कोरोनाबाट नेपालीहरू ९८ प्रतिशत सुरक्षित, डा.पाण्डेले दिए सकारात्मक १८ बुँदा

काठमाडौं । कोरोना भाइरसले दोस्रो चरणको स्टेप चालेका बेला जनस्वास्थ्य विज्ञ डा.रविन्द्र पाण्डेले नेपालीहरू ९८ प्रतिशत सुरक्षित रहेको बताएका छन् । उनले सरकारले गरेको लकडाउन र सरसफाइमा ध्यान दिने हो भने कोरोना भाइरसको संक्रमणबाट आत्तिनुपर्ने अवस्था छैन । योभन्दै गर्दा हेलचेक्र्याइ गर्न नहुने उनले बताएका छन् । विश्वभरिका उदाहरण र क्रियाकलापले कोरोना भाइरसबाट आत्तिएर होइन सम्हालिएर सामना गर्नुपर्ने डा.पाण्डेले बताएका छन् ।

१. चीनले हिजो सयजनाभन्दा बढी व्यक्तिहरूमा कोरोना संक्रमणबिरुद्धको खोप लगाएको छ । उनीहरूको परिणाम हेरेर तुरुन्तै अरबौंको संख्यामा खोप वितरण गर्ने जनाएको छ ।

२. अमेरिका पनि यो खोप परीक्षणको अन्तिम चरणमा पुगेको छ ।

३. सिंगापुर, ईजरायल, नेदरल्याण्ड, क्यानाडा, जापान लगायतका देशहरूले खोपको सफलता पाउँदैछन् ।

४. कोरोना संक्रमण निको गर्ने एन्टी भाइरल औषधि बिभिन्न देशका प्रयोगशालामा परीक्षण भइरहेका छन् ।

५. यसबाहेक जापानी इन्फ्लुएन्जा, सार्स, मर्स, स्वाइन फ्लु आदिको महामारीमा सफल सिद्ध भएका औषधिहरूले कोरोना संक्रमणमा उत्साहप्रद रुपमा काम गरिरहेका छन् । यी औषधिबाट लाखौँ व्यक्तिले जीवन पाइरहेका छन् ।

६. मलेरिया, बाथ, नाम्ले किरामा प्रयोग हुने औषधिलाई युरोप, अमेरिका, इरान आदि देशमा ब्यापक प्रयोग गरिएको छ । यी औषधिको सफलता सोंचेभन्दा राम्रो आएको छ ।

७. सेकेण्डरी इन्फेक्सन रोक्नको लागि ब्रोड स्पेक्ट्रम एन्टिबायोटिकले प्रभाबकारी काम गरिरहेका छन् ।

८. बेलायती राजकुमार चार्ल्स ७१ वर्षलाई कोरोना संक्रमण भएपछि आयुर्वेदिक रिसोर्टमा उपचार गरेपछि निको भइसकेको छ । यसको अर्थ उमेर बढी हुँदैमा निको नहुने होइन ।

साथै आयुर्वेद, होमियोप्याथी उपचार पनि कोरोना संक्रमणमा निकै उपयोगी छ ।

९. बीबीसीका अनुसार भारतको केरलामा कोरोना संक्रमण भएका ९३ वर्षीय पुरुष र उनको ८८ वर्षकी श्रीमती, जसले दीर्घ रोगको औषधि खाइरहेका थिए, निको भएर घर फर्किएका छन् ।

१०. भारतले कोरोना संक्रमण २ घन्टामा पत्ता लगाउने किटको आविष्कार गरेर ब्यापक जाँच गर्दैछ । त्यो किट सस्तो एवम् भरपर्दो मानिएको छ । यो किट पुनाको माइल्याबमा उत्पादन गरेर बजारमा उपलब्ध गराएको हो ।

११. नेपालमा बिभिन्न अस्पतालमा आइसीयु, भेन्टिलेटर, आइसोलेसन वार्ड तथा परीक्षणको दायरा निरन्तर वृद्धि भइरहेको छ । साथै जनचेतना, इम्युनिटी पावर, घरमै बस्ने परिपाटी आदिले गर्दा अत्यन्तै न्यून संख्यामा संक्रमण पुष्टि भएको छ । कारणवश रोग फैलिएमा चीन, भारत लगायतका देशहरू सहयोग गर्न तम्तयार भएका छन् ।

१२. कोरोना संक्रमणबाट बालबालिका तथा युवावर्ग सुरक्षित भएको हुँदा बच्चाको लागि आमाबुवाहरूले डर मान्नुपर्दैन ।

१३. हामी नेपालीले बीसीजीको खोप लगाएका छौं । समय–समयमा जुकाको औषधि, हात्तीपाइले रोगको औषधि खाएका छौं । तसर्थ जोखिम न्यून छ ।

१४. नेपालमा १००० जना व्यक्ति संक्रमित भएपनि मृतकको संख्या २० जना मात्र हुनेछ । त्यो मृत्यु पनि अन्य बिभिन्न रोगको कारण मृत्यु उन्मुख व्यक्तिको मात्र हुनेछ । स्वस्थ वा औषधि खाएर स्वस्थ व्यक्तिले डर मान्नुपर्दैन ।

१५. नेपाल बाहिर रहनुभएका नेपालीले झन् डर मान्नुपर्दैन । विकसित देशमा उपचारको गुणस्तर निकै उच्च छ । मृत्यु दर अत्यन्तै न्यून छ ।

१६. आजसम्म भएका अनुसन्धानले देखाएको छ, कोरोना संक्रमण ३ हप्तापछि द्रुत गतिमा ओर्लिने छ ।

१७. इटली लगायतका देशको जुन भयाबह देखाइएको छ, त्यहाँ त्योस्तरको भयाबह छैन । जसरी नेपालमा भूकम्प आउँदा विदेशतिर नेपाल सकियो भन्ने खालको हल्ला चलेको थियो, अहिलेको हल्ला पनि त्यस्तै प्रकृतिको हो । मृत्यु धेरैको भएको छ, तर कस्तो जनसंख्याको मृत्यु भएको छ भन्ने बुझ्नु जरुरी छ ।

१८. त्यसैले हल्लाको पछि लागेर आत्तिने नगरौं । आत्तिएर निको हुने होइन । सतर्कताले रोकथाम गर्छ । तसर्थ सतर्क बनौं । अप्ठ्यारो स्थितिमा संयम, धैर्य, शान्त, आशावादी तथा सजग बन्नु नै सबैभन्दा ठूलो उपचार हो ।

Published : Sunday, 2020 April 5, 1:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया