कांग्रेस सबैको हो, २–४ जना ठूला नेताको मात्रै होइनः सरिता प्रसाइँ

सरिता प्रसाइँ, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी राष्ट्रिय सभामा कांग्रेसको तत्कालीन सचेतक सरिता प्रसाइँ पार्टीभित्र स्पष्ट वक्ताका रुपमा लिइन्छ । चित्त नबुझेको कुरा नेताहरूका अगाडि राख्न सक्ने नेतृ प्रसाइँले राष्ट्रिय सभामा राम्रो भूमिका निभाएकी थिइन् । राष्ट्रिय सभामा कांग्रेसले गरेका कामकारबाही र १४औँ महाधिवेशनका विषयमा नेतृ सरिता प्रसाइँसँग हाम्रा सहकर्मी विमल योगीद्वारा गरिएको कुराकानीको सम्पादित अंश –

राष्ट्रिय सभामा तपाईहरूको कार्यकाल कस्तो रह्यो ? अनुभव र काम के गर्नुभयो ?

राष्ट्रिय सभा संविधान आएपछि हाम्रो पहिलो अनुभव रह्यो । राष्ट्रिय सभामा जाँदा कस्तो हुन्छ ? के हुन्छ भन्ने खुलदुली थियो । प्रतिनिधि सभा र राष्ट्रिय सभाको फरक के थियो भनेर पनि हामीलाई खुलदुली भयो । राष्ट्रिय सभामा गइसकेपछि त्यसको औचित्य अर्कै किसिमको हुन्छ भन्ने खालको कुराहरू सुनिरहेका थियौँ ।

राष्ट्रिय सभाको मर्यादा राख्न सक्छौँ कि सक्दैनौँ भन्ने थियो । जनताले चाहे जस्तो खालले हामीले यसलाई अगाडि बढाउन सक्छौँ कि सक्दैनौँ भन्ने प्रश्न पनि थियो । सत्ता पक्षको ठूलो बहुमत भएको बेलामा हामीले कसरी उनीहरूलाई ट्याकल गर्ने भन्ने हिसाबमा पनि हामीलाई चुनौती थियो । राष्ट्रिय सभामा जसरी हामीले सोँचेर गएका थियौँ त्योभन्दा राम्रो रुपले नै अगाडि गयौँ । राष्ट्रिय सभालाई हामीले राम्रोसँग सञ्चालन गर्न सफल भयौँ ।

राष्ट्रिय सभामा तपाईले काम गर्‍यौँ भन्नु भयो । तर, कांग्रेसले राम्रोसँग भूमिका खेल्न सकेन भनेर आरोप त आइरह्यो नि ?

विधेयकमा कांग्रेसले राम्रोसँग भूमिका खेल्न सकेन भन्नु अलिक अफ्ठ्यारो हुन्छ कि जस्तो लाग्छ । प्रतिनिधि सभाबाट पारित भएर आएका विधेयकहरू राष्ट्रिय सभाबाट फिर्ता पनि भएका छन् । राहदानी विधेयक फिर्ता भएको छ । राहदानी विधेयक प्रतिनिधि सभाबाट पारित भएर आयो ।

राष्ट्रिय सभा बन्द भएका कारण त्यो विधेयक तोकिएको समयभित्र हामीले छलफल नै नगरी राष्ट्रपति समक्ष पुग्यो । कांग्रेसले राहदानी विधेयकमा विरोध गरेको थाहा पाएर राष्ट्रपतिले राष्ट्रिय सभाको सांसद राधेश्याम अधिकारीलगायतलाई बोलाएर यो कुरा ठीक छैन, हामीले यत्रो छलफल गरिहेको थियौँ । तर, राष्ट्रिय सभामा पेश नै नभइकन यहाँ आएको हुँदा यो कुरा मान्दैनौँ भन्दा राष्ट्रपतिबाट पनि फिर्ता आयो ।

अर्को गुठी विधेयक सरकारले राष्ट्रिय सभामा ल्याएर आयो । हामीले यो विधेयक ठीक छैन, फिर्ता लैजाउभन्दा सरकारले मानेन । हामीले सरोकारवाला सबैलाई बोलाएर यो विधेयकमा नमिलेका कुरा छन् भनेपछि सबै मान्छे सडकमा आएर विरोध गर्दा गुठी विधेयक पनि फिर्ता गर्नुपर्‍यो । सरकारले मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा पेश गर्‍यो ।

मिडिया काउन्सिल विधेयक पेस हुँदा सरकारलाई हामीले भनेका थियौँ । विधेयकमा जुन कुराहरू आएको छ त्यसले लेख्ने, पढ्ने सरकारका कुरा बाहिर ल्याउनुपर्ने मिडियाको काम सबैमा बन्देज लागाउने कुरा हुनु हुँदैन, यो कुरा मान्दैनौँ भनेपछि सरकारले यसलाई फिर्ता नलगेपनि छलफल गरेर सहमतिमा लगेर टुंग्याउने काम भयो । आखिरमा सहमतिमा लैजान बाध्य बनायौँ । सर्वसम्मतबाट नै विधेयक पास भयो । यसलाई काम गरेको भन्ने कि नगरेको भन्ने ।

सरकारले नेपाल ट्रष्टको ऐन नै संशोधन गर्न प्रस्ताव ल्यायो । बैठकमा ऐन संशोधन गर्ने बेला कांग्रेसले ऐन नै संशोधन गरेर नीतिगत भ्रष्टाचारमा लाग्नुभयो । यो नगर्नुस् भनेर हामीले ठूलो दवाव दियौँ । सत्तापक्षले बहुमतको आधारमा ऐन पास गरेपछि जनताले उहाँहरूलाई नाङ्गै पारेका छन् । विधेयकहरूमा कांग्रेसले राम्रो रोल नगरेको भए ती कुरा बाहिर आउने थियो त ? आउने थिएन । भूमि विधेयक प्रतिनिधि सभाबाट पास भएर राष्ट्रिय सभामा आयो । गौचरणलाई पनि लिजमा दिने भन्ने थियो । त्यस्ता कुराहरू हामीले श्रङ्खलाबद्ध रुपमा हेरेर त्यसो गर्न पाइँदैन भनेर राष्ट्रिय सभामा कांग्रेसले रोक्यो ।

पार्टीभित्रको विवाद राष्ट्रिय सभामा देखियो कि देखिएन ?

देखिएन । पार्टीभित्रको लडाइँ भनेको पार्टीभित्रको आन्तरिक लडाइँ भयो । यो भनेको त जनतासँग र विधेयकका कुरा भयो । राज्य चलाउने कुरा भयो । देश र जनताको कुरामा यो तेरो, यो मेरो भन्ने कुरा नै आउँदैन । राष्ट्रिय सभामा गुटको प्रभाव परेन । प्रभाव पर्नुपनि हुँदैन ।

कांग्रेसको १४औँ महाधिवेशन शुरु भइसकेको छ । सभापति शेरबहादुर देउवाले विभाग गठनदेखि केन्द्रीय सदस्य धमाधम बनाइ रहनुभएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बहिस्कारसम्मका गतिविधि थालेको छ । यसरी त पार्टीको महाधिवेशनलाई असर गर्दैन र ?

१४औँ महाधिवेशन तोकिएको समयमा भएन भने पार्टी धरापमा पर्छ । तोकिएको समयमा महाधिवेशन गर्नुपर्छ । सभापतिको अधिकार थियो होला । सभापतिले महाधिवेशन सम्पन्न भएको ३–४ महिनाभित्रमा सबै काम गर्नुपर्ने थियो । त्यस बेला नगरे पनि अलिक पछाडि आएर गर्नुपर्ने थियो । महाधिवेशनको मिति तोक्ने । अनि विभागहरू पनि एकलौटी ढंगले गर्दै गएपछि विरोध भइहाल्छ नि । १४औँ महाधिवेशनको मिति तोकिएपछि सबै कुरा एकलौटी ढंगले पेलेर लैजान खोज्दा मान्न सकिँदैन ।

कांग्रेस पार्टी सबैको हो । पार्टी सबैको भएका कारणले गर्दा सभापतिले असन्तुष्ट पक्षलाई मिलाएर लैजानुपर्ने थियो । कम्युनिस्टहरूको दब्दबा भएको बेलामा कम्युनिस्टसँग लड्नुपर्ने बेलामा पार्टीभित्रको लडाइँ कति लडिरहनुपर्ने हो ? हामी आएदेखि पार्टीभित्र लडाइँ लडिरहेका छौँ । महाधिवेशनको मिति घोषणा गर्ने अनि विभागहरू बनाउने, केन्द्रीय सदस्यहरू थप्ने कार्य गर्नु हुँदैन भन्ने हो । थप्ने कार्यमा पनि हाम्रो आपत्ति होइन । आएका साथीहरू पनि कांग्रेस नै हुन् । सिष्टमका लागि त्यो कुरा राम्रो भएन भन्ने हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले अब समानान्तर पार्टी चलाउने हो त ?

समानान्तर पार्टी भन्ने कुरा नै आउँदैन । कांग्रेस हाम्रो पनि हो । आफूले सोँचे जस्तो नहुँदैमा समानान्तर पार्टी चलाउनुपर्छ भन्ने हो त ? होइन । विधि र विधानअनुसारको काम भएन भने विरोध गर्न त पाइयो नि । यो कुरा गलत भयो भन्न पाउनुपर्छ । रचनात्मक र लोकतान्त्रिक संस्कार अनुसार विरोध गर्न पाइन्छ । त्यो विरोध हामी गर्छौं । १४औँ महाधिवेशनका लागि हुने सबै क्रियाकलापमा हामी भाग लिन्छौँ ।

पार्टी कुनै एक पक्षको मात्रै होइन । कांग्रेसमा धेरै जनाको खुन र पसिनाले बनेको पार्टी हो । हेलचेक्र्याइ गरेर यहाँ जे पायो त्यही गर्न खोजिन्छ भने कांग्रेसलाई मात्रै होइन यसले देशलाई पनि घाटा हुन्छ । सभापति शेरबहादुर देउवाले यो समयमा झगडा गरेर होइन कांग्रेसलाई एकताबद्ध गरेर, एकठाउँमा राखेर अगाडि बढ्नुपर्छ । यो कम्युनिस्ट सरकारको दब्दबा भइरहेका बेलामा हामी एक भएर लड्नुपर्छ ।

सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरलाई पेलेरै जाने नीति लिनुभएको जस्तो देखिएको छ । सभापति देउवालाई कसरी विधि र विधानभित्र ल्याउनु हुन्छ ?

होइन पेलेर गएर के हुन्छ भन्या ? किन पेल्ने उहाँले ? सरकारमा प्रधानमन्त्री खड्गप्रसाद ओलीले पेलेर के भएको छ र ? ओलीविरुद्ध जनताले प्रतिक्रिया त दिए नि । देख्नुभएको छैन ? ओलीले हरेक ठाउँमा पेल्यो भन्ने । हरेक ठाउँमा विरोध गर्ने । आफूले पार्टीभित्र ओलीले जस्तै गर्न मिल्छ ? मिल्दैन । शेरबहादुर देउवा सभापति हो नि ।

सभापति एउटा गुटको सभापति हुन पाइँदैन । सबैलाई मिलाएर जानुहोस् भन्ने सभापतिलाई मेरो आग्रह हो । यो परिस्थिति भनेको कांग्रेसको निम्ति सबैभन्दा अफ्ठ्यारो परिस्थिति हो । सभापतिले सबैलाई मिलाएर लैजानुपर्छ । बलमिच्याइँ र पेल्ने गरेर नजानुस् भन्ने मेरो आग्रह हो । सभापतिले जे–जे गर्दै जानु हुन्छ हामीले त्यही मान्दै जाने कुरा त हुँदैन । चाहिने कुरामा समर्थन गरेका छौँ । नहुने कुरा गरेपछि विरोध गर्न पाइन्छ ।

सभापति शेरबहादुर देउवाले पार्टीमा विधि र विधान मिच्नुभयो भन्छन् । तपाईलाई त्यस्तो लाग्छ कि लाग्दैन ?

विधि र विधान उहाँले कसरी टेक्नु भयो त ? टेक्नु भएको छैन । चार महिना पछाडि गर्नुपर्ने काम गर्नुभएन । तैपनि तीन वर्षभित्र गरेको भए पनि हुने थियो । महाविधेशनको प्रक्रिया शुरु भइसकेको अवस्थामा नियुक्तिहरू गर्दा यो राम्रो भएन भन्ने कुरा हो ।

१४औँ महाधिवेशनमा तपाई कुन पदमा उम्मेदवार बन्ने सोँच बनाउनु भएको छ ?

त्यो त पछिको कुरा हो नि । समय छ अझै एक वर्ष । पदाधिकारी घोषणा गर्ने बेला अहिले नै आएको छैन । हेर्दै जाऔँ परिस्थितिले के गर्छ ।

सभापतिमा तपाईले कसलाई साथ दिनु हुन्छ ?

सभापतिमा कसलाई साथ दिने भन्ने कुरामा पनि अझै समय आएको छैन । समय आयो भने भनौँला ।

Published : Thursday, 2020 March 12, 12:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया