देउवाले मनोनीत गरेका नेताहरूले नै असहयोग गरेः मीनबहादुर विश्वकर्मा

मीनबहादुर विश्वकर्मा, नेता, नेपाली कांग्रेस

नेपाली कांग्रेसको १३औँ महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचत भए । उनी निर्वाचित भएर आएसँग असहयोग शुरु भयो । रामचन्द्र पौडेल र कोइराला परिवारले देउवालाई कुनै पनि निर्णय सहज रुपमा गर्न दिएन । यतिसम्म असहयोग भयो कि पार्टीका विभागहरू गठनका लागि नाम माग्दासमेत पौडेल र कोइराला परिवारले दिएन । भ्रातृ संगठनहरू गठन हुन सकेनन् । यस्तो अवस्थामा देउवाको आलोचना भयो । देउवाको चार वर्षे कार्यकाल पनि पूरा भएको छ । यो अवस्थामा देउवाको कार्यकाल कस्तो रह्यो भनेर नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मासँग हाम्रा सहकर्मीले गर्नुभएको कुराकानीको सम्पादित अशं –

कांग्रेसको १३औँ महाधिवेशनबाट सभापति शेरबहादुर देउवा सभापति बन्नुभएको चार वर्ष भयो । यो अवधिमा उहाँले के–के गर्नुभयो ?

पार्टीको सबै गुटलाई अन्त्य गरेर पार्टीलाई एक बनाउँछु भन्नुभएको थियो । सभापति बन्दै गर्दा संविधान बनाउनुपर्ने । तीन तहको निर्वाचन गर्नुपर्ने अवस्था थियो । मुलुकमा स्थायित्व गर्नुपर्ने थियो । राज्यको जिम्मेवारी उहाँले अत्यन्तै राम्रो गरेर पूरा गर्नुभएको छ । सभापति देउवाले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्न सक्नु भएन । गुटको व्यवस्थापन गरेर पार्टी अगाडि बढाउनु भएको छ । राजनीति र अन्य दलहरूप्रतिको तथा मुलुकको जिम्मेवारी सफलता साथ बहन गर्नुभएको छ । पार्टीको आन्तरिक व्यवस्थापनमा केही केही असफलता देखिएको छ ।

देउवाको कार्यकाल कांग्रेसभित्र निरासा र असफल भएको भनेर टिप्पणी आएको छ नि ?

मैले पहिला पनि भने पार्टीभित्रको गुटबन्द अन्त्य गर्न उहाँले सक्नुभएन । पार्टीभित्र सबै निर्णय सहमति गरेर गर्छु भनेर अगाडि बढ्नुभयो । सहमति भन्ने तर, समकक्षी नेताहरू भन्नु हुन्थ्यो, सहमतिका नाममा सहमति कहिल्यै पनि नगर्ने । सबै कुराहरू पार्टी अगाडि बढ्नका लागि जे–जे निर्णय गर्नुपर्छ वा पार्टी जुन ढंगले अगाडि बढ्नुपर्ने थियो त्यो भएन । विधान बमोजिम पार्टीलाई अगाडि बढाउन दिइएन ।

सहमतिबाट मात्रै जानुपर्छ भनियो । बहुमत प्राप्त सभापतिलाई बहुमतको निर्णय गर्न पनि दिइएन । विधान सम्मत चल्नुपर्ने सभापतिलाई विधान सम्मत पनि चल्न दिइएन । विधानभन्दा बाहिर गएर सहमति गरिन्थ्यो त्यसपछि आफैले सभापतिले विधान मिच्यो भनेर होहल्ला गर्ने, सहि निर्णय गर्दा पनि बहुमतको निर्णय मान्दैन भन्ने जस्ता कार्य भयो । सहमति गर्दा त्यही निर्णयमा सहमति गर्ने । पार्टी र पार्टी सभापतिलाई अनिर्णयको बन्दी बनाइएको छ ।

जसले त्यसो भनेर आरोप लगाउनुभएको छ त्यसका मुख्यपात्रहरू नै झट् हेर्दा उहाँहरू नै देखिनुभएको छ । दुनियाँका सामु छर्लङ्ग छ । गुटबाट गुटीय आवाजलाई उहाँले व्यवस्थापन गर्दै अगाडि बढ्नुपर्ने वा गुट समाप्त गर्नुपर्ने कुरामा सभापति देउवा चुक्नुभएको छ । अलमलिनुभएको छ । देउवाले पार्टी असफल बनाउनुभयो भनेर जसले भनेका छन् उहाँहरूकै क्रियाकलाप बाहिर देखिएको छ कि बैठकमा नआउने, बैठक बहिस्कार गर्ने, सबै एजेण्डामा सहमति भइसकेपछि पनि त्यस एजेण्डालाई नमान्ने, सबै एजेण्डामाथि सहमति भइसकेको विषयमा नबसिदिने कार्य गरिएको छ ।

जब बहमुतको निर्णय हुन्छ अन्यत्र अन्य व्यवहारहरू जस्तै सभापतिहरू बोलाएर त्यसका विरुद्धमा अभियान गर्ने, गालीगलौज गर्ने गरेर अहिले सभापतिलाई विभिन्न खालका बखेडा झिकेका कारणले पार्टीमा अल्मलिएको कुरा सत्य हो ।

सभापति देउवाले कांग्रेसलाई सहि ढंगले क्रियाशील बनाउन सक्नु भएन नि । त्यो त सत्य हो ?

पार्टीलाई क्रियाशील बनाउनै दिइएन । सभापतिज्यूले पार्टीलाई क्रियाशील बनाउन प्रयास पनि गर्नुभयो । जे कुरामा पनि अर्को समूहबाट असहयोग भयो । राम्रो निर्णय गर्दा पनि विरोध गरेर हैरान बनाउनुभयो ।

साधारण निर्णय गर्दा नेपाली कांग्रेस पार्टीले अब भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने भन्ने निर्णय गर्न खोज्दा त्यो आन्दोलन भन्ने शब्द झिक भनियो । उहाँहरूले फेरि बाहिर गएर कांग्रेसले आन्दोलन गर्न सकेन भन्नुभयो । महाधिवेशन गरौँ भनेर १४औँ महाधिवेशनको मिति तोक्दा पनि बहुमतले निर्णय ग¥यो भन्नुभयो । त्यसलाई हामी मान्दैनौँ भन्नु हुन्छ । विधानअनुसार समिति र विभागहरू गठन गरौँ भन्दा हाम्रा मान्छे राख्नै पर्छ भन्नु हुन्छ । त्यसरी राख्दा विधानमा अट्दैन । देउवालाई आरोप लगाउनेहरूले दुई वर्ष संसदीय बोर्ड र कार्यसम्पादन समितिमा बसेर काम गर्नुभयो । आफै बस्नुभयो ।

देउवाले संसदीय बोर्ड बनायो यसलाई खारेज गर्नुपर्छ भन्नु हुन्छ । संसदीय बोर्डमा बसेर आफ्नो स्वार्थ पूरा गरिसकेपछि खारेजीको माग गर्नुभयो । त्योपनि सभापति देउवाजीले खारेज गरिदिनुभयो । निर्णय गर्दै जाने, उहाँहरू निर्णयका विरुद्ध अर्को प्यारालाल बैठकहरू बस्दै जाने काम भयो । बैठक बस्नुभन्दा पहिला गुटको बैठक राख्ने काम भयो । गुटको बैठकले पार्टीका बैठकहरू अबरोध गर्ने कार्य भयो । दुनियाँका सामु सबै कुरा छर्लङ्ग छ । पार्टी पंक्तिमा मात्रै होइन कि पार्टी बाहिर पनि सबै छर्लङ्ग छ । सभापति शेरबहादुर देउवाको नेतृत्वलाई हिजोदेखि नै स्वीकार नगरेर उहाँले गरेका कुनैपनि काम स्वीकार नगर्ने कार्य भयो ।

अनि बाहिर आएर देउवाले पार्टी एकलौटी चलाए, पार्टीभित्र कब्जा गर्‍यो, पार्टीमा गुट हाबी भयो भनेर आरोप लगाएएका छन् । आफू पहिला गुटको बैठक बसेर बैठकमा जाने, पार्टी अथवा देउवाले सभापतित्व गरेको बैठकमा पुग्दा ल गुटको बैठक बसाल्यो भनेर आरोप लगाउने कार्य भयो । पहिला आफै गुटको बैठक बसालेर मात्रै मूल बैठकमा बसाल्ने यस्तो क्रियाकलाप गर्ने नेताहरूले नै आज पार्टीलाई बन्धक बनाउनु भयो ।

पार्टी सभापति शेरबहादुर देउवा भएकाले यी सबै चुनौतीहरूलाई सामना गर्दै त्यसबाट बच्दै पार्टीलाई राम्रोसँग सञ्चालन गर्नुपर्नेमा पार्टी सञ्चालन गर्दा आउने चुनौतीहरू थिए, यी सम्भावित चुनौती नै थिए । काम गर्न सहज रुपले दिँदैनन् भन्ने कुरा सभापतिको उम्मेदवार हुँदैका बेला देउवालाई थाहा थियो । थाहा पाइरहेका चुनौतीलाई पनि सल्टाउँदै अगाडि बड्नुपर्नेमा अगाडि बढ्न नसक्नु एक किसिमको कमजोरी नै हो । मैले पनि स्वीकार गरेको छु ।

पार्टी सुध्रिन्छ भनेर देउवासँग धेरैको अपेक्षा थियो । उहाँले कसैलाई मिलाउन सक्नु भएन होइन ?

सभापति देउवाले सबैलाई मिलाउनुभयो । उहाँ सभापतिको उम्मेदवार हुँदै गर्दा कांग्रेसभित्र तीन जना सभापतिको उम्मेदवार हुनुहुन्थ्यो । तीन वटा गुट थियो । पार्टीभित्र गुटको विभाजन नगर्दा पार्टी थिलोथिलो भयो । चुनावमा सशक्त भएर अन्य दलसँग प्रतिस्पर्धा गर्न सकिएन, सबैलाई पहिला समेट्छु र पार्टीलाई एकढिक्का बनाउँछु भन्नुभयो । सभापतिमा निर्वाचित हुनुभयो । निर्वाचित भएपछि तेरो र मेरो भन्नुभएन । सबै गुटबाट उठेका पदाधिकारी र सदस्यहरूलाई गुटैसहित केन्द्रीय कार्यसमितिमा मनोनीत गरिदिनुभयो ।

पार्टीको विधानले दिएको वीस प्रतिशत मनोनीत गर्ने हक केका लागि भन्दा कथंकदाचित केन्द्रीय कार्यसमितिमा निर्वाचनबाट सभापतिको बहुमत आएन भने बहुमतबाट पनि निर्णय गरेर पार्टीलाई निर्णायक क्रियाशील बनाउनका लागि दिएको सुविधामा देउवाले सबैलाई गुट नहेरिकन अफ्ठ्यारो नमानिकन केन्द्रीय सदस्यमा मनोनीत गर्नुभयो । आफ्नो खरो विरोध गर्नेहरूलाई पनि मनोनीत गर्नुभयो । हुँदाहुँदा यस्तोसम्म अवस्था आयो कि उहाँले मनोनीत गरेका केन्द्रीय सदस्यहरूनै अब शेरबहादुर देउवा असफल भयो, भनेर बैठक बहिस्कार गर्न लाग्नुभयो । आजका मितिसम्म पनि देउवाले मनोनीत गरेका केन्द्रीय सदस्यहरूले देउवाकै बैठक बहिस्कार गरिरहेका छन् । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरिरहेका छन् ।

जतिबेला पार्टी सभापति सुशील कोइराला हुनुहुन्थ्यो त्यो बेला नेविसंघ, तरुण दल र महिला संघ भङ्ग गर्ने निर्णय गर्नुभयो तीन वटै भ्रातृ संस्था पार्टी कार्यालयमा अनसन बसे । सभापति, उपसभापति, महामन्त्री कसैले पनि त्यो अनसन हेर्न पनि जानु भएन ।

दशैँको बेला थियो । जमरा राखेर बसे साथीहरू । सोह्रश्राद्धामा साथीहरूले पितृहरूको श्रद्धा गरे । त्यस बेला हामीले भनेका थियौँ, पार्टीभित्र अत्यन्तै नराम्रो बेथिति बढ्यो । शेरबहादुर देउवालाई जुस खुवाएर भएपनि अनसन तोडिदिनुपर्‍यो भनेर आग्रह गर्‍यौँ । त्यस बेला देउवाले म सुशील कोइरालाको विरुद्धमा गएर अनसन तोडन मलाई नैतिकताले दिँदैन । म सभापति हारेपछि केन्द्रीय कार्यसमितिमा मलाई सुशील कोइरालाले मनोनीत गर्नुभएको हो । म सुशीलको मनोनीत केन्द्रीय सदस्य भएकोले केन्द्रीय सदस्य रहँदै गर्दा सुशील कोइरालाको विपरित गएर अनसन ताडाउनका लागि जुस खुवाउनु सक्दैन भनेपछि अर्को उपाय खोजिएको थियो ।

त्यसपछि देउवाले केन्द्रीय सदस्य पदबाट राजीनामा गर्नुभयो । राजीनामा सार्वजनिक गरेर त्यही राति गएर जुस खुवाएर नेविसंघ, तरुण दल, महिला संघ अनसन तोडेर पार्टीमा सहज वातावरण सिर्जना गर्नुभयो । अनि वार्ता शुरु भयो । वार्ताबाट पार्टी अगाडि बढ्यो । सुशील कोइरालाले विभाग पनि गठन गर्न सक्नुभयो । पदाधिकारी पनि बनाउनुभयो । आज तपाईहरूले देख्नुभएको छ । कांग्रेसको महाविधेशन छिटो गर, छिटो गर भन्छन् ।

महाधिवेशन गर्न क्रियाशील सदस्यता बाँड्ने, समायोजन गर्ने, सबै कार्यतालिका पास भयो । त्यसपछि उहाँहरू बैठकमा आउनुभएन । बहुमतका निर्णय मान्दैनौँ भनेर उहाँहरूले सभापतिहरूको भेला गर्नुभयो । पार्टीभित्र यस्तो नौटंक भइसकेपछि सभापति शेरबहादुर देउवा होइन, सभापति महादेव भएपनि चलाउन सक्नु हुन्न । पार्टीभित्र यो बेथिति ल्याउने, पार्टीलाई थिलोथिलो बनाउने कुरामा सभापतिको मात्रै भूमिका छैन ।

जिम्मेवारी त सभापति देउवाले लिनुपर्‍यो नि ?

लिनुपर्छ । यस्तो उछृङ्खल क्रियाकलाप गर्ने उहाँका केन्द्रीय सदस्यहरूलाई कारबाही गर्ने हिम्मत गर्न नसक्नु पनि गल्ती भयो । पार्टीभित्र सधै सहमति भनिरहने देउवाको सदासयतालाई उहाँका समकक्षी साथीहरूले कमजोरी ठाने । पार्टीभित्र देउवालाई असहयोग गरिरहनुभएको बुझिरहनुभएको छैन । अहिले देउवा मात्रै कमजोर भएको होइन सिङ्गो पार्टी कमजोर भएको छ ।

आजसम्म जसले पार्टीमा सभापतिलाई असहयोग गरेर बैठक बसाल्न नदिने, बैठकको निर्णय नमान्ने, पार्टीका अनुशासनका पद्धति नमान्ने, अनुशासनको आचार संहित नमान्ने भनेर उहाँहरूले प्रस्ताव ल्याउनु भएको छ । पार्टीभित्र यस्तो अवस्था पनि छ । बुढानिकलण्ठमा गएर बैठक बस्नु हुन्छ । अनि बुढानिकलण्ठबाट पार्टी चल्छ भनेर भन्नु हुन्छ । अर्घेलो थाप्ने काम भइरहेको छ । पार्टी बिगर्नुमा सबै जिम्मेवार हुनुहुन्छ ।

Published : Thursday, 2020 March 5, 8:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया