‘फुलन्देकी आमा’ केटा हुन् कि केटी ? के भन्छन् स्वयम् उमेश राई ? (अन्तर्वार्ता)

उमेश राई ‘फुलन्देकी आमा’, हाँस्य कलाकार

‘फलन्देकी आमा’ अर्थात उमेश राई हाँस्य कलाकारितामा चर्चित नाम हो । भोजपुर जिल्ला हतुवागढी गाउँपालिकाको पेक्ला गाउँमा जन्मिएका राई दर्शक स्रोतहरूका माझ निकै लोकप्रिय छन् । उनका अभिनय महिला क्यारेक्टरमा धेरै देख्न पाइन्छ । राईका प्रस्तुति हेरेका दर्शक स्रोताले उनलाई प्रत्यक्ष देख्ने हो भने चिन्दैनन् । कहिले काहीँ आफ्नो अभिनय हेरेर आफै हाँस्ने गरेका राईलाई महिलाको भेषमा हाँस्य कलाकारिता देखाउँदा आलोचना भएको रहेछ । ती आलोचनाबाट उनी बिचलित हुन पनि खोजेका रहेछन् । पछि आत्मबल बलियो बनाएर महिला अर्थात ‘फुलन्देकी आमा’बाटै अभिनय अगाडि बढाए । अहिले उनी सोही क्यारेक्टरमा चर्चित छन् । उनै हाँस्य कलाकार उमेश राई अर्थात ‘फुलन्देकी आमा’सँग हाम्रा सहकर्मी विमल योगीले गर्नुभएको कुराकानीको सम्पादित अंश –

तपाई केटी हो कि केटा हो ?

म केटा हो । कलाकारितामा मात्रै केटी हो । भ्रममा नपर्नु होला । मेरा शुभचिन्तकहरू झुक्किनु पर्दैन ।

कलाक्षेत्रमा तपाई केटी बनेर किन आउनु हुन्छ ?

कलाकारिताको क्षेत्रमा मैले नयाँपना दिन खोजेको हुँ । यसलाई अन्यथा लिनुपर्दैन ।

तपाई फुलन्देकी आमा हो कि…अरु केही हो ?

हो म फुलन्देकी आमा हो । हाँस्य कलाकारितको लागि यो चरित्र मात्रै हो । क्यारेक्टरमा मात्रै फुलन्देकी आमा हुँ ।

कलाकारितामा फुलन्देकी आमा बनेर अभिनय गर्न थालेको कति भयो ?

साढे दुई वर्ष जति भयो । यो चरित्रमा अभिनय गर्न थालेदेखि दर्शक स्रोताहरूले मन पराइदिनुभएको छ । खुसी लाग्छ ।

योभन्दा पहिला तपाईले के गर्नु हुन्थ्यो ?

पहिला म अध्ययरत थिएँ । वैदेशिक रोजगारीका लागि साउदी अरबमा पनि गएँ । त्यहाँ दुई वर्ष बसेँर काम गरेँ । नेपाल आएर हाँस्य कलाकारितातिर लागेँ ।

‘फुलन्देकी आमा’ अर्थात केटीको चरित्रमा अभिनय गर्ने कुरा कसरी फुर्‍यो तपाईलाई ?

पहिला म कालाकार थिएन । कलाकारितातिर नभएपनि हँस्य व्यङ्ग्यहरू हेर्थेँ । हेर्दाहेर्दै कलाकार बने । राम्रो काम गर्दागर्दै हाँस्य कलाकार भएँ । हाँस्य कलाकारितातिर काम नै गर्ने हो भने नयाँ खालबाट गरौँ भनेर हाँस्य विधातिर लागेको हुँ । मैले हाँस्य कलाकारिता ‘द कपिल शर्मा शो’ अत्यन्तै धेरै हेर्ने गर्थेँ । म हिन्दी पनि नबुझ्ने मान्छे । नबुझेपनि त्यो शो मन पर्थ्याे । पछि बुझ्दै जाँदा त त्यो ‘द कपिल शर्मा शो’ कार्यक्रम विश्वभरि नै फेमश रहेछ । त्यो शोमा मेलहरू फिमेल भएर अभिनय गर्थे । त्यो पनि मेरालागि हाँस्य कलाकारितामा आउने एउटा उदेश्य रह्यो । कपिल शर्माको शोबाट प्रभावित भएको हुँ ।

अर्को कुरा नेपालमा थुप्रै कलाकारहरूले केटीको अभिनय गर्नुभएको छ । उदाहरणका लागि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पनि केटीको क्यारेक्टर गर्नुभएको छ । मैले पनि त्यस्तैखालको नयाँ गर्न पाए राम्रो हुन्थ्यो भनेर सोँच बनाएको थिएँ ।

महिला क्यारेक्टरमा हाँस्य अभिनय गर्दा आलोचना भयो कि भएन ?

शुरुमा धेरै आलोचना भयो । आलोचना भएपछि मैले छाड्न पनि लागेको थिएँ । मलाई यसमा धेरै साथीभाइको साथ पनि छ । मैले छाड्न पनि लागेको थिएँ । मैले शुरुदेखि महिलाको अभिनयमा हाँस्य विधामा काम गर्दै आएको पनि होइन । बीचमा आएर आलोचनाहरू हुँदा चित्त पनि दुख्यो । जुन रुखमा फल फल्छ त्यही रुखमा मात्रै ढुंगाको झटारो पर्ने होभन्दै साथीहरूको सुझाव आयो । महिलाको क्यारेक्टर गर्नबाट पछाडि हटिन ।

नाकमा बुलाकी, कानमा ढुँग्री लगाउँदा कस्तो महशुस हुन्छ ?

त्यो लगाउँदा गाह्रो हुन्छ । यो लगाएर हाँस्य अभिनय गर्दा गाह्रो हुन्छ नि । ओरजिनल र बनाएकोमा त धेरै फरक हुन्छ । नेचुरल शरीरमा अर्को कुरा झुण्ड्याउँदा गाह्रो त भइहाल्छ नि ।

तपाईले नाक र कान छेड्नु भएको छ ?

नाक छेडेको छैन । कान छेडेको छु । कान त केटाहरूले पनि छेडेर मुन्द्रा लगाएका हुन्छन् ।

तपाईले आफ्नो प्रतिस्पर्धी हाँस्य कलाकार कसलाई मन्नु हुन्छ ?

मैले कसैलाई पनि आफ्नो प्रतिस्पर्धी मान्दिन । मभन्दा राम्रो हाँस्य कला प्रस्तुत गर्नेहरू हुनुहुन्छ । मभन्दा अग्रजहरू पनि हुनुहुन्छ । म आफै भरखर सिक्दै गरेको कलाकार हुँ । म अझै प्रतिस्पर्धा गर्ने ठाउँमा पुगेको छैन ।

कार्यक्रमहरूमा तपाईलाई कत्तिको बोलाउँछन् ? माग कति छ ?

कार्यक्रमहरूमा मैले धेरै मायाँ पाउँछु । देशभित्र र विदेशमा पनि धेरै कार्यक्रमहरूमा भाग लिएको छु । नेपालभित्र कलकारको सीमित क्षेत्र हुन्छ । पूर्वेली कलाकारको पूर्वतिर मात्रै माग हुन्छ । पश्चिमी कलाकारहरूको पश्चिमतिर मात्रै माग हुन्छ । म भाग्यमानि छु । पूर्वपश्चिम सबैतिर मेरो माग हुन्छ । देश र विदेश सबैतिर बोलाउनु हुन्छ ।

तपाईलाई एक घण्टाभन्दा धेरै समयदेखि हेलमेट लगाएको देखिरहेको छु ? किन लगाउनुभएको हो ?

होइन त्यस्तो केही पनि होइन । कामको लागि आएँको थिएँ । टाउकोबाट निकाल्न भुलेछु ।

नेपालमा तपाईले आदर्शका रुपमा लिने हाँस्य कलाकारहरू कोही छन् ?

म सिक्दै जाने हो । आदर्शकै रुपमा गुरु मानेर जानेभन्ने छैन । सबैको हाँस्य विधाका कार्यक्रम हेर्छु । आदर्शनै मान्ने भन्ने छैन । काम आफूले गर्ने हो । अहिलेसम्म जे जति गरेको छु त्यही नै ठीक छ । अर्काको नक्कल गरेर, अर्काको जस्तो बन्न खोजेर कहाँ हुन्छ र ? आफैले आफ्नोपनामा प्रस्तुति दिनुपर्छ । अरुको नक्कल नगरेकै राम्रो ।

फिल्महरू खेल्नु भएको छ ?

फिल्महरूमा मेरो माग त छैन । मैले एउटा फिल्ममा खेलेको छु । त्यो फिल्म रिलिज हुन बाँकी छ । ‘हेल्लो काशिराम’ भन्ने फिल्ममा अभिनय गरेको छु । फिल्मको सम्पूर्ण काम सम्पन्न भइसकेको छ । फिल्म रिलिज गर्न मात्रै बाँकी छ ।

तपाईको नाम गीत पनि बनेको रहेछ है ?

‘फुलन्देकी आमा’ भन्ने टाइटल गीत बनेको छ । मेरै नाममा आधारित छ । मलाई चिनाउने गीत बनेको छ । म मरेर गएपनि ‘फुलन्देकी आमा’ भनेर यो गीतले मलाई स्मरण गराउनेछ । यो गीतलाई सुनिता थेगिमले स्वर दिनुभएको छ । मैले म्युजिक भिडियोमा अभिनय गरेको छु ।

घरपरिवार वा आफूलाई मनमा पीडा भएको बेला हँसाउनु परेको छ कि छैन ?

त्यस्तो समस्या वा पीडा मैले अहिलेसम्म भोगेको छैन । त्यस्तो नपारेस् पनि कहिल्यै ।

घरपरिवार, बुबाआमाले मेरो छोरोले छोरी मान्छेको भेषमा अभिनय गर्‍यो भनेर चित्त देखाउने वा मन खिन्न बनाउनु भएको छ ?

केही भन्नु भएको छैन । जे गरेपनि साथ दिनुभएको छ । जे गरेको छु राम्रो गरेको छ भनेर प्रशंसा नै गर्नुभएको छ ।

तपाईले विवाह गर्नुभएको छ ?

अहिलेसम्म विवाह गरेको छैन ।

विवाह कोसँग गर्नु हुन्छ ?

जोसँग जुर्छ, उसैसँग विवाह गर्नुपार्ला ।

युवतीसँग मायाप्रेम भएको छ कि छैन ?

मायाप्रेम छ ।

कोसँग प्रेम भएको हो ? नाम भन्न मिल्छ ?

अहिले भन्न मिल्दैन । अहिले लभ परेको मात्रै भन्ने हो । कथंकदाचित ऊसँग विवाह भएन भने पछि गाह्रो हुन्छ ।

‘फुलन्देकी आमा’ र तपाईकी गर्लफ्रेण्डबीच भेट भयो भने के होला ?

केही हुँदैन । म उमेर राई हो । उमेश नै हुन्छु । ‘फुलन्देकी आमा’ एउटा क्यारेक्टर मात्रै हो । उनलाई थाहा छ । बुझेकी छिन् ।

तपाईकी गर्लफ्रेण्डले तपाईलाई महिलाको क्यारेक्टरमा अभिनय गर्दा के भन्नु हुन्छ ?

त्यस्तो केही भन्नु हुन्छ । बरु उहाँले सिकाउनु हुन्छ ।

तपाईको हाँस्य अभिनय हेरेर हाँस्नु हुन्छ कि हाँस्नु हुँदैन ?

हाँस्नु हुन्छ । म आफै त हाँस्तु । मेरो आफ्नै हाँस्य अभिनय देखेर । महिलाको गेटअपभन्दा बाहिर आएर उमेश राई भएर हेर्दा त्यो हाँस्य अभिनय गरेको म होइन कि जस्तो लाग्छ । मत हाँस्छु भने अरु त नहाँस्ने भन्ने हुँदैन ।

तपाई वैदेशिक रोजगारीमा गएर आएको भन्नुभयो । विदेशमा कमाइ राम्रो कि ? यहाँ स्वदेशमै राम्रो ?

स्वदेशमा नै राम्रो । नेपालमा नाम पनि दाम पनि राम्रो । विदेशमा दुःख मात्रै धेरै हुन्छ । मेहनत गर्ने हो भने नेपालमै राम्रो कमाइ हुन्छ । विदेशमा काम धेरै, दाम थोरै हुन्छ ।

तपाई कुन–कुन देश जानुभएको छ ?

म कामको लागि साउदी अरब गएर बसेको थिएँ । कलाकारितामा लागेपछि मलाई ५÷६ वटा देशमा बोलउनुभएको छ । त्यहाँ गएर हाँस्य विधा देखाउन पाएँ ।

तपाईलाई प्रेम प्रस्ताव राख्नेहरू त होलान् नि ?

आउँछ । धेरैले माया प्रेमको प्रस्ताव राख्नु हुन्छ । सिधै नभने पनि घुमाउरो भाषामा धेरै प्रस्तावहरू आइरहेका हुन्छन् ।

सानै उमेरमा तपाई चर्चित कलाकार बन्नुभयो ? कसरी सम्भव भयो ?

म आफूलाई हाँस्य कलाकारितारित चर्चित भएको जस्तो लाग्दैन । उमेर त सानै होला । मेरो हाँस्य अभिनय दर्शकले मन पराइदिनुभएको छ । यसैमा खुसी छु ।

Published : Thursday, 2020 March 19, 8:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया