शेरबहादुरजीलाई आफैले मनोनीत गरेका नेताहरूले धोका दिएः गाेपालमान श्रेष्ठ

गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्य एवम् संगठन विभाग प्रमुख

नेपाली कांग्रेसको राजनीतिमा ठूलो योगदान पुर्‍याएका गोपालमान श्रेष्ठ पार्टीभित्र सिनियर नेताका रुपमा लिइन्छ । कांग्रेसलाई बलियो र राम्रो बनाउनुपर्छ भन्ने उनको सधै जोडबल रहेको छ । पार्टीभित्रको विवादबाट श्रेष्ठ चिन्तित छन् । घरभित्रको झगडा घरभित्र समाधान गर्नुपर्ने र सडकमा लगेर छताछुल्ला बनाउन नहुने उनले पार्टीभित्र धारणा राख्दै आएका छन् । उनको कुरा सुनुवाइ होला वा नहोला तर, शीर्ष नेताहरूलाई गाली गरेर कांग्रेस बलियो नबने बताउँछन् ।

कम्युनिस्टहरूप्रति आक्रामक रहँदै आएका नेता श्रेष्ठ नेपाली कांग्रेसको कार्यबाहक सभापति समेत भइसकेका छन् । सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेलसहितका नेताहरू कांग्रेसका लागि एक हुनुपर्ने उनी बताउँछन् । कम्युनिस्टहरूको अधिनायकवादको सीमा नाघ्न थालेका बेला कांग्रेस मिल्नुको बिकल्प नरहेको उनको भनाइ छ । पार्टी, संगठन र सरकार लगायतका विषयमा संगठन विभागका प्रमुख समेत रहेका नेता गोपालमान श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश –

नेपाली कांग्रेस बिरामी परेको छ । किन क्रियाशील हुन सकेन कांग्रेस ?

बिरामी परेको छैन । पार्टीभित्र विवाद छ । त्यो साधारण कुरा हो । बाहिर देखिए जस्तो द्वन्द्व कांग्रेसभित्र छैन ।

कांग्रेसका सभापति शेरबहादुर देउवा असफल भनेर आरोपहरू लागिरहेका छन् नि ?

शेरबहादुर देउवालाई असफल भन्न मिल्दैन । देउवाले चुनाव जितेपछि धेरै लिबरल हुनुभयो । आवश्यक्ताभन्दा धेरै लिबरल हुनुभयो । आफूले चुनाव जितेपछि आफूसँग हारेको नेतालाई तुरुन्त केन्द्रीय सदस्य र उहाँले माग नगर्दा नगर्दै नेताको पदवी पनि दिनुभयो । हारेका मित्रहरूलाई भित्र्याउनुभयो । सरसल्लाहबाट काम गर्छु भन्दा असहयोग भयो । सरसल्लाह गरे जस्तो पनि गर्ने । उचित सल्लाह पनि नदिने । समयमा त्यसको फुलफिल पनि नगर्ने । देउवालाई रोक्ने काम भयो ।

हरेक मोर्चामा सभापति देउवाको चार वर्षको कार्यकाल असफलतामा बित्यो होइन ?

शेरबहादुरजी सभापति भएपछि नेपाल महिला संघ, नेविसंघ, नेपाल तरुण दल आदि भ्रातृ संस्थाहरूको अधिवेशन गरेर कामहरू अगाडि बढ्यो । राष्ट्रिय अधिवेशन भयो । विपक्षी दलको सरकारलाई तोडेर अर्थात माओवादीलाई तोडेर आफ्नो पक्षमा ल्याएर सरकार पनि चलाउनुभयो । प्रचण्डजी प्रधानमन्त्री हुनुभयो । त्यसपछि शेरबहादुर हुनुभयो । प्रचण्डजी प्रधानमन्त्री हुँदाहुँदै स्थानीय तहको निर्वाचन शुरु गर्नुभयो । देउवाजीको पालामा आएर स्थानीय निर्वाचन, प्रदेश निर्वाचन, प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नुभयो ।

एमसीसीमा हस्ताक्षर भएपनि त्यो पारित नहुने भयो ?

एमसीसी पारित हुन्छ । मैले भने हुन्छ । जे होस् एमसीसी पारित हुन्छ । एमसीसी एउटा महत्वपूर्ण विषय हो । ठूलो देश अमेरिकासँग दौत्य सम्बन्ध छ । त्यो सम्बन्धलाई कुनै पनि सरकारले बिर्गान सक्दैन ।

यो एमसीसी राष्ट्रघाति होइन ?

कहाँबाट राष्ट्रघाति हुनु । त्यस्तो केही पनि होइन । यसमा बाहिर भने जस्तो केही पनि छैन । सैन्य गठबन्धन पनि होइन । कुनै एउटा मुलुकको ईसारामा यस्तो कुरा गरिएको छ । त्यो कुरा टिक्ने कुरा होइन । सत्य कुरा के हो भने यो हाम्रो आवश्यक्ता थियो । हामीले धेरै जलविद्युतहरू बनाउँदै छौँ ।

जलविद्युतहरू नेपाललाई आवश्यक्ताभन्दा दश दोब्बर जलविद्युत बनाउँदै छौँ । त्यो जलविद्युतको बजार भनेको हिन्दुस्तान हो । बंगलादेश हो । त्यो ठाउँमा लैजाने कार्यक्रम एमसीसीमा छ । त्यस कारणले एमसीसी अत्यन्तै महत्वपूर्ण छ । एमसीसी संसदबाट अनुमोदन हुन्छ ।

कांग्रेसले हतार गर्दैमा संसदबाट एमसीसी पारित हुन्छ र ?

हामीले हतार गरेका छैनौँ । सत्तापक्षका केही साथीहरूले तयार छैनन् होला । अधिकांश साथीहरू एमसीसीको पक्षमा छन् । पारित गर्न तयार छन् । कुनै पनि हालतमा एमसीसी पारित हुन्छ ।

भ्रष्टाचार गर्न सत्तापक्ष र प्रतिपक्ष मिलेका छन् नि हो ?

हामी मिलेका छैनौँ । प्रधानमन्त्री खड्गप्रसाद ओलीजीले भन्नुभएको छ । भ्रष्टाचार म पनि गर्दैन, भ्रष्टाचार गर्न पनि दिन्न भन्नुभएको छ । ओलीजीले भ्रष्टाचारीको अनुहार पनि हेर्दिन भन्नुभएको छ । उहाँले अँगालो मारेर भ्रष्टाचारीलाई बचाउने काम गर्नुभएको छ । ओलीका विभिन्न निर्णयहरूबाट भ्रष्टहरूलाई संरक्षण गर्नुभएको छ ।

वाइडबडी काण्ड, न्यारोबडी काण्ड, ३३ किलो सुनकाण्ड, ललिता निवासको जग्गा काण्ड यी सारा कुराहरूमा ओली सरकारको संलग्नता छ । ओली सरकारले महँगी थपेको छ । ट्याक्स बढाउनुभएको छ । अब केही नभएर पेट्रोलियम पदार्थमा संसदलाई छलेर ओलीजीले क्याबिनेटबाट पाँच रुपियाँ थप गरेर दश रुपियाँ बनाउने निर्णय गर्नुभएको छ । पुस्तकमा पनि कर लगाएर जनताको ढाढ सेक्ने काम भएको छ ।

संसदमा कांग्रेसले कुरा उठाउनै सक्दैन किन हो ?

सरकारको कार्यशैली र हाम्रो कार्यशैली फरक छ । ०४८ सालमा हामीले सरकार बनाउन नपाउँदै हनिमुन डे पनि नकुरेर कर्मचारीहरूलाई उचालेर, रेलिङ भाँचेर टायर जलाएर प्रदर्शन गर्ने कामहरू गरियो । हाम्री डेमेक्र्याट हौँ । हाम्रो उदेश्य भनेको टायर जलाउने, रेलिङ भाँच्ने होइन । संसदमा कम्युनिस्टहरूले के गर्छन् देख्नु भएको छ होला नि । संसद अबरुद्ध मात्रै गर्दैनन् ।

कम्युनिस्टले संसदको कुर्सी तोडफोड गरेर कुर्सी उचालेर फ्याक्छन् । हामी त अत्यन्त शान्त रुपबाट विरोध गर्ने हो । असहमति जनाउने हो । लोकतान्त्रिक पद्धति भनेको यही हो । गुठी विधेयकमा विरोध गर्‍यौँ । विधेयक फिर्ता भयो । मिडियाको हातखुट्टा बाँध्ने विधेयक ल्याइएको थियो । त्यसको हामीले पूरा विरोध गर्‍यौँ । पत्रकारहरू कम्युनिस्ट सरकारलाई म परेको छैन ।

रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई गम्भीर आरोप लगाउनुभएको छ । १४औँ महाधिवेशन कब्जा गर्न विभागहरूको प्रमुख र केन्द्रीय सदस्य बनाउँदा देउवाले पैसा लिनुभएको छ रे हो ? देउवालाई पैसामा पद बाँड्नु भएको आरोप पौडेलको छ नि ?

यो अत्यन्त गलत कुरा गर्नुभयो । पौडेलजीले यति निकृष्ट कुरा गर्नु हुन्छ भनेर मैले सोँचेको पनि थिइन । कांग्रेसका केन्द्रीय सदस्यहरूले पैसा तिरेर, पैसा लिएर, पैसाको चलखेल गरेर विभागीय प्रमुख बन्न जाने कुरामा रामचन्द्र पौडेलजीले आफ्नो जिब्रो सम्हाल्नुपर्छ ।

देउवाले पैसामा पद बाँडेको कुरा रामचन्द्र पौडेलले आधार र प्रमाणका आधारमा बोलेको भन्नुभएको छ नि ?

बोल्न पाएँ भनेर जे पनि बोल्ने ? विभिन्न पार्टीबाट आएका साथीहरू केन्द्रीय सदस्यमा आएका छन् । हाम्रो पार्टीको नीतिअनुसार आमन्त्रित केन्द्रीय सदस्य बनेका छन् । छटेपुटेका साथीहरू बनेका छन् । विभाग गर्नमा कुनै चलखेल भएको छैन । त्यस्तो कुरा गर्न लाज लाग्दैन ।

Published : Saturday, 2020 March 7, 11:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया