हामी आफै बदलिनु पर्छ

कृष्णमणि पराजुली, पूर्व उपसचिव, नेपाल सरकार

अहिलेको हाम्रो समाजलाई हामी आफैले नकारात्मक दिशा तर्फ धकेली रहेका छौ.। समाजलाई सभ्य र सुसंस्कृत बनाउने कार्य हामीहरुकै भएपनि हामी त्यस तर्फ अग्रसर हुन सकेका छैनौं । समाजलाई हेर्ने दृष्टिकोण फरक फरक हुनाले पनि परिष्कृत हुन नसकेको हो । एउटा उन्नत किसिमको समाज निर्माण गर्ने दायित्व हामी सबैको हो । यद्यपि हामी त्यस तर्फ उन्मुख नभएको कारण बाट हामी आफैले दुस्ख भोगी रहनु परेको यथार्थ पनि प्रष्टै छ ।

शुरुमा मानिसका आबश्यकता सीमित भएको हुंदा समाज बिग्रिन सकेको थिएन । मानिसको संख्यामा आएको बृध्दि संगै उसका ईच्छा आकांक्षमा भएको बृध्दि बाट समाजलाई धमिल्याउंदै आएको छ । समाज धमिलिदै आएपछि त्यसका अभिन्न अंगका हामी पनि धमिलिनु स्वभाबिकै हो । त्यसैले हामीले हाम्रो समाजलाई धमिलो हुन बाट बचाउन सक्यौ भने हामी पनि अनुशासित र नैतिकवान बन्ने छौ । अतः हामी त्यस तर्फ उन्मुख हुनुपर्ने हामी सबैको कर्तब्यनै हुनेछ ।

राम्रो समाज निर्माण गर्ने कार्य हामी सबैको जिम्मेवारी हो , कारण हामी सबै यहि समाज संग सम्बन्धित हौं । अहिलेको समाजलाई हेर्दा बिसंगति र बिकृतिले भरिपूर्ण भएको छ । समाज आफै केही हुंदै होईन । यसलाई राम्रो नराम्रो बनाउने काम हामि बाटै हुने हो । समाजमा देखिएका प्रतिनिधिमूलक केही दृष्टान्तलाई मात्र प्रस्तुत गर्दा मात्र पनि हामीले हाम्रो समाजलाई कति प्रदुशित बनाएका रहेछौं भन्ने कुरा बुझ्न सक्दछौं । यिनै बिषय बस्तुलाई केन्द्र बिन्दु बनाई केही प्रकाश पार्ने प्रयास गरीएको छ ।

अहिलेको हाम्रो समाजलाई हामी आफैंले बिगार्दै गएका छौं । पूर्ण रुपमा अरुको नक्कल नगरिएको र आपूmले मान्यता दिई आएको कतिपय चाल चलन, धर्म संस्कृतिलाई पनि छोड्दै गएको कारण बाट पनि समाज परिष्कृत हुन सकको छैन । हामी आफूलाई मात्र राम्रो ठान्ने र अरुलाई खराब ठान्न्ो प्रबृत्तिको बिकास हुंदै गएको पाईन्छ । यस प्रकारको क्रियाकलापले समाजमा क्षति पुर्याको हुन्छ ।

यस समाजका अंगका रुपमा रहेका हामी प्रत्येकले बानी , बेहोरा, चालचलन, ब्यबहार आदि कुरामा सुधार गर्दै जाने हो भने निश्चयनै हाम्रो समाज परिश्कृत हुनेछ । तर त्यस तर्फ हाम्रो ध्यान पटक्कै जान सकेको छैन ।

हामी बाटै भई आएका केही दृष्टान्तलाई पनि लिन सकिन्छ । अहिलेको अबस्थालाई नियाल्दा हाम्रो समाज लागु पदार्थको दुब्र्यबसनी,चोरी , डकैती, हत्या हिंसा, भ्रष्टाचार, मानब बेच बिखन, बलात्कार,गुण्डा गर्दि आदिमा बृध्दि हुंदै गएको कुरा सबैलाई बिदितै छ । हो, यी कुराहरुलाई हामी प्रत्येक नेपालीले सुधार गर्न सक्यौं भने निश्चयनै हामी र हाम्रो समाज बिश्वमा अनुकरणीय हुन सक्नेछ ।

हामी सडक फुटपाथमा हिड्दा पनि सकि नसकि अरुलाई धक्का दिएर हिडि रहेका हुन्छौ । अरुलाई पर्न जाने असुबिधा र मर्का बारे हाम्रो सोचाईनै पुगेको हुंदैन । यसो हुनुमा हामी सधैनै आफ्नो स्वार्थमा मात्र केन्द्रीत भएका हुन्छौ । यस अबस्थामा कसरी समाज बदलिन सक्दछ ?

समाजललाई क्षयीकरण गर्ने धेरै कारण हुने गर्दछन् र ती हामी संगै कुनैन कुनै रुपमा गासीएका हुन्छन् । तपाईं कुनै दिन बसमा चढेको हुनुहुन्छ भने त्यहां प्रशस्तै अशोभनीय गतिबिधि भएका देन्छिन् । एउटा कुनामा एउटाले चुरोट खाएर धुवां छोडि रहेको हुन्छ भने अर्को कुनामा अर्कोले बिना कारण झगडा गरी रहेको हुन्छ । त्यसै गरी कन्डक्टर बाट यात्रुलाई अशिष्ट ब्यबहार, मुख छोड्ने काम पनि भएकै देखिन्छन् । बढि भाडा असुल्ने, सलाईको बट्टामा कांटी कोचे जस्तो यात्रु कोच्ने जस्ता कार्यमा त हामीलाई बानी परि सकेको छ । यस किसिमका कार्यमा हामी सबैले हाम्रा बानी, बेहोरा, चाल, चलन, आचरण आदिमा सुधार ल्याई बदलिनु पर्नेछ ।

हामीहरुले गरी आएका सानातिना काम कुराले पनि समाज बिगार्ने र सुधार गर्ने कुरामा ठूलो भूमिका रहेको हुन्छ । कुनै एक अमुक ब्यक्तिले कुनै ठाउंमा हल्ला गरी दियो भने निश्चयनै वरीपरिको बाताबरण खल्बलिन जान्छ र छुट्टै परिस्थितिको श्रृजना हुन जान्छ । त्यहि ठाउंमा कुनै शान्तीपूर्ण चेतनामूलक कार्यक्रम संचालन भएको अबस्थामा अर्कै सकारात्मक माहौलको बाताबरणले ठाउं पाएको हुन्छ । अत स् समाजलाई यो कुराले मात्र प्रभाब पारेको हुन्छ भनी एकीन गर्न नसकिने हुन्छ । किनकी समाजको संंयोजन धेरै कुराले गरेको हुन्छ ।

अहिलेको सामाजिक समस्या भनेको मुख्य रुपमा ब्यक्तिको चरित्र र आचरणको कुरो हो । समाजमा चरित्र र आचरणको खडेरी परेको अबस्थामा समाज अधोगति तिर जाने गर्दछ र अन्ततोगत्वा ब्यक्तिले समाज र राष्ट्रलाई समेत हानी पुर्याउने गर्दछ । यस्तो क्षति बाट कसरी बच्ने र बचाउने सन्दर्भमा हामी आफैले सोच्ने बेला आएको छ ।

हामी कतै लाईनमा बस्नु पर्यो भने हामीलाई पसीना आई हाल्छ । अरु लाईनमा बसेको कुराले हामीलाई कुनै अर्थ दिंदैन । हाम्रो मन कसरी लाईनमा नबस्नको लागि चोर बाटो खोज्नेनै हुन आउंछ । यस किसिमको प्रबृत्तिले अरुले दुस्ख पाए पनि हुने आफूलाई भने राम्रै हुनु पर्ने स्थितिको श्रृजना हुन गएको देखिन्छ ।

हाम्रो समाज राजनीति बाट पनि अलग हुन सक्दैन । राजनीतिले समाजलाई प्रभाब पारेकै हुन्छ । राजनीति पनि अनुशासनहीनता तिर लम्किदै गएको भनिन्छ । राजनीति डनबाद र धनबाद बाट चलेको छ । नेता, कार्यकर्ता जनताको सेवा गर्नु भन्दा कमाउ धन्दामा लागि परेका देखिन्छन् । निर्बाचन निकै खर्चिलो हुन गएको छ । खर्चिलो निर्बाचन धान्नको लागि पनि यी बादहरुलाई राजनीतिक दलहरुले प्रयोग गरी आएका देन्छिन् । यसरी जेलिएको हाम्रो समाजलाई सुधार गर्न निकै नै ठूलो प्रयास को खांचो रहेको छ ।

ब्यक्तिमा अन्तर्निहित भएको स्वार्थिपनले उ आफैलाई बिगार्ने काम गरेको हुन्छ भने उसको देखासिखिले अन्य पात्रहरुलाई समेत बिगार्न पुगेको हुन्छ । एक एक पात्र गरी धेरैलाई प्रभाव पार्दै अन्त्यमा समाज र राष्ट्रलाईनै क्षति पुर्याउन सक्दछ । यसरी ब्यक्ति, समाज र राष्ट्रलाईनै क्षति पुग्ने क्रियाकलाप देखि हामी टाढै रहनु पर्ने हुन आउंछ । हामीले स्वच्छ ब्यबहार गर्यौं भने आफ्नो आत्म सन्तुष्टिको साथै समाज र राष्ट्र समेत समृद्ध हुन सक्दछ ।

ब्यक्ति बिशेषमा धनि हुने र ऐश आरामको जीवन ब्यतित गर्ने उच्च आकांक्षाले गर्दा भ्रष्टाचार मौलाउंदै गएको देखिन्छ । हाम्रो समाजलाई धमिल्याउने काम भ्रष्टाचारजन्य गतिबिधि बाटै उद्यत भएका पाईन्छन् । जुन ब्यक्तिले अबान्छित क्रियाकलाप बाट सम्पत्ति आर्जन गर्दछ, उ नै समाजमा प्रतिष्ठित भएको हुन्छ । उसले कसरी सम्पत्ति जम्मा गरेको हो, त्यसको मूल जरो तीर हाम्रो ध्यान गएको हुंदैन । अतःयस किसिमका समाजलाई क्षति पुर्याउने कामको हामी सबैले निन्दा गर्ने र पछि उम्रन नसक्ने गरी नियन्त्रण गर्नु पर्दछ ।

अहिलेको हाम्रो समाजमा नैतिकताको खडेरी पर्दै गएको छ । साना बालबालिकामा समेत बोलीचाली, ब्यबहार, आचरण जस्ता कुरामा राम्रो भएको देखिदैन । यिनै बालबालिका भोलीका आशाका खम्बा हुने हुंदा यिनीहरुको भविष्य निर्माणको लागि हामी सबैनै निरन्तर लागि रहनु पर्ने हुन आउंछ । त्यसैले आफ्ना सन्ततीलाई नैतिकवान् बनाई भविष्यमा समाजलाई बदल्न सक्ने किसिम बाट हामी सबैले उनीहरुको दिशा निर्देश गर्न सक्नु पर्दछ ।

सुधार गर्ने तिब्र अभिलाषा भयो भने एकै ब्यक्तिले पनि ठूलो परिबर्तन ल्याउन सक्दा रहेछन भन्ने कुरा हाम्रै छिमेकी देश चीनलाई लिन सकिन्छ । सि जिङ् पिङ्ले गरेका परिबर्तन , मलेशिया, सिंगापुर र दक्षिण कोरीयाले गरेका परिबर्तन हाम्रा अगाडि देखिएकै छन् । तर पनि हाम्रो ध्यान त्यता तिर गएको हुंदैन । जे गरे पनि हुन्छ , गर्न सक्नु पर्छ र जसरी भए पनि शक्ति र सत्तामा पुग्नु पर्दछ भन्ने राजनैतिक संस्कार बाट कसरी परिबर्तनको आशा गर्ने ?

जे होस्, अहिले हाम्रा गाउंघरमा स्थानीय सरकार पुगेका छन् । यिनीहरुले पींधमा रहेका हामी जस्ता जनताको चाहनालाई केन्द्र बिन्दु बनाई स्वच्छ समाजको निर्माण गर्ने तर्फ लागी रहनेछन् र हाम्रो वरीपरिको समाज र हामी पनि सकारात्मक दिशा तर्फ बदलिने नै छौ ।

अन्त्यमा, हामीले हाम्रो समाज बदल्नको लागि हामी बाटै सुधार थालीनु पर्दछ । हरेक क्षेत्रमा रहेका बिसंगतिहरुलाई निर्मूल गर्न सकिएको अबस्थामा निश्चयनै हाम्रो समाज हेर्न लायक हुनेछ । मुख्य कुरो के भने प्रत्येक ब्यक्तिले आचरण, ब्यबहार आदिमा सुधार गरी अनुशासित हुनको लागि हामी आफै बदलिनु पर्दछ ।

Published : Sunday, 2019 November 3, 9:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया