बामदेवलाई हराएका गौतमले भने, ‘कम्युनिस्टकाे घमण्ड ताेड्न सफल भयाैँ’ (अन्तर्वार्ता)

सञ्जय गौतम, सांसद, सभापति, नेपाली कांग्रेस, बर्दिया

नेपाली कांग्रेसले उपनिर्वाचनमा आंशिक उपलब्धि हासिल गरेको छ । प्रदेश, उपमहानगर र वडाहरूमा थोरै भएपनि सिट संख्या बढाएको छ । प्रतिशतमा मत संख्या पनि बढाएको छ । वृद्धि भएको सिट संख्याबाट नेपाली कांग्रेस सन्तुष्ट छैन । उनले साेँचे अनुसार सिट जित्न नसके पनि कम्युनिस्टहरूकाे घमण्ड ताेड्न सफल भएकाे बताए ।

दुईतिहाइको कम्युनिस्ट सरकार अलोकप्रिय भइरहेका बेलामा पनि कांग्रेसले सोँचे अनुसारको सिट जित्न नसकेको भनेर कार्यकर्ताहरूले नेतृत्वको आलोचना गरेका छन् । सञ्जयकुमार गौतम बर्दिया जिल्लाका कांग्रेस सभापति पनि हुन् ।

उनले प्रतिनिधि सभा निर्वाचनमा नेकपाका प्रभावशाली नेता वामदेव गौतमलाई पराजित गरेका थिए । यसैसन्दर्भमा नेपाली कांग्रेसका प्रतिनिधि सभाका सांसद सञ्जयकुरमा गौतमसँग हाम्रा सहकर्मीद्वारा गरिएको कुराकानीको सम्पादित अंश –

नेपाली कांग्रेसले उपनिर्वाचनबाट के पायो ?

उपनिर्वाचनले के देखाउँछ भने जनमत हामीसँग हिजो थियो । त्यसमा हामीले उल्लेखनीय सुधार गर्न सकेनौँ । हामीलाई जुन विश्वास थियो कि यो दुईतिहाइको सरकारले यो साढे दुई वर्षमा जनमत गुमाएको छ भन्ने खालको जुनखालको एउटा मनोविज्ञान थियो ।

त्यो पनि खासै देखिएन । संगठनात्मक दृष्टीकोणले हाम्रो स्थिति पनि त्यति सुदृढ देखिएन । र, जस्तो किसिमले अवसर पाएको थियो यो दुईतिहाइको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकारले उसले राम्रो त गरेकै छैन । नराम्रो मात्रै गरेको छ ।

तर, पनि एउटा संगठनभित्रको आफ्नो नियन्त्रणलाई कायम राखेको जस्तो भान भएको छ । अहिलेको जनमतले त्यही भन्छ । अहिलेको जुन परिणाम दियो त्यसले हामीलाई पनि उत्साहित हुने वातावरण बनेको देख्दिन ।

हामी धेरै उत्साहित हुनुपर्ने छैन । यो परिणामको समीक्षा गर्नुपर्छ । हामी जिम्मेवारीमा रहेका पार्टीका नेताहरूले समीक्षा गर्नुपर्छ । सबैले यसको निर्मतापूर्वक समीक्षा गरेर आगामी दिनमा नेपाली जनताले के चाहेका छन् ? हामीबाट भन्ने कुराको निष्कर्ष निकाल्नुपर्छ ।

कम्युनिस्ट पार्टीको दुईतिहाइको बहुमतको सरकार केन्द्रमा पनि छ । प्रदेशहरूमा पनि बर्चश्व छ । स्थानीय तहरूमा पनि उनीहरूकै बर्चश्व छ । उनीहरूको जुनकिसिमको काम भ्रष्टाचारमा चरम उत्कर्षमा छ ।

यति ठूलो भ्रष्टाचार छ कि जसको कल्पना पनि गर्न सकिदैन । यस्तो नैतिकपतन खालको राजनीतिक नेतृत्वको राजनीतिक चरित्रमा ह्रास आएको छ । यो बेलामा पनि जनताले दिने अभिमत उनको पक्षमा केही हदसम्म देखिएको छ । त्यो सोँचनीय पक्षीय छ । यहाँको मनोविज्ञानका विषयमा विश्लेषण गर्नुपर्छ ।

उपनिर्वाचनमा नेपाली कांग्रेसले सिटहरू गुमायो कि गुमाएन ?

गुमाउनु र पाउनुभन्दा पनि हाम्रो जुन परिणाम आयो त्यसले के देखाउँछ भने हामीलाई त्यति उत्साहित पार्न सकेन । हामी उत्साहित हुनुपर्ने म चाहिँ देख्दिन । योभन्दा हाम्रो परिणाम राम्रो आउन सक्नु पर्थ्यो । नेपाली जनताका बीचमा हाम्रो नेतृत्व, जुन हामीसँग छ, जुन संगठन हामीसँग छ । त्यो संगठनमा अझै पनि नेपाली जनता विश्वस्त भैसकेको छैन ।

नेपाली कांग्रेसले कास्की २ लाई प्रतिष्ठाको रुपमा लिएको थियो । पार्टीले महत्व दिएको थियो । कास्कीमा सोँचे जस्तो भएन । नेपाली कांग्रेसले जित्न त सकेन नै मतअन्तर पनि घटाउन सकेन किन होला ?

हाम्रो माइक्रोम्यानेजमेन्ट कमजोर नै थियो । कास्कीमा पनि दाङमा पनि । जहाँ माइक्रोम्यानेजमेन्ट थियो त्यहाँ हाम्रो पक्षमा परिणाम ल्याएर आयौँ । जहाँ हामी सतही ढंगले लाग्यौँ । हामी प्रचार मुखी मात्र भयौँ । हाम्रो संगठन र हामी गहिराइमा पुग्न सकेनौँ त्यहाँको परिणामले हामीलाई निरास पा¥यो ।

नेपाली कांग्रेसले केन्द्रबाट खटाएका केन्द्रीय प्रतिनिधिहरूले कमाण्डिङ गर्न सक्नु भएन ? त्यही भन्न खोज्नु भएको हो ?

कमाण्डिङभन्दा पनि नेपाली कांग्रेस आजको जुन परिस्थिति र परिवेशमा छ, हामीले हाम्रो संगठनका विषयमा अझ गहिरो र गम्भीर भएर सोँच्नु पर्ने आवश्यक्ता छ । उहाँहरूले प्रयास गर्नुभयो । तर, उहाँहरूको प्रयासको मुताविक कार्यकर्ताहरूले तल्लोस्तरमा गएर काम गरिकन वडाको स्तरमा काम गरेकी गरेनन् ।

भन्ने कुरा चाहिँ विचार पुर्‍याउनुपर्ने देखिन्छ । नेताहरूले पनि यो कुरा सोँच्नु पर्ने हो । जसरी हाम्रो संगठन तलसम्म गएर जनताका बीचमा हाम्रा सन्देशहरू पुर्‍याउनुपर्ने थियो । हाम्रा कुराहरू राख्नुपर्ने थियो । के लाग्छ भने त्यहाँसम्म हामी पुग्न सकेका छैनौँ । थाेरै तयारी नपुग्दा कम्युनिस्टहरूलाइ पूरै रुपमा हराउन हामी चुक्याैँ ।

उपनिर्वाचनबाट आएको परिणामले नेपाली कांग्रेसलाई सुध्रिने मौका आएको हो ?

म व्यक्तिगत उत्साहित छैन । नेपाली कांग्रेसको सांसदको नाताले, एउटा जिल्लाको सभापतिका नाताले मपनि दाङको चुनावमा केन्द्रित थिएँ । नेपालगञ्जको चुनावमा केन्द्रित थिएँ । त्यहाँ पनि परिणामहरू त्यति सुःखद् रहेनन् हाम्रा लागि । मलाई के लाग्छ भने हाम्रो परिणाम हाम्रा लागि किन सुःखद् छैनन् भने धेरै ठूलो उन्माद पाल्नुपर्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई आवश्यक्ता छैन ।

त्यहाँ पनि नेपाली जनताले आफ्नो ‘डिसएग्रिमेन्ट सो’ गरेका छन् । टेक्निकली कुन ठाउँमा एक दुई सिट बढ्यो र एक दुई सिट घट्यो भन्ने कुरा र कति प्रतिशत मत बढ्यो र घट्यो भन्ने कुरा त्यो गणितीय आँकलन होला । तर, जनताको म्याण्डेट हेर्दा खेरी के देखिन्छ भने अहिलेको परिस्थितिमा सत्ताधारी दलसँग पनि सन्तुष्ट छैनन् नेपाली जनता । हामीसँग पनि सन्तुष्ट छैनन् हुन सकिरहेका छैनन् । उनीहरूसँग बिकल्प पनि छैन ।

उपनिर्वाचनमा नेपाली कांग्रेसको गुट र उपगुटको प्रभाव रह्यो कि रहेन ?

गुट र उपगुटको प्रभाव उपनिर्वाचनमा कम रह्यो । त्यो देखिएन । हामीले त्यो अनुभूति गरेनौँ । त्यो चाहिँ नेपाली कांग्रेसका लागि राम्रो पक्ष हो ।

कास्की, बागलुङ र दाङमा कांग्रेसले जित्न सकेन तर, भक्तपुर र धरानमा त कांग्रेसले जित्यो । यो कसरी भयो ?

जुन ठाउँमा सुक्ष्म रुपको व्यवस्थापन गर्न हामी सक्यौँ । र, हाम्रो कार्यकार्ता साथीहरूलाई तलसम्म परिचालन गर्न सक्यौँ । त्यो ठाउँमा हाम्रो पक्षमा परिणाम राम्रो आयो । जनता अहिले पनि हाम्रो पक्षमा छ । जनता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पक्षमा छैन । आमजनता हाम्रोबीचमा छ । आमकार्यकर्ता पनि हाम्रो गाउँघरमा तलसम्म छ । तर, हामीले कार्यकर्ताहरूलाई जुन रुपले परिचालन गर्नुपर्ने थियो ।

त्यो रुपले परिचालन गर्न सकेनौँ । हाम्रो कुरालाई जनताको बीचमा पुर्‍याउनु पनि सकेनौँ । हामीले जनतालाई कन्भिन्स पनि गर्न सकेनौँ । अब यसमा कसैलाई दोष लगाउनुभन्दा पनि नेपाली कांग्रेस आफू पनि सच्चिने हो यो परिणामबाट । दुई वर्षपछि आउने चुनावका लागि हामीले आजैदेखि यो विषयमा समीक्षा गर्नुपर्छ ।

कांग्रेसले उपनिर्वाचनको समीक्षा मात्रै गर्ने कि ? संगठन बनाउने कि ? वा कार्यकर्ता पनि गाउँमा परिचालन गर्ने ? के गर्ने अब ?

अहिले हाम्रो संगठन छैन । नेविसंघ छैन । तरुण दल छैन । महिला संघ छैन । अरु भ्रातृ संस्थाहरूको अवस्था झन दैनिय छ । पार्टीको तल्लो निकायहरू समायोजन भएको छ । तर, वडादेखि लिएर नगरसम्म, गाउँसम्म, क्षेत्रसम्म कतै पनि बैठकहरू बसिरहेको छैन । हामीले बाहिर जति ठूलो कुरा गरेपनि संगठनको दृष्टीकोणले हामी कमजोर छौँ । आम जनता हामीप्रति आशावादी छ । हाम्रो संगठन मजबुत छैन ।

उपनिर्वाचनलाई लिएर नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवा सफल कि असफल ?

यसरी त नभनौँ । व्यक्तिगत कुरा गर्नु हुँदैन । अधिवेशनमा नेतृत्वको चयन हुनुभनेको विचारको चयन हुने हो । एउटा अधिवेशनले एकजनालाई सभापति बनाइ सकेपछि त्यो कार्यकाल उसलाई काम गर्न दिनुपर्छ । समीक्षा त अधिवेशनमा गर्ने हो । अहिले मैले अधिवेशनको मुखमा सभापतिको सफलता र असफलताभन्दा पनि यो हामी सबै नेपाली कांग्रेसको असफलता हो ।

यसलाई हामीले कुनै पनि ढंगबाट अनुकूलताले ब्याख्या गर्ने कुरा अर्कै हो । म शुरुदेखि नै एउटा पक्षमा लाग्ने मान्छे । म यो अनावश्यक आत्मरतिमा रमाउन हुँदैन । ग्राउण्ड लेबलको एनलाइसिस गरेर हिँड्नुपर्छ । भविष्य निर्धारण संगठनले नै गर्ने हो ।

संगठनमा ध्यान दिनुपर्छ भन्न खालको मान्छे परेँ । संगठनमा मेरो विशेष चासो छ । यसमा हामी सबै जिम्मेवार छौँ । यो परिणामका लागि एउटा व्यक्ति विशेषलाई दोष दिएर उम्किन पाइँदैन । मपनि दोषी छु ।

उपनिर्वाचन कांग्रेसका लागि फलदायी ठान्नु भयो तपाईले ?

फलदायी र नफलदायीभन्दा पनि योभन्दा राम्रो परिणाम हाम्रो आउनु पर्थ्याे । हामीले ल्याएर आउन सक्नुपर्ने थियो । जनता हाम्रो पक्षमा थिए । हाम्रो संगठनको कमजोरीका कारणले गर्दा खेरी हामी त्यो ठाउँमा पुग्न सकेनौँ । त्यो चाहिँ दुर्भाग्य हो ।

नेपाली कांग्रेसको महाधिवेशन कहिले हुन्छ ?

महाधिवेशन समयमै गरिदिए राम्रो हुन्थ्यो । समयमा भए राम्रो हुने थियो । पार्टीले संगठन खोजेको छ । संगठनको अधिवेशन भइदिए चलायमान हुने थियो पार्टी । पार्टीको समयमा अधिवेशन भइदिए हुन्थ्यो भन्नेमै छु म । तर, एक वर्ष सबै कुराले लम्बिने नै भयो । त्यो देखिन्छ । त्योपनि समयमा आफ्नो गति र कोर्ष पूरा गरिदिए हुने थियो ।

प्रदेश कार्यसमितिहरू मनोनीत गरेर ल्याउने कि अधिवेशन गरेर ल्याउने ?

अब त्यसको अर्थ र औचित्य छैन । किन भने सबै तहका निर्वाचनहरू सम्पन्न भइसकेका छन् । अब कार्यसमितिहरू बनाएर भन्दा पनि अब निर्वाचनबाटै ल्याएर आउँदा राम्रो देख्छु म चाहिँ । कार्यसमिति बनाएर तेरो र मेरो गरेर । यता तान्ने, उता तान्ने गरेर फेरि कार्यकर्ताका बीचमा एकखालको विवाद आउन सक्छ ।

संसदको अधिवेशनबारे नेपाली कांग्रेसको धारणा के हो ?

अधिवेशन बोलाउन यो सरकार किन ढिलो गरिरहेको छ यो सरकारले ? यो सरकार आफै सभामुखको विषयमा नेकपाभित्रको समझदारी नबन्नाका कारण गर्दाखेरी यो परिणाम आएको जस्तो लाग्छ । मलाई त के लागेको थियो भने चाँढै नै संसद बोलाएर कतिपय बिलहरू त्यतिकै पेण्डिङमा बसिरहेका छन् । सभामुख र उपसभामुखको चयनको प्रक्रियाहरूलाई टुंग्याउनुपर्ने थियो ।

उपसभामुख उहाँहरूको अहिले पनि हुनुहुन्छ । सभामुख त बास्तवमा नेपाली कांग्रेस वा अन्य पार्टीहरूलाई दिनुपर्ने हो । त्यो नभएर उहाँहरू अरु कुनै रणनीतिमा जाने हो वा उपसभामुखलाई राजीनामा गराउने र सभामुखमा आफ्नो उम्मेदवार बनाउने हो भने अर्को वातावरण निर्माण गर्नुप¥यो । उहाँहरूका बीचमा यो समाझदारी बनेको छैन ।

Published : Thursday, 2019 December 5, 12:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया