देउवा–पौडेल मिल्ने हो भने कम्युनिस्टहरू आफै भाग्छन्ः रामहरि खतिवडा

धरान । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले पार्टी संकटमा परेका बेला सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले तेरो मेरो नभनिकन हातेमालो गर्न आवश्यक रहेको बताएका छन् ।

धरानमा नेपाली कांग्रेसले बुधबार आयोजना गरेको कार्यक्रममा युवा नेता खतिवडाले दुई शीर्ष नेताहरू मिलेको सन्देश दिनुपर्ने बताए ।

‘धरानमा कांग्रेसले ६० वर्षपछि जितेको छ । यो ठाउँबाट दुई शीर्ष नेताहरूले एकताको सन्देश छर्न सक्नुपर्छ’, उनले भने, ‘गुटभन्दा माथि उठेर पार्टी बनाउनुपर्छ ।’

नेपाली कांग्रेसकै नेतृत्वमा ०७ सालमा राणालाई हटाएर प्रजातन्त्र ल्याएको स्मरण गरेका खतिवडाले भने, ‘राणालाई फाल्यौँ, पञ्चायतलाई फाल्यौँ, राजालाई फाल्यौँ, जनताको अधिकार खोस्न खोज्यो भने यो दुईतिहायको कम्युनिस्टलाई पनि फाल्छौँ ।’ उनले जनतालाई संविधानले दिएको अधिकार खोस्ने काम कतैबाट हुन नहुने चेतावनी दिए ।

कम्युनिस्टहरूले अधिनायकवाद ल्याउन खोजिरहेका बेला कांग्रेस पार्टी एक हुनुपर्ने उनले बताए । ‘कम्युनिस्ट सरकार तानाशाही बनेको छ । संविधानलाई गलत ब्याख्या गरिरहेको छ’, उनले भने, ‘मानवअधिकार हनन् भएको छ, प्रेसमाथि आक्रमण भएको छ ।’

युवा नेता खतिवडाले कम्युनिस्टहरू हाबी भएर लोकतन्त्रमाथि धावा बोल्ख खोजिरहेका बेला प्रजातन्त्रवादी शक्ति एक हुनुपर्ने बताए ।

Published : Wednesday, 2020 February 19, 6:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया