुरी’ को अवस्था आउने भनी ओली पक्षीय नेता कार्यकर्ताहरुले वामदेवको विरुद्धमा भित्रभित्रै अनेक खेल खेल्ने संभावना पनि उत्तिकै रहन्छ ।

– वामदेवको पछिल्लो कित्ता परिवर्तनबाट ने.क.पा.का अर्का अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालको समूह अहिले अल्पमतमा पुगेको छ । ओलीलाई प्रधानमन्त्री तथा अध्यक्ष दुवैबाट च्यूत गर्ने आफूहरुको खेलमा वामदेवका कारण अन्तिममा हिस्स पर्नुपरेको अवस्थालाई त्यो समूहले पनि वामदेवलाई ‘देखाइ दिने’ अवसर खोजी रहेको अवस्था छ । त्यसैले उक्त उपनिर्वाचनमा यो समूहले पनि वामदेवलाई साथ दिने भन्दा पनि हराउने कार्यका लागि भूमिका निर्वाह गर्ने संभावना कायमै रहन्छ ।

– ओली नेतृत्वको वर्तमान सरकार एकदमै अलोकप्रीय बनेको छ । सरकारका काम, कारबाहीबाट जनता आजित भएका छन् । यस्तो अवस्थामा आवधिक निर्वाचन भएको अवस्थामा समेत ने.क.पा.का उम्मेदवारले विजयका लागि धेरै नै मेहनत गर्नुपर्ने हुन्छ । त्यसमाथि वामदेवका विरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसका उम्मेदवार को हुने भन्ने कुराले महत्वपूर्ण भूमिका निभाउने देखिन्छ । यसैगरी अन्य प्रतिपक्षी दलहरुले पनि सरकार विरुद्ध जनमत छ भन्ने देखाउनका लागि प्रतिपक्षी दलको उम्मेदवारलाई समर्थन गर्ने संभावना रहन्छ । त्यसमाथि कांग्रेसको उम्मेदवार स्थानीय भएको खण्डमा गौतमले ‘टुरिस्ट’ उम्मेदवार भन्ने आक्षेपको सामना पनि गर्नुपर्ने हुन्छ ।

– वामदेवलाई भावी प्रधानमन्त्रीका रुपमा भनी प्रचार गरिए पनि त्यसलाई स्थानीय जनताले रुचाउनै पर्छ भन्ने केही हुन्न । वामदेवले आफ्नो जिल्ला बर्दियामा चुनाव लड्दाताका नै भावी प्रधानमन्त्री भनी प्रचार गर्दा त जिल्लाका क्षेत्रबासीले नपत्याएको अवस्थामा अर्को जिल्लाका मतदाताले त्यसलाई पत्याउनु पर्छ भन्ने पनि देखिंदैन । त्यसमाथि वामदेव प्रधानमन्त्री बनेकै अवस्थामा पनि उनको कार्यकाल बढीमा एक डेढ बर्षको हुनसक्ने अवस्थामा जिल्ला तथा क्षेत्रको विकास निर्माणमा उनको योगदान पुग्नेमा पनि मतदाताले खासै उत्साही बन्नुपर्ने अवस्था पनि देखिन्न । बरु आफ्नो जिल्लाको नभई केन्द्रीयस्तरको नेता वामदेव भएका कारण जिल्लाका नेता कार्यकर्ताहरुको सहज पहुँच भोलिका दिनमा झनै टाढाको विषय बन्न पुग्ने देखिन्छ ।

यसरी माथिका अवस्थाहरुलाई ख्याल गर्ने हो भने वामदेवलाई हालको संघीय संसदमा पुगी प्रधानमन्त्री बन्न सहज अवस्था छैन । वामदेवका यात्रामा जताततै काँडैकाँडा रहेको अवस्था देखिन्छ । (लेखक भट्टराई ‘नयाँ विमर्श’ साप्ताहिकका सम्पादक हुन्)

Published : Sunday, 2020 May 3, 12:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया