राप्रपाको केन्द्रीय सचिवालयलाई गिरीको खुलापत्र

किरण गिरी

पार्टी एकतापछि गठन भएको पहिलो केन्द्रय संयन्त्र राप्रपा केन्द्रय सचिवालयका दुबै जना प्रमुख एवम् सचिवालय सदस्यहरूलाइ सर्वप्रथम हार्दिक बधाई तथा शुभकामना दिन चाहान्छु ।

केन्द्रीय सचिवालय भनेको पार्टीको अत्यन्त महत्वपूर्ण निकाय हो । यसको गतिशीलता, निष्पक्षता र प्रभावकारिताले नै पार्टीको दैनिक प्रशासन, संगठन परिचालन र महाधिवेशन जस्तो गरिमामय काम सफल र सार्थक रुपमा संपन्न हुन सक्दछ ।

यति ठूलो चुनौतीपूर्ण अवस्थामा तपाईंहरूले पार्टी नेतृत्वबाट प्राप्त गर्नु भएको यो अवसरलाई सहि र सार्थक सदुपयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु । राप्रपा स्थापनाकालदेखि आज पर्यन्त अविरल र अबिचलित रुपमा सक्रिय एउटा राजनीतिक अभियन्ता गाउँ, क्षेत्र, जिल्ला र केन्द्रीय कमिटीहरूमा जिम्मेवारी पूर्ण ढंगले अंगभंग तीन दशक सक्रिय रहँदै राप्रपाको निवर्तमान केन्द्रीय प्रवक्ता हुनुको नाताले यतिबेला म केन्द्रीय सचिबालयलाई केही गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु ।

१. पार्टी एकतापछि ७७ वटा जिल्ला र केन्द्रीय तहको तथ्यगत विश्लेषण पूर्ण जानकारी पार्टी नेतृत्वलाई दिनुस् ।

२. एकतापछि पार्टीमा आउनुपर्ने उत्साहको संचार र कार्यकर्ता पंक्तिमा आउनुपर्ने उत्साहको लहर कमी आयो कि ? समीक्षा र विश्लेषणसहितको प्रतिवेदन नेतृत्व समक्ष प्रस्तुत गर्नुस् ।

३. दुबै पार्टी एकतापछि गरिनुपर्ने संवैधानिक र कानूनी प्रावधान अनुसार दल दर्ता ऐनले तोकेको समय सीमाभित्र राष्ट्रिय प्रजातान्त्र पार्टीलाई निर्वाचन आयोगमा पार्टीको केन्द्रीय कार्य समितिको निर्णयसहित बिधान, घोषणा पत्र, नियमावली, झण्डा र चुनाव चिन्हसहित दर्ता र अभिलेखीकरण गराउन ढिला नगर्नुस् । सहमतिअनुसार चुनाव चिन्हका बारेम निर्णय गर्न कुनै छ महिना कुरिरहनु जरुरी छैन । पार्टीभित्र देखापरेको डेडलक अन्त्य गर्न पनि शीघ्र यो काम सम्पन्न गर्नु मैले जरुरी देखेको छु ।

४. अहिले निर्वाचन आयोगम राप्रपा (संयुक्त) र राप्रपा दुबै पार्टी संवैधानिक र कानूनी अस्तित्वमा छन् । हामीले घोषणा गरेको तीन अध्यक्षसहितको राष्ट्रिय प्रजातान्त्र पार्टीलाई आयोगले चिन्दैन । तसर्थ यस्तो संक्रमणकाल लामो समय राखिनु हुँदैन । सचिवालय यसतर्फ गम्भीर एवम् सजग रहोस् ।

४. पार्टीले विभिन्न खपत र प्रयोजनका लागि उठाएका एजेन्डाहरूलाई संविधान विपरित भनि आयोगले हटाउनु पर्ने गरी निर्वाचन आयोग समक्ष पेस नगर्नुस् । यो आम मतदाता र कार्यकर्ताहरूलाई झुक्याउने काम मात्र हुनेछ ।

५. संविधान र परिवर्तनसंग आत्मसात गरेर अगाडि बढ्नुको हामीसंग कुनै विकल्प छैन । कुनै भावनामा नबगेर मुलुक र जनताको यथार्थलाई स्वीकार्दै सबैलाई समेटेर अगाडि बढ्न बढाउन मेरो पार्टी राष्ट्रिय प्रजातान्त्र पार्टीका तीनै जना अध्यक्षहरू सबल र सक्षम रहनुहुनेछ भन्ने मैले पूर्ण विश्वास लिएको छु ।

७ चैत २०७६

(लेखक पत्रकार एवम् राप्रपाका केन्द्रीय नेता हुन्)

Published : Friday, 2020 March 20, 11:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया