आफ्नै पार्टीका नेताले भने, ‘ओलीज्यू कोरोना रोक्ने काम गर्न सक्नुभएन, राजीनामा दिनुस्’

रामकुमार शर्मा, केन्द्रीय सदस्य, नेकपा

नेपाली जनताले हाम्रो दुई पार्टीबीचको एकता अनि दुई पार्टीद्वारा जारी भएको संयुक्त घोषणा पत्रप्रति विश्वास गरेर नेपालकै इतिहासमा स्वर्ण अक्षरले लेख्न सकिने गरी दुईतिहाइको अपार समर्थन दिएर नेकपाको नेतृत्वमा सरकार बनाउने मौका दियो ।

जनताले यो मौका कुनै भावनामा बगेर वा लहरमा दिएको होइन । बिगत लामो समयदेखि देशमा रहेको अस्थिरता, अराजकता, कुशासन एंव भ्रष्टाचारबाट मुक्तिका लागि एंव नेपाली जनताको सुख, शान्ति र समृद्धिको आशामा मतदान गरेका हुन् ।

सरकार गठन भएको पनि करीव मध्यान्तरको समय पूरा भयो । निश्चित रुपमा नागरिकले अब हाम्रो पार्टीद्वारा जारी गरिएको घोषणा पत्र र सरकारद्वारा भए गरेका कामवारे परिणाममा देख्न पाउने अवस्था हो ।

छातीमा हात राखेर हामी मूल्यांकन गरौँ, हाम्रो सरकार कहाँ छ ? हामीले घोषणा गरेका दर्जनौ महत्वाकांक्षी परियोजनाहरू कुन अबस्थामा छ ? जनताको आर्थिक जीवनमा कत्ति प्रगति भएको छ ? नेपाली युवालाई स्वरोजगारको व्यवस्था गरी कति संख्यामा नेपाल फर्काउन सक्यौँ ? युवा पलायनले सृजना गरेको कृषिको अवस्थामा के परिवर्तन गर्न सक्यौँ ? सुशासनको अबस्था के छ ? भ्रष्टाचारीहरू कति डराएका छन् ? बनिरहेको सडक, पुल, सिचाइँ, विमानस्थल आदि तोकिएको समयमा गुणात्मक किसिमले कत्ति काम भएको छ ?

यी र यस्तै अवस्थाको वीचमा हाम्रो गौरवशाली पार्टीको केन्द्रीय समितिको बैठक एक पटक बस्ने सौभाग्य प्राप्त भयो । बैठकमा व्यक्तिगत रूपमा आफ्नो कुराहरू राख्न नपाए पनि समूहगत रूपमै भएपनि पार्टी र सरकारलाई स्पष्टरुपमा दिशानिर्देश गर्ने काम भएको थियो । बैठक पश्चात जनताको अपेक्षामा खरो उत्रिने गरी सरकारले तिब्र गतिमा काम बढाउने ठूलो अपेक्षा गरेका थियौँ ।

तर, दुर्भाग्य सरकारले आफ्नो गति बढाउनै लाग्दा कोरोना भाइरस जस्तो विश्वकै महामारीको शिकार हामी नेपाली पनि हुन पुगेका छौँ । मध्यान्तरसम्म प्राप्त अवसरलाई हामी जनअपेक्षा अनुरूप सफलता पूर्वक पूरा गर्न नसकेको तितो यथार्थ हामीसंग छ । यस्को मतलब यो होइन कि सरकारले केही पनि गर्न सकेको छैन । सरकारले संघीयतालाई कार्यान्वयन गर्ने, कर्मचारी समायोजन गर्ने, सयौँको संख्यामा नयाँ कानून बनाउने, कुटनीति संबन्धलाई देश हितमा अगाडि बढाउने, रास्ट्रिय गौरवको कार्यक्रमलाई निरन्तरता दिने, समाजिक सुरक्षा नीति घोषणा र ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएको व्यक्तिहरूको केही सुविधा बढाउने काम अवश्य भएको छ ।

जे होस् यी तमाम समिक्षाको आधारमा यो भन्न सकिन्छ कि सरकारले काम गरेको छ । तर, जनअपेक्षा अनुसार दुईतिहाइको सरकारले जसरी तिब्र गतिमा परिणाम मुखी काम गर्नु पथ्र्यो त्यसमा चुकेकै हो । अब हामी दुर्भाग्य बश नयाँ घटनासहित नयाँ ठाउँमा बिशेष अबस्थामा उपस्थित भएका छौँ ।

बिगतमा सरकारको कामबाट असन्तुष्ट जनता सामुन्ने नयाँ किसिमको महासंकट आइपरेको छ । सरकारलाई यस महासंकटबाट जनतालाई सेवा गर्दै मन जित्ने मौका नपाएको होइन । तर, प्रधानमन्त्रीको अस्वस्थताको कारणले भन्नुस वा सरकार यो महामारीवारे गम्भीर नभएर भन्नुस शुरुवाती अवस्थादेखि नै संसदमा बिपक्षीहरू, नागरिक समाज वा आमजनतानै सरकारको तयारीबाट सन्तुष्ट देखिदैन । सरकार यस महामारी रुपी संकटलाई अबसरमा बदल्न सक्थ्यो जसरी भारतका प्रधानमन्त्रीले आफ्नो लोकप्रिय योजनाका कारण कोरोनाभन्दा मोदीको चर्चा बढी भएको छ ।

कोरोना महामारीसंग लड्न जसरी तीनै तहको सरकारसंग समन्वय हुनुपथ्र्यो, तीनवटै सरकारको बीचमा जसरी कामको बाडफाड हुनुपथ्र्यो, जुन गम्भीरताको साथ चिकित्सकहरूको सेवा, सुविधा र सुरक्षाको साथै आवश्यक संख्यामा ल्याबको व्यवस्था हुनुपथ्र्यो भएन, यतिमात्रै होइन बिदेशबाट नेपाल आउने नागरिकलाई क्वारेनटाइन गर्ने, वृहतस्तरमा चेक जाँच गर्ने, रोग लागेकाहरूलाई सुविधाजनक अस्पतालमा उपचार गर्ने, रोगबाट बच्नका लागि आवश्यक मास्क, सेनेटाइजर, ग्लोब्स, आदिको पर्याप्त व्यवस्था गर्ने, महामारीसंग लड्न पर्याप्त रकमको व्यवस्था गर्ने जिम्मेवारीबाट पुनः चुकेको छ । कोरोना जस्तो विश्व महामारीसंगको युद्धको लडाइँमा विजय प्राप्त गर्न ढिलो गरी ५० करोड रकमको बिनियोजन गरेबाट नै सरकारको गम्भीरता प्रस्ट हुन्छ ।

तसर्थ, सरकार महामारीसंग खेलवाड नगरौँ, नेपाल र नेपाली जनतासंग मजाक नगरौँ, सकिन्छ भन्ने यदि स्वास्थ्यले साथ नदिएकै कारण सरकारले गति नलिएको हो भन्ने प्रधानमन्त्रीजी तपाइँ देशको लागि धेरै योगदान गर्नुभयो अब आराम गर्नुहोस् । स्वास्थ्यलाभ लिनुहोस् । नेपाली जनताले तपाइँलाई सम्पूर्ण सम्मान दिएकै हो । बाँकी जीवनभरिलाई सम्पूर्ण मानसम्मान र सेवा सुविधा दिने नै छ । राजीनामा गरेर बाटो खुल्ला गरिदिनुहोस् ।

कम्युनिष्ट आन्दोलनले एक से एक सक्षम नेताको श्रृङ्खला नै तयार गरेको छ । यसले तपाईँको उचाइँ घटाउने नभई ऐतिहासिक बनाउनेछ । हुनसक्छ नयाँ नेतृत्वले जिम्मेवारी पाएपछि कोरोना महामारीलाइ परास्त गर्दै संकटलाई अवसरमा बदलेर जनचाहना अनुसारको काम मार्फत देश र जनताको बिश्वास आर्जन गरी सरकार र पार्टीलाई लोकप्रिय बनाउन सकोस् । भनिन्छ जान है तो जहान है ।

Published : Saturday, 2020 March 28, 9:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया