ओली प्रवृत्तिलाई चिनौं र इतिहासबाट छिटो विदा गरौं

डा.बाबुराम भट्टराई, पर्वप्रधानमन्त्री

यो भष्मासुर प्रवृत्ति होस्

हिन्दू मिथकमा भष्मासुर भन्ने राक्षसले महादेवबाट उसले जसको टाउकोमा हात राख्यो उ जलेर भष्म हुने वरदान पाउँछ ! तर उसले पछि ऋषिहरू– कुनै शास्त्रमा महादेव स्वयंको टाउकोमा हात राख्न खोजेपछि विष्णुले अति सुन्दर मोहिनी रूप धारण गरेर उसलाई नृत्यमा लठ्याउँदै आफनै टाउकोमा हात राख्न लगाएर उसको वध गर्छन् ! ओली प्रवृत्तिले पनि अहिले नेपाली जनता र नेकपा पार्टीको वरदानले सत्तामा पुगेर त्यसको चरम दुरूपयोग गर्दै आफ्नै पार्टीका नेता, सांसद, विपक्षी दल, मिडिया, नागरिक अभियन्ता र आम जनता सबैको टाउकोमा हात राख्ने र आतंकित पार्ने हर्कत गरिरहेछ ।

यो हिटलर प्रवृत्ति होस्

जर्मन चान्सलर हिट्लरले कथित आर्य नस्लका शुद्ध जर्मन बाहेक यहूदी लगायत अन्य प्रति चरम घृणा र त्यसको जगमा जर्मन अन्धराष्ट्रवादको क्षणिक उन्माद जगाएर सत्ता प्राप्त गर्ने र अन्ततस् दोश्रो विश्वयुद्ध जन्माएर करोडौं मान्छेको ज्यान लिएको इतिहास ताजै छ।नेपालमा पनि ओली प्रवृत्तिले मधेसी लगायतका उत्पीडित जातिरसमुदायप्रति चरम घृणा र त्यसको जगमा एकल जातीय अहंकारवाद तथा अन्धराष्ट्रवादको खाँडो जगाएर सत्तामा पुग्ने र अहिले चौतर्फी वितण्डा मच्चाएर देशका सबै लोकतान्त्रिक संस्था ध्वस्त पार्दै र राज्यको अपराधीकरण गर्दै चरम संकटको स्थिति सिर्जना गरिरहेछ ।

यो स्टालिन प्रवृत्ति होस्

रूसी बोल्सेभिक क्रान्तिमा लेनिन पछिको अतुलनीय योगदान गरेका स्टालिनले सत्तामा पुगेपछि सम्पूर्ण शक्ति आफ्नो हातमा केन्द्रित गरेर कम्युनिष्ट पार्टीका सबै विधिविधान र आन्तरिक जनवाद नष्ट गर्दै आफ्ना प्रतिद्वन्द्वी सबैको भौतिक सफाया गरेका थिए र अदूरदर्शी र लहडी आर्थिक नीति (मुख्यतः कृषि क्षेत्रमा) लिएर लाखौं जनता भोकमरीले मर्ने स्थिति ल्याएका थिए ।

नेपालमा ओली प्रवृत्तिले झापा आन्दोलनमा चौध वर्ष जेल बसेको जस भजाएर पार्टीभित्रको सत्ता हत्याउने र पार्टी तथा राज्यको सत्ता प्राप्त गरेपछि पार्टी र राज्यका सबै विधि(प्रणाली भत्काएर निरंकुश बन्ने, पार्टीभित्र र वाहिरका विरोधीहरूमाथि विविध ढंगले दमन गर्ने, स्वेच्छाचारी र लहडी पाराले विकासका सपना बाँड्ने तर गलत नीति अवलम्बन गरेर देशमा चरम वेरोजगारी लगायत आर्थिक संकट निम्त्याउने, कोरोना संकटको वेला पार्टी फुटाउने खेलमा लागेर चरम गैजिम्मेदारी र असंवेदनशीलता प्रदर्शन गर्ने काम गरिरहेछ ।

यो चाउचेस्कु प्रवृत्ति होस्

पूर्वी युरोपेली ‘कम्युनिष्ट’ देश रूमानियाका कम्युनिष्ट पार्टी सुप्रीमो तथा राष्ट्रपति निकोलाइ चाउचेस्कु र उनकी पत्नी तथा उपराष्ट्रपति एलिना चाउचेस्कुले कम्युनिष्ट पार्टी र सर्वहारावर्गको आवरणमा यति धेरै भ्रष्टाचार, विलासिता (उनको दरवार विश्वकै सबभन्दा ठूलो भवनमध्येमा गनिन्छ), फजुलखर्च, स्वेच्छाचारिता, आफन्त र आसेपासेवाद, मनपरीतन्त्र गर्थे र पार्टी नेता र कार्यकर्ता तथा जनता यति निरीह, लाचार, पीडित थिए कि अन्ततः जनता र पार्टी कार्यकर्ता नै खुला विद्रोहमा उत्रिएर उनीहरूको अन्त्य गर्नुपरेको थियो ।

नेपालमा ओली प्रवृत्तिले हुर्काएको यति प्रकरण र ओम्नी प्रकरण लगायतका अनगिन्ती भ्रष्टाचार, राष्ट्रपति र प्रधानमन्त्रीको फजुल खर्च, विलासी शैली, ढाँटबाँट, आसेपासेको बाक्लो घेरारउदण्ड शैली, मदन भण्डारी फाउन्डेशन लगायतका अनगिन्ति फाउन्डेशन, एनजीओ, आइएनजीओको विशाल तथा अपारदर्शी आर्थिक साम्राज्य एकातिर र अर्कोतिर संवैधानिक लगायत राज्यका अंगहरूको निरीहता, आम पार्टी कार्यकर्ता तथा जनताको दीनहीन अवस्था सबैको सामु छर्लंग छ ।

अति भएपछि खति हुन्छ भनिन्छ । त्यसैले अब छिटोभन्दा छिटो सबै पार्टीहरू, संसद, अदालत, मिडिया, नागरिक अभियन्ता र आमजनताको सक्रियतामा यो कोरोनाभइरस भन्दा खतरनाक ओली प्रवृत्तिको भाइरसलाई सदाकानिम्ति विदा गरौं । नत्र यो भष्मासुरले सबैलाई सखाप पार्नेछ ।

Published : Saturday, 2020 April 25, 8:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया