भ्रष्टाचार गरेर सुन्निएका अरिँगालहरुको पराजय निश्चित छः दुर्लभ थापा (अन्तर्वार्ता)

भक्तपुर जिल्ला कम्युनिस्टहरूको गढका रुपमा चिनिएको छ । नेपाल मजदुर किसान पार्टी (नेकपा)को गढका रुपमा चिनिए पनि पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पकड जम्दै गएको छ । तर, नेकपाले पनि जनताको पक्षमा खासै काम गर्न नसकेपछि भक्तपुरका जनताले नेपाली कांग्रेसलाई नजर लगाउन थालेका छन् । मंसिर १४ गते उपनिर्वाचन हुँदै छ ।

कांग्रेसको तर्फबाट भक्तपुर क्षेत्र नम्बर १ ‘क’मा प्रदेश सभातर्फ कृष्णलाल भँडेलले उम्मेदवारी दिएका छन् । चुनाव प्रचारका क्रममा भँडेलकी आमाको निधन भएपछि कांग्रेसको चुनावी कार्यक्रमको कार्य तालिका प्रभावित बनेको छ । सोही विषयमा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापासँग हाम्रा सहकर्मीले गर्नुभएको कुराकानीको सम्पादित अंश : –

भक्तपुर कम्युनिस्टको गढ भनिन्छ । प्रचार–प्रसार कसरी गर्नुभएको छ ?

यो चुनाव निर्दलीय होइन । पार्टीले उम्मेदवार दिएको छ । पार्टीले खटाउने हो । अरु बाँकी काम पार्टीका साथीहरू खटिएर गर्छौं । पञ्चायतकालमा उम्मेदवार ठूलो रहन सक्छ । नेपाली कांग्रेसको उम्मेदवारलाई रुख चिन्हमा मतदान गर्नको लागि उम्मेदवार आफ्नो आमाको दुःखमा बस्नुभएको छ । तथापी पार्टीका सारा साथीहरू यो शोकलाई शक्तिमा परिणत गर्दै निर्वाचनको तयारी गरिरहेका छौँ ।

व्यक्तिगत रुपमा निर्वाचनमा उम्मेदवारको आवश्यक्ता रहन्छ । पार्टीका सबै साथीहरू यो शोकलाई शक्तिमा परिणत गर्नको लागेका छौँ । आइतबार हामी शोक मनाउनको लागि चुनावी प्रचार कार्यक्रम स्थगित ग¥यौँ । मंसिर १४ गते निर्वाचन सम्पन्न नभएसम्म हामीले निरन्तर रुपमा चुनावी प्रचार प्रसार र विजय सुनिश्चित नभएसम्म हामी निरन्तर लाग्ने छौँ । उम्मेदवारसँग समन्वय गर्छौं । पार्टीको सबै तह र तप्का र सबै नेताहरूलाई निर्वाचनमा परिचाल गर्ने छौँ । हाम्रा सबै साथीहरू निर्वाचनमा खटिएका छन् ।

तपाईहरूको क्षेत्रमा कम्युनिस्टहरू बलियो छ भन्छन् । तपाईहरूले कसरी जित्नु हुन्छ ?

कम्युनिस्ट अरिँगाल, छौडाहरू अलिक मोटाएका छन् । राज्यको ढुकुटी सखाप पारेर मोटाएका छन् । मोटाएका होइनन्, कम्युनिस्टहरू सुन्निएका छन् । यो देशको ढुकुटीमाथि कब्जा गरेर मोटाएका होइनन् सुन्निएका छन् ।पानीमा डुबेपछि जसरी सुन्निछन्, त्यसै गरी अरिँगा र छौडाहरू सुन्निएका छन् । यी सुन्निएकाहरूलाई ठेगान लगाउने काम नेपाली कांग्रेसले गर्छ ।

भक्तपुरमा चुनावी प्रचार प्रसारमा भ्रातृ संस्थाहरू परिचालन भएको छैन भन्छन् हो ?

भक्तपुर कांग्रेसका सबै भ्रातृ संस्था र शुभेच्छुकहरू सशक्त ढंगले परिचालन भएका छन् । साथीहरू निरन्तर रुपमा खटिनु भएको छ । अझ पार्टीभन्दा पनि भ्रातृ संस्थाहरू साथीहरू खटिनु भएको छ । पार्टीका साथीहरूलाई कहिले काहिँ अल्छी लाग्न सक्छ । युवा, तरुण, महिलाहरू जोश जाँगरका साथ विद्यार्थी सक्रियताका साथ खटिनु भएको छ ।

चुनावी प्रचारका क्रममा नेपाली कांग्रेसको मुख्यालयबाट केही अपेक्षा गर्नुभएको छ ?

केन्द्रबाट हामीलाई खासै अपेक्षा छैन । यो निर्वाचन हामीले जसरी पनि जित्नुपर्छ । उपनिर्वाचन जनमत संग्रह पनि हो । जनताहरू महँगी, भ्रष्टाचार, हत्या, आतंक, बलात्कार कै पक्षमा छन् भने हामीलाई कुनै आपत्ति छैन । केन्द्रको एउटा नीति पनि छ । यसलाई हामीले जनमत संग्रहको रुपमा लिएका छौँ । सबैले उपनिर्वाचनलाई नजिकबाट नियाली रहनुभएको छ । यो निर्वाचनलाई जसरी पनि कांग्रेसले जित्नुपर्छ । उपनिर्वाचनलाई कांग्रेसको पक्षमा ल्याउन केन्द्रीय नेताहरू पनि घरदैलो र गाउँमा जानुभएको छ ।

भक्तपुर केन्द्रसँग नजिक रहेको सन्दर्भमा काठमाडौं, रामेछाप, दोलखा, काभ्रे, ललितपुर, नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुरलगायत कांग्रेसका सभापतिहरूलाई चुनावी प्रचारका लागि सहयोग गर्न भनेको छु । काठमाडौंबाट भक्तपुर नजिक रहेकाले केन्द्रीय नेताहरू दैनिक रुपमा २–४ घण्टा सबै नेताहरूले समय दिइरहनुभएको छ । हामी सबै जनताको घरघरमा पुग्छौँ । नेताहरूलाई पनि जनताको घरघरमा पुर्‍यौँ छौँ ।

भक्तपुरमा नेपाली कांग्रेसले जित्ने एजेण्डा के हो ?

यो उपनिर्वाचन नेपाली कांग्रेसले जित्दै गर्दा वा हार्दै गर्दा केही फरक पर्दैन । सरकारप्रतिको चरम असन्तुष्टि छ । अहिलेको सरकारको क्रियाकलाप जनताहरूलाई सहि छ भने भन्ने लाग्छ भने कम्युनिस्टलाई जिताउँदा केही आपत्ति भएन । सुन्निएको कम्युनिस्ट ठीकै छ भन्दै गर्दा आपत्ति हुने कुरै भएन । तर, दरिलो र सशक्त प्रतिपक्ष नेपाली कांग्रेसको भूमिका देखिएन भनेर जसरी आइरहेको छ, नेपाली कांग्रेसको प्रतिपक्षको भूमिका देखाउनको लागि यो निर्वाचन हामीले जिताउनुपर्छ भन्ने हामीलाई लागेको छ । प्रतिपक्षको भूमिका यो निर्वाचन साँच्चिकै जनताले नेपाली कांग्रेसको प्रतिपक्षको भूमिका देखाउन कै लागि हाम्रो लागि जीवन मरणको सवाल छ । हामी यो निर्वाचनमार्फत प्रतिपक्ष भूमिका देखाउन चाहन्छौँ ।

Published : Saturday, 2019 November 23, 4:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया