कांग्रेसको नेतृत्व युवा पुस्तामा जानुपर्छ

नेपाली कांग्रेसले आफ्नो १४औँ महाधिवेशनको तयारी शुरु गरेको छ । पार्टीभित्र विभिन्न उतार चढावहरू छन् । सभापति शेरबहादुर देउवाले विभागहरू गरेका छन् ।

आमन्त्रित केन्द्रीय सदस्यहरू बनाएका छन् जेष्ट सदस्यहरूका लागि अलग व्यवस्था गरेका छन् । सभापति देउवाले गरेको नयाँ व्यवस्थाले केही हदसम्म सकारात्मक सन्देश दिए पनि वरिष्ठ नेता रामचन्द्र पौडेल र कोइराला परिवारलाई चित्त बुझेको छैन । पौडेल र कोइराला परिवारले देउवालाई असफल बनाउन खोजेका छन् ।

चार वर्षसम्म विभागहरू गठन गर्न नसकेका देउवाले अहिले आएर कि गठन गर्नुप¥यो ? प्रश्न उब्जिएको छ । देउवाले असन्तुष्ट समूहलाई पनि सहमतिमा ल्याएर विभाग गठन गरेको भए उचित हुने थियो ।

देउवाले सहमतिको प्रयास पनि गरेका हुन् । १४औँ महाधिवेशनको मुखमा देउवालाई साथ दिन असन्तुष्ट पक्ष तयार छैन । देउवाका हरेक निर्णय र गतिविधिहरूलाई पौडेल र कोइराला समूहले आलोचना गर्दै आएको छ ।

१३औँ महाधिवेशनका बेला देउवाले गरेको प्रतिवद्धताहरू पूरा गर्न नसकेको आलोचना हुँदै आएको छ । देउवालाई असफल बनाउँदा वा आलोचना गर्दा मात्रै १४औँ महाधिवेशनमा आफ्नो उदेश्य पूरा हुने पौडेल र कोइराला समूहको बुझाइ छ । यस्तो अवस्थामा देउवालाई घेराबन्दीमा पार्नुनै पौडेल र कोइराला परिवारको ठूलो उपलब्धि हुन सक्छ ।

कोइराला परिवारले कहिल्यै पनि कांग्रेसको नेतृत्व अन्य कोइराला परिवारभन्दा बाहिर नजाओस् भन्ने पक्षमा थियो । कोइराला परिवारको त्यो ईच्छालाई देउवाले भत्काइदिए ।

कोइराला परिवार सबैभन्दा धेरै देउवासँग असन्तुष्ट छ । कांग्रेसलाई आफ्नो बिरासत ठान्ने कोइराला परिवारले देउवालाई कहिल्यै पनि रुचाएन । वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रयोग गरेर कोइराला परिवारले १४औँ महाधिवेशनबाट कांग्रेसको नेतृत्व कोइराला परिवारभित्र पार्न चाहन्छ । यो कुरा पौडेलले बुझेका छैनन् । कोइराला परिवारप्रति लोकतन्त्रलाई बुझेका कांग्रेसका कार्यकर्ताहरूले धेरै मोह देखाउनु हुँदैन ।

गिरिजाप्रसाद कोइरालाको निधन भइसकेको छ । गिरिजाप्रसाद कोइरालाको आलोचना गर्नु अहिले असान्दर्भिक हुन सक्छ । तर, तितो सत्य के पनि हो भने गिरिजाप्रसाद कोइरालाकै कारण देउवासहितको ठूलो समूहले कांग्रेस छाड्नु परेको थियो । बेग्लै पार्टी बनाउनु परेको थियो ।

सोही कारणले पनि कोइराला परिवार पार्टीलाई भन्दा पनि व्यक्तिगत र परिवारगत कुरालाई विशेष ध्यान दिँदै आएको छ । अबको १४औँ महाधिवेशनमा कांग्रेसको नेतृत्व युवा पुस्तामा जानुपर्छ । देउवा वा कोइराला परिवारभन्दा पनि युवा पुस्ता जो कोहीले पनि कांग्रेसको नेतृत्व लिएर नयाँ ढंगले अगाडि बढेको राम्रो हुनेछ । (सम्पादकीय)

Published : Saturday, 2020 March 7, 12:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया