देउवाले दिए कम्युनिस्ट सरकारलाई एउटा अबसर

काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभाको निर्वाचन एकलौटी रुपमा आफू केन्द्रित बनाएको छ ।

राष्ट्रिय सभाको निर्वाचन नेकपाको पक्षमा जान्छ भन्ने कुराको जानकारी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई दुई वर्ष अगाडि नै थाहा थियो । कांग्रेसले गुमाएको राष्ट्रिय सभाको निर्वाचनलाई अबको पाँच वर्षपछि मात्रै पूरा गर्न सक्नेछन् ।

त्यो पनि मिलेर निर्वाचनमा गएर जितेपछि मात्रै । कांग्रेसलाई अबका दिनहरू कठिन छन् ।सत्तारुढ नेकपाले पनि नेपाली कांग्रेसलाई विश्वासमा नल्याउँदासम्म समस्याको समाधान हुँदैन ।

बहुमत छ भन्दैमा नेकपाले जे पनि गर्न मिल्दैन । जनताले दिएको मतदानलाई नेकपाले दुरुपयोग गर्न मिल्दैन । नेकपाले प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई विश्वासमा ल्याउन सक्नुपर्छ ।

विश्वास मात्रै होइन सहमति र सहकार्यकासाथ अगाडि बढ्नुपर्छ । कांग्रेसले आफूलाई सांगठनिक रुपमा पनि बलियो बनाउन सक्नुपर्छ ।

नेकपाले सरकार र सदन मात्रै होइन सडक पनि कब्जा गरेको छ । यस्तो अवस्थामा नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो चुनौती छ । कांग्रेसले त्यो चुनौतीलाई सामना गर्न सक्नुपर्छ । संघर्षमा चुनौतीको सामना गर्ने हो भने संख्यालाई भन्दा पनि विचारलाई ठूलो मानिन्छ ।

नेपाली कांग्रेसले आफ्नो विचारलाई जनता समक्ष पुर्‍याउन सक्यो भने ठूलो जित हुनेछ । नेकपाको सरकार चारैतिर बद्नाम भइरहेको छ । नेकपाको सरकारबाट जनताले अपेक्षा राख्न छाडिसकेका छन् ।

भ्रष्टाचार, कमिशन र अनियमिततामा डुबेका नेकपाका जनप्रतिनिधिहरूलाई सहि बाटोमा ल्याउनुपर्ने बाध्यता पनि छ ।

नेपाली कांग्रेसलाई विश्वासमा ल्याएर सरकारले विकासको कार्यक्रमलाई अगाडि बढाउनुपर्छ । अन्यथा देश र जनताको जीवनस्तरमा कुनै सुधार हुनेछैन ।

संसदको मंगलबारको बैठकमा सभापति शेरबहादुर देउवाले कांग्रेसले सरकारलाई सहयोग गर्न तयार रहेको बताएका थिए । सरकारका लागि देउवाको यो अभिव्यक्ति अत्यन्तै सकारात्मक हो ।

अर्कोतर्फ सरकारले पछिल्लो पटक अलोकतान्त्रिक निर्णयहरू गरिरहेको छ । पत्रकारहरूलाई वकिलले जस्तो लाइसेन्सको व्यवस्था राखेपछि आलोचना भएको छ ।

समाचार लेख्नका लागि लाइसेन्स होइन योग्यता र क्षमताको कुरा उठाइएको छ । नेकपाले आफ्ना विरोधीहरूलाई ठेगान लगाउन लाइसेन्सको व्यवस्था राखेको आरोप छ । यस्तो अवस्थामा प्रतिपक्ष नेपाली कांग्रेसलाई विश्वासमा लिएर अगाडि बढ्नुपर्छ । (सम्पादकीय)

Published : Thursday, 2020 January 30, 11:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया