कांग्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुन्छ

असन्तुष्ट समूहका नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेलामा उठेका विषय अत्यन्तै गम्भीर विचार योग्य छन् । बाहिर धेरै कुरा नआएपनि जिल्ला सभापतिहरूले नेपाली कांग्रेस बलियो बनाउनुपर्ने सुझाव दिएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूह निकटका जिल्ला सभापतिहरूले यस पटक गुटलाई भन्दा पनि संस्थालाई ध्यान दिएका छन् ।

गुटका हिसाबले पौडेल समूहप्रति झुकाब राख्नु स्वभाविक रहेपनि जिल्ला सभापतिहरूले शेरबहादुर देउवासँग मिलेरै जानुपर्ने बताएका हुन् । पौडेल समूहले आफूलाई सहज हुँदासम्म जिल्ला सभापतिहरूलाई नसम्झने । तर, अफ्ठ्यारो पर्दा जिल्ला सभापतिहरूको सम्झना आउने कुराको पनि यस पटक सभापतिहरूले विरोध गरेका छन् । विरोध गर्दैगर्दा शेरबहादुर देउवाको पनि आलोचना गरेका छन् ।

अबका दिनमा देउवालाई पनि सजिलो छैन । देउवाले आफू निकटका नेताहरूको मात्रै कुरा सुनेर काम गर्दा आउने परिणामप्रति सचेत भएको हुनुपर्छ । सभापतिहरूले दिएको सुझावलाई देउवाले मान्नुपर्छ । जिल्ला सभापतिहरू भनेका नेपाली कांग्रेसका मेरुदण्ड हुन् । उनीहरू जुन गुटको भएपनि आखिर जिल्ला सभापतिहरू नेपाली कांग्रेस नै हुन् ।

केन्द्रमा सभापति शेरबहादुर देउवा निरंकुश भएपनि जिल्लाको हकमा जिल्ला सभापतिहरू कम छैनन् । उनीहरूले पनि देउवाकै नेताहरूलाई पेल्ने गरेका छन् । अबका दिनमा नेता तथा कार्यकर्ताहरूको योग्यता र क्षमताको आधारमा निर्णय गर्नुपर्छ । आफ्नो गुटको भएकै कारण जेपनि गर्नुपर्छ भन्ने मान्यता त्याग्नुपर्छ । देउवालाई आएको समस्या जिल्ला सभापतिहरूलाई भोलिका दिनमा नआउला भन्न सकिँदैन । यस विषयमा सबैले ध्यान दिनुपर्छ ।

अहिले नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा छन् । भोलिका दिनमा देउवाको ठाउँमा अर्को व्यक्ति सभापति हुनेछ । त्यस बेला देउवालाई अहिले परेको समस्या पर्दैन भन्न सकिँदैन । त्यसैले नेपाली कांग्रेसका नेताहरू मिलेर जानुको बिकल्प छैन । नेपाली कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ भन्ने कुराको जानकारी सबैलाई हुनुपर्छ ।

कम्युनिस्ट सरकारले संविधानले जनतालाई दिएको अधिकारलाई कटौटी गर्ने गरेर विधेयक तथा कानूनहरू ल्याइरहेका छन् । त्यसलाई रोक्नपनि नेपाली कांग्रेस बलियो हुनुपर्छ । संसदमा संख्याको रुपमा नेपाली कांग्रेस निकै कमजोर छ । तर, जनता नेपाली कांग्रेसका पक्षमा अहिले पनि छन् । अब कांग्रेसका नेताहरूले सबै कुरा भुलेर एक भई काम गर्नुपर्छ ।

Published : Friday, 2020 January 10, 10:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया