एआरएनएमा मिलेर जाने वातावरण बनोस्

नवराज रोस्यारा

गैर अवासीय नेपाली संघको अन्तर्राष्ट्रिय सम्मेलनका गत केही दिनहरू (१५–१७ अक्टोबर)को यो छोटो सम्मेलनको अबधीभर धेरै नै उतार चढावहरू देखिए । डेलिगेटस रजिष्ट्रेशनको पट्यार लाग्दो झमेला, उमेदवारहरूको तामझाम र नारा जुलुससहितको प्रचार शैली, मतदाता किनबेच र पैसाको असीमित चलखेल, सामाजिक संस्थामा भित्रिएको पार्टीगत गुटबन्दी, पूर्व परीक्षण र तयारी बिना भोटिङ मेसिनको प्रोयोग, भोटिङ मेसिनले काम नगरेमा के गर्ने ? भान्ने ब्याकअप प्लान बिना नै निर्वाचन सम्पन्न गर्न खोज्ने निर्वाचन आयोगको दुस्शाहस र निर्वाचन आयोगले पटक पटक निर्वाचन स्थगित गरेर देखाएको लाचारी पनले हाम्रो संस्थाको मान मर्यादालाई रसातलमै पु¥याएको अभास सबैले गरे ।

निर्वाचन स्थलमा भित्र सिविल प्रहरी र आवश्यक परेमा ब्याकअपको रुपमा मात्र दंगा प्रहरी परिचालन गरिनुपर्नेमा सबैतिर दंगा प्रहरीहरू परिचालन भए । संघका मतदताहरू निर्वाचनको लाईनमा लागीरहेको बेला होस या डेलिगेट्सहरू प्राङ्णमा बसेर कुरा गरी रहेको बेला होस, दंगा प्रहरीहरूले र सेक्युरिटीले देखाएको व्यबहार कदापि सैह्य थिएन । अहिले आएर कुनै अमुक निवर्तमान पदाधिकारीलाई आरोप लाउनेभन्दा पनि निवर्तमान अध्यक्ष भावन भट्टज्यूको टिमले यसको नैतिक जिम्मेवारी लिनु पर्दछ र आगामी दिनमा कुनै पनि हिसाबले यसो हुन नदिने कुराको ग्यारेन्टी गरिनु पर्दछ ।

हामी उमेदवारहरूले पनि निर्वाचन आयोगको कमजोरी र अपूर्ण तयारीको फाइदा उठाउँदै हो–हल्ला गरेर वातावरणलाई झन् उत्तेजित पारी निर्वाचन प्रकृयालाई नै असफल पार्ने प्रयासहरू गरी रह्यौँ । ‘विदेशमा हामीले राम्रा कुराहरू सिकेका छौँ, सिविलाइजेसनको पाठ पढेका छौँ । त्यसैले हाम्रा कुराहरू नेपालमा पनि सिकाउँदै लागू गराउँछौँ’ यस्तो मान्यता बोकेका हामी गैर आवासिय नेपालीहरूले क्षणिक आवेगमा आएर ‘सामाजिक संस्थाको निर्वाचन स्थलमा’ हो–हल्ला, नारा जुलुस गर्दा हामी आँफै नाँगीरहेका थियौँ भन्ने कुरातर्फ हाम्रो ध्यान जान सकेन ।

उमेदवारहरूको प्रचार शैली, उग्रनारा जुलुसले पनि हाम्रो अभद्रतालाई पुष्टि गरीरहेको थियो । हामी सबैलाई थाहा छ, संघको निर्वाचन कसैले कसैमाथी विजय गर्नलाई गरिएको होइन । यो त केबल ‘कुन व्यक्तिलाई यसपाली सामाजिक सेवाको नेतृत्व गर्ने जिम्मा दिने, कुन व्यक्तिलाई अर्को पटक ?’ भन्ने विषयको टुङो लागाउने प्रकृया मात्र हो । तर, पनि हरेक उम्मेदवारले अर्को हरेक उम्मेदवारसंग ‘मिलेर भोट साटासाट गरौँ भन्दै सम्झौता गर्छ । तर व्यबहारमा आफू मात्र कसरी जित्न सकिन्छ ? भनेर सबै किसमका मूल्य मान्यतालाई त्यागेर ट्याक्टिस बनाउँदै जान्छ ।

निर्वाचनको दौरान एक उम्मेदवारले अर्को उम्मेदवारसँग गरेको झुटको खेती र सम्झौताको अवलोकन गर्दा प्रस्ट हुन्छ की उसले आफ्ना साथी भाई, सहयात्राी, आफ्नो समाज, देश, संस्कृति सबै बिर्सिरहेको थियो ।

यसले अन्तमा राम्रो सक्षम र सबल उम्मेदवारले भन्दा पनि सबैभन्दा बढी चतुर्यायी र सबैभन्दा झुटको खेती गर्न जान्ने र सबैभन्दा बढी पैसा खर्च गरेर आम मतदातालाई किन्न सक्ने क्षमताको व्यक्तिले मात्र संघको निर्वाचन जित्ने अवस्था हामी उम्मेदवारहरूले आफै सिर्जना गर्यौ ।

निर्वाचन सम्पन्न भइ सकेपछिको अहिलेको अवस्थामा अहिले उम्मेदवार बनेकाहरू र निर्वाचनमा उम्मेदवार जिताउन लागेकाहरूबीच कसैको कसैप्रति न त विश्वाश छ न त सम्मान र अदारभाव नै । हामी सबै उम्मेदवारहरू र निर्वाचन जिताउन लागेका अग्रणी व्यक्तिहरू अहिले एक अर्काका शत्रु र कपटी बनेका छौं । एउटा उम्मेदवारले अर्कोलाई मनदेखि नै गाली मात्र गरी रहेका छन् र हामी एक आर्कालाई श्रापी मात्र रहेका छौँ अहिले ।

जित्नेले खुलेर मैले साच्चीकै जितेको हो भनेर गर्व गर्न सकेको छैन् । हार्नेले मेरो पक्षको मत साच्चिकै कम भएको हो भनेर हार स्वीकार गर्न सकेको छैन । नितान्त मात्रिभूमिप्रतिको भावनाले ओतप्रेत भएका आत्माहरूको डोनेसनले चल्ने संस्था हो, गैर अवासीय नेपालीहरूको अभियान । कसैले आफ्नो खल्तीमा पैसा भए पनि त्यत्तिकै फाल्नलाई झिक्दैन । डोनेसन दिने र उठाउने काम तब मात्र गर्न सकिन्छ जब हामी भावनात्मक हुन्छौ र जब हामीलाई डोनेसन लिने संस्थाले केही गर्न खोजेको छ भन्ने अभास हुन्छ ।

गैर आवासिय नेपाली संघका पछील्ला कृयाकलापहरु कदापि सिर्जनात्मक छैनन् । हरेक गैर आवासीय नेपालीको कम्तीमा एक डलर भवन निर्माणमा खर्च हुनु पर्छ भन्ने सेन्टिमेन्टल नारा लगएर उठाएको पैसाबाट निर्माणाधीन एनआरएन भवन जग्गा खरिद विवादमा पर्नु, निर्वाचनको पूर्वसन्ध्यामा आएर संस्था १६–१७ करोडको ऋणमा रहेको कुरा सर्वजनिक हुनुले संस्थाका अर्थिक गतिबिधीहरू पूर्ण पारदर्शी छैनन् भन्ने कुराको पुष्टि गरी रहेको छ । यो अवस्थामा आगामी दिन्मा हामी कसरी मिलेर काम गर्न सक्छौ भन्ने ठूलो चुनौती छ र त्यो चुनौती अग्लो पहाड जस्तै हाम्रो सामु ठिंग उभिएको छ ।

यी सबै कुराको वाबजुद एनआरएनएका पूर्वअध्यक्षहरू रहेको अध्यक्ष मण्डलले निकैनै संयमित भएर काम गरेको देखियो । उहाँहरूले चुनाव सम्पन्न नभए संस्थाको अस्तित्व नै खतरामा पर्ने कुरालाई आत्मसात गर्दै रातो रात मतपत्र छापेर अर्को दिन मतदान सम्पन्न गराए । मत गणनामा आउने सम्भावित विवादहरूलाई ध्यानमा राखेर आफै मतगणना अपधीबर आँफै बसेर त्यस्को निरिक्षण गर्ने निर्णय लिए ।

प्रकृतिले आकाशबाट पानी खसालेर निथ्रुक्क भिजाउँदा होस वा निर्वाचन आयोगले पटक पटक निर्वाचनको कार्यतलिका परिवर्तन गरेर जिस्क्याइरहँदा होस्, ‘म जसरी पनि भोट हालेर मात्र आफ्नो कर्मा भुमी फर्किन्छु’ भन्ने संघका आम डेलिगेट्सहरूको भित्रैदेखिको प्रतिबद्धता र हो–हल्लाका बाबजुद ‘भोट हाल्न लाइन बसेर’ टसको मस नहुने आम महिला तथा पुरुष डेलिगेट्सहरूको अदम्य साहसले पनि निर्वाचन सम्पन्न गराउँन महत्वपूर्ण भूमिका खेल्यो र निर्वाचन कमिटीलाई निर्वाचन सम्पन्न गराउन बाध्य तुल्यायो ।

यसरी चुनाव नै नभएर संघ बिगठन तिरपो लम्किने हो कि भन्ने चिन्ताका बीच हस्त लिखित प्राबिधीको मतदानबाट निर्वाचन सम्पन्न भएर नयाँ नेत्रित्व चयन भएको छ । निर्वाचनमा दुःख कष्ट भोगेर पनि प्रतक्ष वा परोक्ष रुपमा (संघको सदस्यता लिएर डेलिगेट्स छान्नको सहयोग पु¥याउने सदस्यहरू) मतदान गर्नु हुने आम गैर अवासीय नेपालीहरूप्रति म धन्यवाद व्यक्त गर्न चाहन्छु ।

निर्वाचनमा युरोप उपसंयोजकको जिम्मेवारी पाउनलाई मलाई १४ मत पुगेन । निर्वाचनमा मलाई मत खसालेर युरोप संयोजक जस्तो महत्वपूर्ण जिम्मेवारी सुम्पिन खोज्नु हुने सबै अत्मीय दिदीबहिनी तथा दाजुभाईहरू र निर्वाचनको दौरान शुभकामना दिनु हुने प्रतक्ष र परोक्ष रुपमा सहयोग गर्नुहुने सबै प्रियजनहरूप्रति हार्दिक अभार तथा धन्यवाद व्यक्त गर्दछु ।

अन्तमा,

निर्वाचनको मध्यमबाट गैर अवासीय नेपाली संघको जिम्मेवारी पाउनु हुने अध्यक्ष कुमार पन्त लगायतको सम्पूर्ण टिम अर्ध बधाईको पात्र हुनुहुन्छ । संघमा हाल बिद्यमान बिकृतिहरू हटाउनुको साथै निर्वाचन पूर्व र विजयपछि एकपक्षले अर्को पक्षमाथी विजय हासिल गरेको अभास गराउने किसमका व्यक्तिको पक्षमा देखिने नाराजुलुसहरूलाई बन्देज लगाएर हार्ने र जित्ने सबै पक्ष एक भएर जाने वातावरण बनाउनमा निर्णयक भूमिका खेल्नु भएमा मात्र यहाँ पूर्ण बधाईको पात्र हुनु हुनेछ । त्यसिले यहाँहरूका पाइला पूर्ण बधाईको पात्र बन्ने तर्फ लम्कीर हुन् भन्ने शुभकामना दिन चाहँन्छु ।

नवराज रोस्यारा,
उम्मेदवार युरोप, उपसंयोजक, एआरएनए,
पूर्व अध्यक्ष, जर्मनी ।

Published : Sunday, 2019 October 20, 11:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया